गोरेटोबाटो निर्माण

0
932

बनेपा,

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएको तेमाल पर्यटन क्षेत्रको अर्को गन्तव्य बनेको छ ‘गुप्तेश्वर महादेव मन्दिर’ ।

तेमाल गाउँपालिका–७ काल्धारा रहेको सो मन्दिर दर्शन गर्नका लागि पहिला भिरालो पाखाको बाटोमा निकै अप्ठ्यारो गरी जोखिम मोलेर जानुपर्ने अवस्था थियो । अहिले नेपाली सेना विष्णुदल गणले गोरेटोबाटो निर्माण गर्नुका साथै ठाउँठाउँमा सिँढी, रेलिङ र सोलार बत्तीसमेत जडान गरेर राखेपछि धेरै सहज भएको स्थानीय बासिन्दा सानुकान्छा तामाङले जानकारी दिनुभयो ।

गुप्तेश्वर मन्दिरमा हरेक महिनाको पहिलो सोमबार तथा जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । बाटो निर्माण भएपछि झन् दर्शनार्थीको आवागमन बढ्ने विश्वास गरिएको छ । वडाध्यक्ष ज्ञानबहादुर तामाङले गाउँपालिका र वडाले गर्नुपर्ने जनसमुदायको विकास र धार्मिक पर्यटन प्रवद्र्धनको काममा सेनाले सहयोग गरेर स्थानीय सरकारलाई थप हौसला प्रदान गरेको बताउनुभयो ।

गणले सामाजिक, आर्थिक, पूर्वाधार विकासका कार्यक्रमअन्तर्गत तेमाल –७ काल्धरस्थित गुप्तेश्वर महादेव मन्दिर जाने तीन किलोमिटर गोरेटो बाटो निर्माण गर्नुका साथै सिँढी र आवश्यक ठाउँमा रेलिङ तथा सोलार बत्ती राख्ने काम सम्पन्नपश्चात केही दिन अगाडि मात्रै गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।

करिव रु १७ लाख ६४ हजार ८०० मा प्याराडाइज इञ्जीनियरिङ तथा कन्स्ट्रक्शन प्रालिले सो पूर्वाधार निर्माण गरेको हो । “हामीले सामाजिक, आर्थिक, पूर्वाधार विकासका कार्यक्रमअन्तर्गत प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन अनुरुप सेनाबाट प्राप्त बजेटलाई एकीकृतरूपमा योजना सञ्चालन गरी यहाँको पर्यटन विकासको सम्भावनालाई ध्यानमा राखेर बाटो निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेका छौँ ।” मध्यपूर्वी पृतनाका पृतनापति उपरथि सुरेशकुमार कार्कीले भन्नुभयो, “यस्ता जनउपयोगी सार्वजनिक महत्वको कार्यले सेना र जनसम्बन्ध प्रगाढ बनाउँछ ।”

विष्णुदल गणका गणपति कर्णेल सुवास खड्काले ग्रामीण क्षेत्रको पर्यटन विकासका लागि गणले नागरिक र नेपाली सेनाबीचको सम्बन्ध स्थापित गर्ने अभिप्रायका साथ तेमाल गाउँपालिकाको सहकार्यमा पूर्वाधार निर्माण गरिएको जानकारी दिनुभयो ।

तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङले तेमालको पर्यटकीय क्षेत्रमध्येका एक गुप्तेश्वर महादेव मन्दिरमा जाने पदमार्ग निर्माण गरेर तेमालको पर्यटन विकासमा थप टेवा पु¥याएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here