शिक्षित मुर्खहरु नै कोरोना वाहक !

२० श्रावण २०७७, मंगलवार मा प्रकाशित

सम्पादकीय

स्थितिको गाम्भीर्य अनुभूत गर्न नसक्दा कोरोना अकल्पनीय मृत्युको कारण बन्न सक्ने देखिएको छ । रोकथामका लागि भन्दै सरकारले बन्दाबन्दीको घोषणा ग¥यो र चार महिनापछि अन्त्य पनि भयो । अन्त्यको घोषणालाई सर्वसाधारणले उन्मुलन ठाने शायद र त्यसपछिका घटनाहरु र अवस्था जटिल बन्दै जाँदैछ । सरकार घोषणामा मात्रै अडियो, उसले सर्वसाधारणलाई सम्भाव्य जटिलताको सञ्चार गर्न जानेन वा गर्न चाहेन । हुँदा–हुँदा परीक्षणको दर पनि घटाउँदै लग्यो । सीमापारीबाट आउने क्रमलाई रोक्न सकेन र व्यवस्थित गर्न पनि सकेन । त्यसकै परिणाम परीक्षण घटाउँदा पनि संक्रमितको संख्या दिनहुँ बढ्दै गयो । यही परिस्थितिका बीच चिकित्सकहरुले सरकारलाई कठोर ढंगले प्रस्तुत हुन सुझाए, तर अवस्थामा फेरबदल भएन ।

बन्दाबन्दी अन्त्य गर्नु भनेको जीवन पद्धति पूर्ववत् सञ्चालन गर्नु होइन भन्ने आम जनताले बुझ्दै बुझेनन् । फलतः सडक, बजार, चौरस्ता, चाडपर्व, मेला, यातायात यहाँसम्म कि सरकारी कार्यालयहरु नै निस्फिक्री भीडभाड बन्दै गए । कोरोनाजन्य विषम् परिस्थितिलाई कसरी नियन्त्रणमा राख्ने त्यसतर्फ सरकारको चिन्ता, चासो र योजना नै देखिएन । यसले कोरोना महासंकटकारुपमा समुदायमा प्रवेश गरिसकेको हो कि भन्ने देखिन थालेको छ । बन्दाबन्दी सम्पूर्ण समाधान होइन, यो सबैले जानेकै कुरा हो, तर उसलाई उपयोग गर्दै गर्नुपर्ने पूर्व तयारी र बनाउनुपर्ने रणनीतिमा भने सरकार असफल भयो । बन्दाबन्दीको आवश्यकता र औचित्य जनतालाई बुझाउन नसक्दा सरकार गैरजिम्मेवार मात्र भएन जनताको जीवन रक्षा गर्न नसक्ने लाचार बन्न पुग्यो ।

कोरोना कहरले उत्पन्न गरेको प्रतिकूलताका बीच विश्व स्वास्थ्य संगठनद्वारा निर्देशित स्वास्थ्य रक्षाको मापदण्ड सरकारबाटै पालना गरिएन । सरकारी कार्यालयहरु राजश्व संकलन गर्ने भन्दै खोलियो । करदातालाई कर–राजश्व बुझाउन ताकेता गरियो । कार्यालयहरु कोरोना भाइरसका संवाहक बनिँदा पनि त्यसलाई मापदण्डभित्र ल्याउने पहल गरिएन । यसरी एकपछि अर्को गर्दै सरकार दृष्टिकोण, दीर्घकालीन योजना, प्रतिबद्धता र जिम्मेवारीबाट स्खलित हुँदै गयो । आज परिस्थिति यति भयानक भइसक्यो कि महामारी रोक्न अग्रपंक्तिमा रहने सुरक्षाकर्मी, चिकित्सक र स्वास्थ्यकर्मीहरु नै क्वारेन्टिनमा बस्नुपर्ने बेला आइसक्यो । संकटको स्थिति भयावह भइरहँदा देशका उपल्लो पद धारण गरेका व्यक्तिहरु नै न मास्कको प्रयोग गरिरहेका छन् न त दूरी कायम गरेको देखिन्छन् ।

कोरोना संक्रमण एउटा रोग नै हो । औषधि आइनसकेका कारण असाध्य जस्तै बनिएको यसले ठूलो–सानो, धनी–गरिब, पदधारी–सर्वसाधारण कसैलाई भेद गर्दैन । सरुवा भएका कारण एउटा व्यक्तिको असावधानीले अर्को व्यक्तिमा सहजै सर्ने भएकाले प्रत्येकले सतर्कता अपनाउनु यसबाट जोगिने सर्वोत्तम उपाय हो । सरकारले केही गर्ला भनेर आशा गरेर मुख ताकेर मात्रै बस्ने हो भने महामारी अकल्पनीय पीडाको कारण बन्ने निश्चित छ । यहीबीच भारतसँग सीमा जोडिएका कतिपय स्थानीय तहले फेरि बन्दाबन्दीको घोषणा गरेका छन् । कतिपय ठाउँमा निषेधाज्ञा नै जारी गरिएको छ । अनि पनि संक्रमण घट्ने क्रममा छैन । झापाकै कति स्थानीय सरकारले आ–आफ्ना हिसाबले बन्दाबन्दी घोषणा गरेका छन् । बिर्तामोड नगरपालिकाले पनि नगर क्षेत्र बन्द गरेको छ । तर, आवागमन र सवारीको भीडले बन्दाबन्दीको अनुभूति गर्न दिएको छैन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक प्रा.डा. सञ्जीव शर्माले शिक्षित मुर्खहरुका कारण कोरोना समुदायमा प्रवेश गरेको भन्दै गम्भीर पीडा अभिव्यक्त गरेका छन् । त्यसले पनि जनता स्वयम् सचेत, सावधान र सतर्क रहनुपर्छ भन्ने सन्देश दिएको छ । आफ्नो जिउको मालिक आफैं हो त्यसैले कोरोना भयबाट मुक्ति पाउन स्वयम् सचेत बन्नुको विकल्प छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here