
विष्णु निरौला आचार्य
मेची हाम्रै,काली हाम्रै
भन्दै बस्ने सन्तान तिम्रा
हो कि होइन बोली देउन
आमा तिमी मौन किन ?
टिस्टा नदी हाम्रै थ्यो रे
उ बेलाको नक्सा मा नि
अहिले मेची मिच्दा पनि
आमा तिमी मौन किन ?
पश्चिमको हाम्रो किल्ला
काँगडामा पुग्या थ्यो रे
अहिले आई काली मिचे
आमा तिमी मौन किन ?
सन्तानले खोज्दैछन् है
तिम्ले पाउने अंश अंश
लिपुलेकले गुहार माग्दा
आमा तिमी मौन किन ?
लिम्पियाधुरा हाम्रै रैछ
हाम्रै रैछ कालापानी
छिमेकीले किल्ला मिच्दा
आमा तिमी मौन किन ?
छोड्ने छैनौं बैरीलाई
छलकपटको गर्छौं बिरोध
सारा सन्तान तिम्रै भर छौं
आमा तिमी मौन किन ?
साथ दिन्छौं तिम्लाई सधैं
तीन करोड नेपालीले
अब खोज्छौँ प्रत्येक हिस्सा
बोल आमा मौन किन ?



























