प्युरेबासीको पीडा हरण गर

२५ श्रावण २०७७, आईतवार १३:०६ मा प्रकाशित
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

सम्पादकीय

Advertisement

कोरोना संक्रमणसँगै बाढी पहिरोको पीडा भोगिरहेका नेपाली जीवनकाबीच इलाम जिल्लाको रोङ गाउँपालिका–४ प्युरेका बासिन्दा अर्कै विपदाका कारण असुरक्षित महशुस गर्दैछन् । सम्पूर्ण विश्व कोरोना महामारीबाट पीडित, त्रसित र असुरक्षित छ । त्यहीबेला पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा पहिरो र नदी कटानबाट मानवीय क्षति भइरहेको छ । यो वर्ष उच्च वर्षा भएका कारण पहाडी क्षेत्रहरु पहिरोको पीडामा छन् भने तराईका बासिन्दा वर्षासँगै आएको बाढीले गरेको कटान र डुवानले ठूलो क्षति व्यहोर्न बाध्य छन् । यही समय कोरोना भाइरस संक्रमणको विस्तार उच्च दरमा भइरहेको छ । जसका कारण मृत्युवरण गर्ने दर पनि दिनहुँ बढेर गएको छ ।

यही बेला इलाम प्युरेका बासिन्दा भने कतिखेर जमिन धसिने हो भन्ने चिन्ताले अनिँदो बसिरहेका छन् । झण्डै एक सय घरपरिवार रहेको प्युरे गाउँको एकतर्फको भाग पहिरोले पूरै बगाएको छ । त्यहाँ पहिरो जान थालेको पाँच वर्ष भइसकेको छ । पहिरोकै कारण त्यहाँका तेह्र घरपरिवार विस्थापित भएका छन् भने करिब नब्बे रोपनी उर्वर जमिन पहिरोका कारण धाँजा फाँटेर बस्न र खेती गर्न नहुने भइसकेको छ । रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राईले समेत पहिरो जाने र धाँजा फाट्नुको कारण थाह नभएको तर ०७२ सालको भूकम्पले जमिन चिरिएको हुनसक्ने भन्दै जमिनमूनीबाट पानी रसाउन थालेकोले गाउँ नै जोखिममा परेको बताएका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिकाको सीमानामा रहेको टिमाई खोलाले कटान गर्दा प्युरे गाउँमा पहिरोको जोखिम बढेको हुनसक्ने पनि अनुमान गरिएको छ । जे कारण भए पनि गाउँबासीलाई सुरक्षित राख्दै आयआर्जनको सुनिश्चितता गर्नु सरकारको दायित्व हो । त्यसका लागि स्थानीय सरकारलाई प्रदेश र संघीय सरकारले भूगर्भविद्को सहयोगमा समस्याको पहिचान गराउनु पर्दछ । समस्याको कारणको पहिचानपछि पहिरो रोक्ने र धाँजा फाटेको जमिनलाई जोगाउन गर्न सकिने वैज्ञानिक उपचार पनि गरिनु पर्दछ । इलाम जिल्लाको तल्लो भाग चुरे क्षेत्रमा उत्पन्न यो समस्याले झापा जिल्लाको माथिल्लो भाग पनि प्रभावित हुनसक्छ । यी सबै समस्याको समाधान न स्थानीयबासीबाट सम्भव छ नत स्थानीय तहबाटै । समस्या भएको यति धेरै समय बितिसक्दा पनि कतैबाट प्रतिरक्षाको उपाय नखोजिनु स्थानीयबासीको निद्रा हराउने कारण बनिएको छ ।

त्यसो त पहाडी क्षेत्रमा पहिरो जानुको मूल कारण भौगर्भिक अध्ययनबिनै गर्न थालिएका भौतिक विकास नै हो भनिन्छ । जथाभावी ठूला–ठूला यन्त्रहरुको प्रयोग गरी बाटो खन्ने, रुख बिरुवा कटान गर्ने, असुरक्षित ढंगले पहाड खन्ने, चट्टान फुटाउने गर्नाले माटोको अवस्थितिमा परिवर्तन आई यस्ता विपदाहरु बढेको भूगर्भविद्हरुको भनाइ छ । यस्ता समस्याहरुको प्राविधिक पक्षको अध्ययन गरी समाधान गर्न सकिए क्षतिलाई न्यूनीकरण गर्न सहज हुनेछ । प्युरे पीडाको मूल कारण गएको भूकम्प पनि हुनसक्छ, तर आजसम्म पहिचान नहुनु र संरक्षणको प्रयास नगरिनु दुर्भाग्य हो ग्रामीण बस्तीका बासिन्दाहरुको । तराईमा नदीजन्य सामग्रीको अनुचित उत्खनन् र दोहन पनि चुरेक्षेत्रको पहिरोको कारण हुनसक्छ । त्यसैले यी सबैको यथोचित खोज–अनुसन्धान गरी पीडामा रहेका बासिन्दाको पीडा हरण गर्नु सरकारको कर्तव्य हो । त्यसतर्फ सरकार र सम्बद्ध निकायको इमान्दार प्रयास होस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here