नरेन्द्र ढकाल/पंकज शर्मा,
झापा ।

नेपालको कानुनमा अपराधीले उन्मुक्ति नपाउने र निर्दाेषले सजायको भागिदार हुनुनपरोस भन्ने भनाई कतिपय अवस्थामा उखानमा सिमित भएको छ । झापा कारागारमा एउटा यस्तै घटना भएको छ ।
सुस्तमनस्थिति भएका झापा साविक गरामनी–३ हाल बिर्तामोड नगरपालिका–८ बस्ने माधव गिरीले तीन बर्ष चार महिना ५ दिन कारागारमा अनाहक रुपमा बस्नु परेको छ । बोल्न नसक्ने अवस्थाका उनले के अपराधमा कारागारमा आए र कति दिन बस्नुपर्ने कारागार प्रशासनसंग कुनै अभिलेख छैन ।
तत्कालिन जेलर यज्ञराज निरौलाको लापरवाहीले गर्दा सुस्तमनस्थितिका माधवको पक्षमा बोल्ने कोई भएनन् । जेलर निरौला २०७२ फागुन १४ गतेदेखि २०७५ साल कार्तिक ९ गतेसम्म कारागार प्रमुख भएर चलाएका थिए । माधव २०७३ साल साउन २८ गते सार्वजनिक अपराध अन्तर्गत झापा कारागारमा आए र सजाय भुक्तान गरी २०७३ साल माघ १८ गते छुटेको अभिलेख कार्यालयमा छ ।
तर फेरि उनी २०७३ साल चैत्र ९ गते कारागारको आन्तरिक प्रशासनको अभिलेखमा कारागार प्रवेश गरेको भेटिन्छ । तर उनको अपराध र कारागारको अवधिको अभिलेख जिल्ला प्रहरी कार्यालय, सरकारी वकील कार्यालय, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, कारागार, कारागार आन्तरिक प्रशासनमा कतै पनि छैन । हालका कारागार प्रमुख राजेन्द्र निरौलाले उनको बिषयमा खोजी सम्पूर्ण निकायमा नभेटेपछि उनको पहलमा मंगलबार इलाम उच्च अदालतको आदेशमा परिवार र जनप्रतिनिधिको रोहवरमा छाडेका छन् ।
कार्यलय प्रमुख निरौलाले आफुले कारागार प्रशासनको जिम्मेवारी सम्हालेसंगै गिरीको विषयलाई चासोका लिएर निर्देष ब्यक्तिलाई बिनाकारण राख्न नहुने निश्कर्षमा पुगेर उच्च अदालत इलामको आदेशबाट छाडिएको जानकारी दिए । झापा कारागारका प्रमुख निरौलाका अनुसार गिरीेको कागजपत्र कतै नभेटिएपछि उनको तर्फबाट बन्दीप्रत्यीक्षकरण रिट हाल्न लाएर उच्च अदालत बिराटनगर इलाम इजलासको फैसलाले थुना मुक्त गरिएको बताए ।
कारागारका आन्तरिक प्रशासन प्रमुख मोहन धितालका अनुसार २०७३ सालमा आएको देखिन्छ तर कुन कसुरमा आएको भन्ने कतै भेटिएन सो कामको लागि कारागार प्रमुखले भूमिका खेलेको बताए । उनले गिरीको कुनै अभिलेख नभएपछि उच्च अदालको आदेश पछि थुनामुक्त भएको बताए ।
उता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले गिरीलाई उच्च अदालतको आदेश लगत्तै छाडिएको जानकारी दिए । उनले गिरीले पहिलो पटक अदालतको आदेश अनुसार कैद भुक्तान गरेको र दोस्रो पटक उनी के कारणले पुन ः अदालतमा प्रवेश गरे भन्ने विषयामा आफुहरु अनविज्ञ रहेको उल्लेख गरे । गिरी जेल पर्नुको कुनै पनि कारण प्रहरीसंग नरहेको प्रहरी प्रवक्ता थापाले बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले अदालतको आदेश लगत्तै गिरीलाई थुनामुक्त गरिएको बताए । गिरीको विषयमा कतै कुनै पनि प्रमाण नभएकाले उनलाई अदालतको आदेश बमोजिम छाडिएको प्रजिअ रानाको भनाई छ ।
कुनै पनि ब्यक्ति पक्राउ पर्दा उसको सबै कारणहरु अभिलेखको रुपमा प्रहरीले सुरक्षित राख्नु पर्ने हुन्छ । साथै आदलतको आदेश अनुसार जेल चलान भएमा कारागार प्रशासनसंग सबै विवरण सुरक्षित हुन जरुरी छ तर, झापामा भने कर्मचारीर्क लापरबार्हीका कारण निर्देष ब्यक्तिले अनाहकमा जेल बस्नुपर्ने अवस्था आएको छ । बिना कसुर लामो समय जेल बस्नु परेका ब्यक्तिलाई राज्यले क्षतिपूर्ती दिनुपर्ने सामाजिक अगुवाहरुको भनाई छ । दोषी उम्कन नहुने र निर्दोष ब्यक्तिले विनाकारण सजायको भागिदार बन्नु पर्ने अवस्था आउन नहुने तर्फ सबै सजग बन्नु पर्ने बताइएको छ ।































