झापा । 
झापाको गौरादहमा वडा कार्यालयले सेनेटरी प्याड उत्पादन उद्योग संचालन गर्ने भएको छ । वडा नम्बर–३ ले उद्योग सञ्चालनको तयारी गरेको हो । प्याड बनाउनका लागि आवश्यक समाग्री ल्याई सकेको बताइएको छ ।
उद्योगका लागि वाणिज्य मन्त्रालयले ३० लाख बराबरको कच्चा समाग्री पठाएको वडाध्यक्ष गजेन्द्र घिमिरेले बताए । स्थानीय स्तरमा महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि यो उद्योग सहयोगी हुने उनको भनाई छ ।
संघीय सरकारको सहयोग भएको गौरादहकै पहिलो उद्योग भएको दाबी गर्दै उनले त्यसको सञ्चालनका लागि समिति गठन गरिने उल्लेख गरे । शुरुमा १२ जना स्थानीयलाई प्रशिक्षण दिएर काम थालिने बताइएको छ । उद्योगका लागि आवश्यक कच्चा पर्दाथ संघीय सरकारले व्यहोर्ने,सञ्चालन र रेखदेख स्थानीय सरकारले गर्ने बताइएको छ ।
उद्योग सञ्चालनबाट स्थानिय स्तरमा रोजगारीको सृजना हुने र यसलाई नगरका अन्य वडामा समेत बिस्तार गर्दै लैजाने योजना रहेको बताइएको छ । उद्योग स्थापनाका लागि प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, संविधानसभा सदस्य दिपक कार्की, सुरेश पौडेलको उल्लेख्य सहयोग भएको घिमिरेले जानकारी दिए ।































