एक्ला रोशनको त्यो कार्य : जसले इलामेलाई फुटसल चिनाए

२१ श्रावण २०७७, बुधबार १०:०७ मा प्रकाशित
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

किरण पौड्याल/इलाम,

Advertisement

“होइन ! फुटसल भनेको फुटबल नै हो कि के हो ? ए…ए फुटसल घरभित्र पो खेलिन्छ !”, डेढ वर्षअघि इलाममा फुटसल शुरु हुँदा बहुसङ्ख्यक इलामेले राख्ने जिज्ञासाका प्रतिनिधि प्रश्न हुन् यी । खेलमा अन्य पूर्वी पहाडी जिल्लाको तुलनामा इलाम अगाडि नै भए पनि फुटसल भने नौलै लाग्थ्यो धेरैलाई तर अहिले ती प्रश्नको जवाफ अधिकांशले पाइसकेका छन् । त्यति मात्र होइन, धेरैले फुटसल हेरेका छन् भने केहीले खेलेका पनि छन् । छोटो समयमै इलामेलाई फुटसल चिनाउने श्रेय भने कुनै सङ्घ÷संस्था नभई एक व्यक्तिलाई जान्छ । फुटसलसँग साक्षात्कार गराउने व्यक्ति हुन् इलामे युवक रोशन राई । रोशनले नै इलाम नगरपालिका–९ मा फुटसल मैदान निर्माण गरेपछि धेरैले फुटसल नजिकबाट देखेका हुन् ।

यसरी खेल्ने योजना बन्यो फुटसल

समाजशास्त्रमा स्नातकोत्तर सक्नुभएका रोशनले चाहेको भए आफैँले पढेको ठाउँ (काठमाडौँ) मा जागिर खाँदा हुन्थ्यो भने परिवारको चाहनाअनुसार लाहुरे हुँदा पनि हुन्थ्यो । इलामको फाकफोकथुम गाउँपालिकामा जन्मिनुभएका उहाँको पारिवारिक आर्थिक स्थिति मध्यम नै भएकाले जीवन चलाउन धेरै दुःख गर्नुपर्ने थिएन । यद्यपि सानैबाट ‘नयाँ काम गर्नुपर्छ’ भन्ने सोच भएका रोशनलाई जागिरभन्दा व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।

सोच भएर के गर्नु, पढेर स्नातकोत्तर सक्दा पनि ठोस योजना बनेको थिएन । यही कौतुहलता बोकेर परिवारको सल्लाह लिन जन्मथलो फर्किनुभयो रोशन । पुख्र्यौली पृष्ठभूमि नै लाहुरे भएका रोशनलाई त्यही पेशा अपनाउन परिवारको दबाब नआउने कुरै भएन तर जति नै दबाबले पनि उहाँको सोच परिवर्तन भएन । काठमाडौँमा कहिलेकाहीँ खेलेको र जिल्ला (इलाम)मा नभएका कारण एक्कासि रोशनको दिमागमा फुटसल खेलको स्थापना गर्ने सोच आयो ।

जब रोशन ‘बौलाहा’ बनिए

फुटसल शुरु गर्ने योजना बनाए पनि इलामका अधिकांशले फुटसल नबुझेकाले तत्काल काम शुरु गर्ने कुरा भएन । त्यसमा पनि धेरै लगानी गर्नुपर्ने भएपछि ‘नयाँ काम’ भनेर सोचेजस्तो सजिलो भएन । जब रोशन साथीभाइसँग सल्लाहका लागि पुग्नुभयो तब उहाँको कुरा सुनेर साथीभाइ नै ‘तीनछक’ भए ।

“सानो लगानीमा फुटसल हुने थिएन । त्यसैले साथीभाइलाई सल्लाह माग्दा बौलाहा भइस् कि क्या हो भने”, रोशनले भन्नुभयो, “धेरैतिर जग्गा खोज्न पनि गएँ तर कसैले दिएनन् ।” फुटसलका लागि जग्गा नपाएपछि रोशनको सोच बुझेर जिल्लाका ‘खेलप्रेमी’ले जग्गा खोजीदिने आश्वासन दिए र खोजिदिए पनि । त्यसपछि उहाँले पुख्र्यौली सम्पत्ति साथीभाइको ऋण मागेर गत वर्षको मङ्सिरबाट फुटसल शुरु गर्नुभयो ।

रु ८० लाखको लगानी रहेको त्यही फुटसलले नै अहिले अधिकांश इलामेलीले फुटसल चिनेका छन् । यही फुटसल अहिले बच्चाका लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने युवा र पाकाका लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ । कम जनशक्ति (दुई टिममा १० जना) र थोरै ठाउँमा खेल्न सकिने भएकाले बच्चाका लागि फुटबलको समेत ‘नशा’ मेट्ने ठाउँ बनेको छ भने युवा र पाका व्यक्तिका लागि शरीर ‘फिट’ बनाउने र मनोरञ्जन दिने ठाउँ बनेको छ फुटसल ।

