मेचीनगरका दुईवटा वडामा अनिश्चितकालिन लकडाउन गर्ने निर्णय

२३ श्रावण २०७७, शुक्रबार मा प्रकाशित

मेचीनगर,

मेचीनगर नगरपालिकाको नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलको शुक्रबार सम्पन्न बैठकले नगरका दुईवटा वडा अर्को निर्णय नभइञ्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको छ । नगरका विभिन्न वडामा समेत समुदायमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण देखा परेपछि शुक्रबार राति १२ बजेदेखि लागुहुने गरी मेचीनगर–९ र १० नम्बर दुईवटा वडालाई अर्को निर्णय नभईञ्जेल लकडाउन गर्ने निर्णय गरेको हो । साथै मेचीनगर ९ र १० का सबै क्षेत्रमा हिडडुलमा समेत कडाइ गरिएको छ ।

कार्यदल संयोजक विमल आचार्यको अध्यक्षता र प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीसहित नगरका क्रियाशील राजनीतिक दलका प्रमुख प्रतिनिधिसहितको बैठकले वडा नं.९ र १० भित्र सञ्चालनमा रहेका सवै प्रकारका उद्योग व्यवसाय, होटल, पसल वन्द रहने, डेरी, खाद्यन्न र सव्जी पसल हरेक दिन विहान ८ देखि १० वजे सम्ममात्र खुल्ला रहने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

यस्तै औषधी पसल, स्वास्थ्य उपचार केन्द्र र अस्पताल नियमित सञ्चालन हुने, नगरभित्र रहेका वित्तिय संस्था (बैँक, फाइनान्स र सहकारी) हरु स्वास्थ्य सुरक्षाका विधि अपनाई सञ्चालन गर्ने निर्णय समेत गरेको नगरप्रमुख एवम् कार्यदल संयोजक विमल आचार्यले बताए । नगरका अन्य क्षेत्रमा नोवल कोरोना भाइरस कोडि १९ को संक्रमण फैलिन नदिन तथा संक्रमित युवाका परिवार सहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकाष्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिने समेत बताइएको छ ।

उनीहरुको रिपोट नआएसम्म मेचीनगर ९ र १० नम्बर वडाका सबैखाले सार्वजनिक गतिबिधिहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख आचार्यको भनाई छ । तत्काल दुइवटा वडामा मात्र लकडाउन गरिएको बताउदैं उपप्रमुख उप्रेतीले समुदायमा गरिएको पीसीआरको रिपोर्ट थप आउन बाँकी रहेकाले त्यसको नतिजा हेरेर थप निर्णय गरीने बताईन् ।

छलफलमा प्रदेश नम्बर १ का सभा सदस्य गोपालचन्द्र बुढाथोकी, नेपाली काँग्रेस मेचीनगरका सभापति इन्द्रबहादुर बुडाथोकी, जनता सामाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्य, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्, वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल,सामाजिक विकास समिति संयोजक नवीन बराल, कार्यपालिका सदस्य कृष्ण कनाल, टिकाराम मंग्राती लगायतकोउपस्थिति रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here