झापा।

झापामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ भने खोलाले बगाउँदा एक व्यक्ति बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार करेन्ट लागेर आज बिर्तामोड नगरपालिका ७ खालवारीका ५० वर्षीय सम्शेर तामाङको मृत्यु भएको हो ।
निर्माणाधीन घरमा मोटरबाट पानी लगाउने क्रममा आज दिउँसो तामाङलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याइएपनि उनको उपचारकै क्रममा अपरान्ह मृत्यु भएको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।
उता मोरङको बिराटनगर महानगरपालिका–११ का ३६ बर्षीय गोपाल कामतको करेन्ट लागेर मृत्यु भएको छ । विहीवार बिहान १० बजेको समयमा बुढीगंगा गाउँपालिका–३ बासबारी चोकमा रहेको मिठाई पसल अगाडि टेन्ट लगाउने क्रममा अचानक हाईटेन्सन लाईनमा टच हुन गई करेन्ट लाग्दा घाईते भएका कामतलाई बिराट मेडिकल कलेज गंगा चोक पठाईएकोमा उपचारको क्रममा साँढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यता कनकाई नगरपालिका ४ का कमल मुखियालाई कनकाई नदीले बगाएर वेपत्ता बनाएको छ । उनलाई आज दिउँसो कनकाई नदीले बगाएर बेपत्ता बनाएको हो । उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





