एक्लो प्रयत्नबाट सफल बनेका रोशनको लगानी अहिले उठेको छैन तर अपेक्षाकृत कमाइ भने दुई÷चार महिनापछि नै दखिन थालेको छ । “लकडाउनभन्दा पहिलेका चार महिनामा चाहिँ राम्रै कमाइयो”, रोशनले भन्नुभयो । लकडाउनभन्दा पहिलेका महिनामा फुटसल र सँगै रहेका कम्प्युटर गेमबाट मासिक रु तीन लाखसम्म कमाइ भएको रोशनको भनाइ छ । शुरुआती लगानी धेरै भएपछि आफ्नो खटाइ धेरै नहुने र खर्च धेरै नआउनाले कमाइ राम्रै रहेको रोशन बताउनुहुन्छ । इलाम स्पोर्ट सेन्टर नाम रहेको यस फुटसलमा अहिले कम्प्युटर गेम, चेसलगायतका गेम पनि छन् ।

“सबै किसिमका खेल भएको क्षेत्र बनाउने विचारमा छु”, रोशनले भन्नुभयो, “टेबलटेनिसजस्ता खेल पनि ल्याउने सोचमा छु । जग्गा अभाव भएकाले सकेको छैन । निकट भविष्यमै आउँछ ।” अहिले रोशनले लिजमा जग्गामा लिएर थाल्नुभएको यो व्यवसायका लागि मासिक रु ४० हजार खर्च आउँछ ।

यसबाहेक अन्य आम्दानी नाफामै गनिने भएकाले फुटसल चलाउन सहज हुँदै गएको उहाँको भनाइ छ । “चमेनागृहसहित अन्य खेल र फुटसलबाट एकमुष्ट मासिक रु पाँच लाख कमाउने मेरो योजना हो । तर अहिलेसम्म चाहिँ भएको छैन ।” रोशनले फुटसलकै कारण आफूलाई धेरैले चिनेकाले अहिले यसबाट सन्तुष्ट रहेको बताउनुहुन्छ । फुटसलप्रतिको मोह बढ्दै गएकाले कमाइ पनि धेरै बढ्ने रोशनको अपेक्षा छ । “एकैदिन चार÷पाँच खेल पनि खेल्न सकिने भएकाले राम्रै चल्दैछ”, रोशनले भन्नुभयो, “शनिबार साह्रै धेरै चल्छ ।”

शैक्षिक ‘हब’ बनाउने सपना

स्पोर्ट्सबाट सन्तुष्ट रहनुभएका रोशनको भविष्यमा कलेज खोल्ने अर्को योजना छ । जिल्लामा प्राविधिक विषय पढाइ हुने कलेजको अभाव भएकाले व्यावहारिक शिक्षा पढाइ हुने कलेज खोल्ने सपना रहेको उहाँ बताउनुहुन्छ । “हाम्रो जिल्लामा होटल म्यानेजमेन्ट, बिबीएलगायतका जिल्लामा अहिले नभएका र व्यवहारिक ज्ञान दिने कलेज खोल्ने योजनामा छु ।” वैदेशिक रोजगारमा रहेका साथीसँग सहकार्य गरेर जिल्लामा नयाँ योजना भित्र्याउने रोशनको योजना छ ।

सरकारी निकायप्रति दुःखेसो

जिल्लाको पहिचान राख्न स्पोर्ट्स सेन्टरले मद्दत गरे पनि स्थानीय तह र सरकारी कार्यालयबाट सहयोग नपाउँदा मन खिन्न भएको रोशन बताउनुहुन्छ । आफूले जिल्लालाई चिनाउने काम गरेको भए पनि सरकारी कार्यालयमार्फत सेवासुविधा र छुट नपाएको दुःखेसो रोशनको छ ।

“धेरै लगानी गरिएको छ । सरकारी सङ्घसंस्था र स्थानीय सरकारबाट पानी÷बत्तीकै पनि छुट दिँदा हुन्छ नि ?” रोशन भन्नुहुन्छ, “युवा सशक्तीकरणका नाममा स्थानीय तहले साह्रै धेरै रकम खर्च गर्छन् । युवाले नै खोलेको उद्यममा चाहिँ चासो नै छैन ।” आफूले पसिना बगाएको यस क्षेत्रको विकासका लागि सम्बन्धित संस्थालाई अनुदान र छुट दिनका लागि रोशन आग्रह गर्नुहुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here