ओरालो लागेको अर्थतन्त्र र आवश्यकता

२३ श्रावण २०७७, शुक्रबार मा प्रकाशित

सम्पादकीय

भूगोल, जनसंख्याले सानो भएर पनि भुटान हाम्रो तुलनामा ठूलो राष्ट्र रहेछ भन्ने उदाहरण उसँगको व्यापारिक तथ्यले देखाएको छ । भुटानले नेपाललाई चार अर्ब रुपैयाँभन्दा बढीको मालवस्तु निर्यात गर्दा नेपालका तर्फबाट भने आधा अर्बको वस्तु पनि निर्यात गर्न सकिएको छैन । उस्तै भू–वनावट भएको भुटानले नेपाललाई प्रत्येक वर्ष पत्थर कोइला, जिप्सन, चुनढुंगा, जुस, जाम लगायत तरकारी समेत निर्यात गरी आएको छ । यसरी आयात गरिएका वस्तुहरु नेपालको पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालय भएर नेपाल ल्याइन्छन् । मेची भन्सार कार्यालय काँकरभिट्टाले भुटानबाट आयात गरिएका वस्तुहरुको मूल्यांकन गर्दै नेपाल–भुटानबीचको व्यापार भुटानकै पक्षमा रहेको जनाएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक वर्ष २०७३–०७४ देखि २०७५–०७६ सम्म यी दुई देशबीचको व्यापार भुटानकै पक्षमा रहेको थियो । त्यसयता भुटानसँगको व्यापार जहिल्यै ओरालो लाग्नेक्रममा छ । यसरी व्यापार घाटा भइरहनु हाम्रा मार्गदर्शक, योजनाकार र सरकारको नेतृत्व गर्नेहरुको अक्षमताको उदाहरण मान्दा हुन्छ । भुटानसँगको व्यापार घाटाका सम्बन्धमा व्यवसायीहरुले समेत चिन्ता व्यक्त गर्दै दुई देशबीच व्यापार तथा पारवहन सन्धि हुनुपर्ने बताएका छन् । भुटानमा नेपाली वस्तुको माग नहुनु र भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यताले पनि अपेक्षित व्यापार हुन नसकेको व्यवसायीहरुको भनाइ छ । नेपालका तर्फबाट चाउ–चाउ, हस्तकलाका सामानहरु मात्र निर्यात हुने गरेका छन् । यो व्यापारमा भइरहेको तुलनात्मक अन्तरका कारण नेपाललाई साख जोगाउन समेत मुस्किल हुने देखिन्छ ।

कृषि वस्तुमा आत्मनिर्भर हाम्रो अर्थतन्त्र प्रत्येक वर्ष ओरालो लाग्दैछ । कृषि प्रधान देश भनिए पनि पछिल्लो समय सरकारी उपेक्षाका कारण कृषि कर्म व्यावसायिक हुन सकेको छैन । त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नेदेखि उत्पादित वस्तुको बिक्री–वितरणको उचित व्यवस्थापन नगरिँदा सक्षम जनशक्ति पलायन हुनेक्रम बढेर गएको छ । किसानले यथासमय उन्नत बीऊ–बिजन, मलखाद, विषादि लगायत आवश्यक वस्तु पाउँदैनन् । जसोतसो उत्पादित वस्तुले लागतको तुलनामा मूल्य पाउँदैन । कतिपय अवस्थामा कृषि वस्तु बिक्री नै हुँदैन यस्तो अवस्थाले किसान निराश मात्रै छैनन् हतोत्साहित पनि छन् । कृषि कार्यका लागि उपयुक्त र उर्वर जमिन सिञ्चाई, मल, बीऊ, बिक्री–वितरणको सचित प्रबन्ध नभएकै कारण बाँझै छाड्ने, भिटामा रुपान्तरण गर्ने परिस्थितिले परावलम्वन उन्मुख हाम्रो अर्थतन्त्रलाई ठीक बाटोमा हिँडाउन सरकारको अग्रसरता चाहिन्छ । अन्यथा ओरालो लागेको अर्थतन्त्रलाई डो¥याएर ठीक ठाउँमा ल्याउन सकिँदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here