कोभिड आतंक

२४ श्रावण २०७७, शनिबार १२:१० मा प्रकाशित
  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

लघुकथा

Advertisement

तुलसीराम खरेल,

साउनको पन्ध्र बितिसकेको थियो । खेतवारीमा लगाएको धान लहलह आएको देखेर यसपाली चाहीँ अनिकालको सामना गर्नु नपर्ला भन्ने राई माइलाले सोचे । असारदेखि कै लगातारको पानीले उनको बालुवानी डाँडाखेतमा कहिल्यै नआएको मुसुली धानका गाँज देखेर उनको उदास मनमा शान्ति थपिएको थियो । आउँदै गरेको दशैँ, केटाकेटीको रहर यसपाली पूरा होला भन्ने सोचेँ । घरमै पालेको खसी रहरलाग्दो थियो । खसी काट्ने, खाने र बेच्ने पनि । अहा ! उनले राम्रा कमेज–शुरुवाल र टोपीमा सजिएर देउसी खेलेको कल्पना गरे । हँसिलो मुहार भएका, भादगाउँले टोपीमा सजिने बिर्खबहादुर राईको सबैले बोलाउने नाम ‘राई माइला’ थियो ।

कोभिड भाइरसको आतङ्कले सबैलाई पिरोलेको थियो । लामो बन्दाबन्दीपछि बजार खुल्न थालेका थिए । बजार र अस्पतालहरुमा मानिसको मेला नै हुन्थ्यो । सुरक्षाका उपाय अपनाउने प्रति धेरैको हेलचेक्र्याइँ देखिन्थ्यो । राई माइला नजिककैको बजार गए, सरसामान किने र फर्कन लाग्दा केही साथीहरुसँग भेट भयो । एकजनाले घरमै बोलाए । पाँच भाइ जमेर तास खेले । रात निकै छिप्पिएपछि उनी घर पुगे । श्रीमतीले ‘कोरोनाको बेला बिना मास्क किन हिँडेको ? बिदेशबाट आएको रत्नेसँग सिँधै किन भेटेको ?’ भनेर कराइन् । माइला झस्किए र भने ‘ला यादै पो भएन…आ के होला र !’ राई माइलालाई श्रीमतीले घरको छुट्टै कोठामा अलग्गै राखिन् ।

चार दिनपछि माइलाको साथी रत्नेको पीसीआर टेष्ट भयो । रिपोर्ट पोजेटिभ आयो । उनलाई सिधै आइसोलेसनमा लगियो । उनको सम्पर्कमा रहेका मानिसको खोजी गर्दै प्रहरी र स्वास्थ्यकर्मी राई माइलाको घरमा आइपुगे । उनलाई गाउँको बिद्यालयमा रहेको क्वारेनटिनमा राखियो । आठ दिनपछि उनको टेष्ट गर्दा नतिजा पोजेटिभ देखियो । असावधानी कै कारण रोगी हुनु परेकोले माइलाले आफैँलाई सरापे । लामो समयदेखि दमको समस्यामा रहेका राई माइलाको स्वास्थ्य जटिल बन्न थाल्यो । खसी बेचेर उपचारको लागि रकम जम्मा गरिन् माइलीले । केटाकेटीले रोएर हैरानै पारे । धन्न केटाकेटी र श्रीमतीलाई चाहिँ संक्रमण भएको रहेनछ । कोरोना अस्पतालमा रहेका राई माइला एक महिनासम्मको उपचार प्रयत्नपछि पनि निको भएनन् । उनको मृत्युको खबर परिवारले एफएम रेडियोवाट सुने । सद्गगती सकेर माइली घर फर्किन् । उनले खोरमा रहरलाग्दो खसी देखिनन् । मल र रेखदेखको अभावले पहेँलिएर मर्न लागेका धानका बोटहरुले गिज्याइरहेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here