भूतपूर्व लाहुरेको कृषि मोह

१७ श्रावण २०७७, शनिबार १५:२३ मा प्रकाशित
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

किरण पौड्याल/ इलाम,

Advertisement

इलाम नगरपालिका–७ का देउकुमार राईले १८ वर्ष बेलायती सेनामा जागिर खानुभयो । जागिरमा रहँदा ठूलो पदमा रहनुभएका र राम्रै पैसा कमाउनुभएका देउकुमार परिवारिक समस्या आएपछि जागिर छाडेर नेपाल आउन बाध्य हुनुभयो । देउकुमार जागिरमै रहँदा ब्लड क्यान्सरले श्रीमतीको निधन भयो भने आफ्नै पनि घुँडाको दुईपल्ट शल्यक्रिया गर्नुप¥यो ।

सबै समस्या एकै चोटि आइलागे पनि देउकुमारले हिम्मत भने हार्नु भएन । आफ्ना दुई छोराको मायाले उहाँलाई जागिरै छाडेर घर आउन बाध्य बनाएपछि कृषि कर्ममा लाग्ने अठोट गर्नुभयो । उहाँले इलाम नगरपालिका–१ साँखेजुङमा रहेको आफ्नो पुरानो घर बारीमा जडीबुटी र फलफूल रोपेर कृषि कर्मको थालनी गर्नुभयो ।

त्यहीँबाट शुरु भएको उहाँको कृषि कर्मले अहिले धेरैलाई सिक्ने थलो बनेको छ भने केहीले रोजगारी पनि पाएका छन् । अहिले उहाँको कृषि कर्म त्यति मात्रै सीमित छैन । साँखेजुङको दुई सय रोपनी जग्गामा किवी, अलैँची र चियाको खेती गर्नुभएका देउकुमारले इलामकै सन्दकपुर गाउँपालिका–३ स्थित सुलुबुङको माईपातालमा जडीबुटी र किवीसँगसँगै उत्तीस पनि लाउनुभएको छ ।

साँखेजुङबाट बसाइँ सरेर इलाम नगरपालिका–७ गए पनि उहाँले पुरानो बारीलाई कृषि उपज क्षेत्र बनाउनुभएको छ । अहिले देउकुमारको इलाम नगरपालिकामा ठूलै किसिमको होटल सञ्चालनमा छ भने अन्य दुईतिरका बारीमा प्रशस्त बोटबिरुवा र खसीबाख्रा छन् ।

उहाँले अहिले सन्दकपुरको माईपातलमा मात्रै २५० रोपनी जग्गामा झण्डै २० हजार बिरुवा लौड सल्ला नर्सरी गर्नुभएको छ भने १५ हजार उत्तिसका बिरुवा ‘प्लान्टेसन’ गर्नुभएको छ । उहाँले अहिले खेतीकै लागि तीन जनालाई तलब दिएर राख्नुभएको छ भने १५ देखि १७ जनालाई दैनिक हाजिरीमा काम लगाउनु हुन्छ । दैनिक १८ घण्टासम्म खटेर काम गर्नुहुने देउकुमार कृषिमा आफ्नो भविष्य उज्यालो देखेको बताउनुहुन्छ ।

“मैले जडीबुटी लगाउनकै लागि लेकको बारी किन्दा अहिलेको घर पनि लोनमा छ”, उहाँ भन्नुहुन्छ, “धेरै त लगानी उठेको छैन, तर उठ्छ भन्नेमा विश्वस्त छु ।” देउकुमारले होटलसहित कृषिमा अहिलेसम्म रु चार÷पाँच करोड लगानी भइसकेको बताउनुभयो । अहिले देउकुमारका दुई छोरा पनि उहाँलाई कृषिमा साथ दिइरहेका छन् भने बहिनी र बुबाआमाले होटल चलाएका छन् । परिवारमा सबैको साथ रहेकाले पनि कृषिमा पसिना बगाउन सहज भएको उहाँको भनाइ छ ।

देउकुमार अझै पनि केही बाख्रा र बिरुवा बढाउने सोचमा हुनुहुन्छ । किवी जोन इलामका सञ्चालक समिति संयोजकसमेत रहनुभएका उहाँ खेतीबालीको प्रशिक्षक पनि हुनुहुन्छ । देउकुमार जस्तै सन्दकपुर गाउँपालिकास्थित माईमझुवाका पुरन गुरुङ पनि अहिले कृषि कर्ममै रम्दै हुनुहुन्छ । लामो समय भारतीय सैनिक पेशामा जागिर खाएर अवकाश भएपछि उहाँले आफ्नै बारीमा किवी खेतीसँगसँगै, ट्राउट माछापालन, दूध डेरी, घरबास र अलैँची खेती लगाउनुभएको छ ।

धेरैले जागिरबाट अवकाशपछि विलाशी जीवन बिताउँछन् । पुरन भने त्यसको ठीक उल्टो कृषि र पशुपालन पेशा लाग्नुभएको छ । लामो समय जागिर खाएर राम्रै दाम कमाए पनि कृषिमा लाग्नुको मजा छुट्टै हुने पुरन बताउनुहुन्छ । अरूभन्दा भिन्न तरिकाले कृषि कर्म गर्न रुचाउने पुरनले दश वर्षअघि किवी खेतीबाट नै कृषिको काम शुरु गर्नुभएको हो । त्यति बेला बारीमा ‘लौरा ठड्याएर पैसा आउँदैन’सम्म भन्न भ्याएका उहाँका छिमेकीलाई उहाँले अहिले किवी फलाएर जवाफ दिइरहनुभएको छ ।

पुरनले २०६८ सालतिर करेसाबारीमा २१२ बोट किबी लगाउनुभएको थियो । शुरुमा प्रतिगोटा रु ६०० सम्ममा बिरुवा किन्नुभएका पुरनले करीब रु दुई लाख लगानी गर्नुभएको छ । यसबाट अहिलेसम्म रु सात लाख आम्दानी भएको पुरन बताउनुहुन्छ । आफ्नै घुरेनमा कृषि गरेरै पुरनले उल्लेखीय आम्दानी लिँदै हुनुहुन्छ भने ‘छिन्टापु घरबास’ नामको घरबासबाट पनि राम्रै कमाउनु भएको छ । पुरन आफ्नो कर्ममा अहिले विश्वस्त हुनुहुन्छ । आफ्ना छोराछोरी र श्रीमतीले पनि यसमा सहयोग गरेपछि कृषि कर्मबाट आफूले राम्रो आम्दानी लिने विश्वास रहेको पुरन बताउनुहुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here