बिर्तामोडमा लकडाउन सकियो,झापा सहित प्रदेश १ का कोरोना संक्रमितलाई राख्न भने समस्या (भिडियो सहित )

२५ श्रावण २०७७, आईतवार मा प्रकाशित

 

झापा, बिर्तामोड नगरपालिकामा गरिएको लकडाउन खुल्ला भएको छ ।

गतसाउन १८ गतेदेखि गरिएको लकडाउन आइतवार राति १२ वजेदेखि खुल्ला भएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।

नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख शिवाकोटीले समुदायमा कोरोना संक्रमणको जोखिम बढेको आशंकामा लकडाउन गरिए पनि मास स्क्रिनिबपछि लकडाउन खुल्ला गरिएको बताए । पत्रकार सम्मेलनमा नगर क्षेत्रभित्र २२४३ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको र ८ जना उपचारपछि घर फर्किएको उनले बताए । संक्रमण बढेका कारण झापाको अर्जुनधारा अहिले पनि पूर्ण रुपमा लकडाउनमा छ भने मेचीनगर नगरपालिकाले दुई वटा वडालाई लकडाउन गरेको छ ।

यसैबीच प्रदेश नम्वर १मा कोरोना संक्रमितलाई राख्न समस्या देखिएको छ । झापाका तीन वटा स्थानीय तहमा आइतवार एकै दिन पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई राख्न समस्या देखिएको हो । प्रदेश नम्वर १मा कोरोना संक्रमितलाई राख्नका लागि बनाइएका आइसोलेसन वार्ड सबै भरिएपछि झापामा कोरोना संक्रमण पुष्टि भएकाहरुलाई कहाँ पठाउने भन्ने विषयमा अन्यौल भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाँईले बताए । आइतवार मात्रै एकजना सशस्त्र प्रहरीसहित झापामा पाँच जनामा कोरोना संक्रमण देखिएको छ ।

पाथीभरा सशस्त्र प्रहरी गण पाडाजुंगीका एक सशस्त्र प्रहरीसहित बाह्रदशी र अर्जुनधारा नगरपालिकामा कोरोना संक्रमित भेटिएका हुन् । बाह्रदशी गाउँपालिका–६की एक महिला र सोही गाउँपालिका वडा नं. १का एक पुरुषमा संक्रमण देखिएको छ । ती महिला भारतको शिलगढी र पुरुष पञ्जाबबाट फर्केर पशुपति मावि राजगढको क्वारेन्टिनमा बसेका थिए । त्यस्तै अर्जुनधारा नगरपालिकाका दुईजना पुरुषमा संक्रमण देखिएको छ ।  उनीहरु भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौलागाँईले बताए ।

झापामा ३९८ जनालाई कोरोना संक्रमण भएको छ भने ३४४ जना कोरोना जीतेर घर फर्किएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here