चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु

२२ श्रावण २०७७, बिहीबार मा प्रकाशित

दमौली,

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । मृत्यु भएका बालकको शव घरभन्दा केही पर भेटिएको थियो ।

जिल्लामा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । गत असार १७ गते राति आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन् ।

विसं २०७४ फागुन यता चितुवाको आक्रमणबाट दश बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

अभियुक्तलाई जन्मकैद

जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागारको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले भीमाद नगरपालिका–९ का शङ्कर परियारलाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै पीडितलाई क्षतिपूर्तिबापत रु ५० हजार पीडकबाट दिलाउने फैसला भएको अदालतका निमित्त श्रेस्तेदार जीवन पौडेलले जानकारी दिनुभयो । पूर्ण अपाङ्ग महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा विसं २०७६ मङ्सिर २ गते परियारविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

यसैगरी न्यायाधीश पौडेलको इजलासले जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका घिरिङ गाउँपालिका–५ का प्रेमबहादुर रानालाई कसुर ठहर गरी सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको छ । सजाय निर्धारणको लागि यही साउन २९ गते पेशी तोकिएको अदालतले जनाएको छ । घिरिङ –५ स्थित एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा राना पक्राउ परेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here