अनियन्त्रित हुनबाट रोकौं

२६ श्रावण २०७७, सोमबार १२:०३ मा प्रकाशित
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

सम्पादकीय

Advertisement

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या उच्च हुन थालेसँगै असुरक्षा बढ्दै गएको छ । आम सर्वसाधारणले स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगर्दा, असावधानी र लापरवाही गर्दा भाइरस संक्रमितहरु बढ्ने दर पनि उच्च हुन थालेको हो । शुरुमा अन्य देशहरुबाट भित्रिनेहरुमा मात्र देखिएको कोरोना भाइरस अहिले समुदायमै पुगेको छ । जस कारण स्वास्थ्य सेवा र सुविधा यथेष्ट नभएको हाम्रो देशका लागि यो अवस्था अकल्पनीय मात्र होइन घातक हुन सक्छ । यही अवस्थाको कल्पना गरेर स्वास्थ्य क्षेत्रका जानकारहरुले शुरुदेखिनै परीक्षणको दर बढाएर महामारी नियन्त्रण गर्न सरकारलाई पटक–पटक आग्रह गरे । तर, सरकारले यसलाई गम्भीरतापूर्वक लिएन र अवस्था भयावह बन्न पुग्यो ।

स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर भन्ने सरकार स्वयम्ले कार्यालयहरु खोलेर सेवाग्राहीको भीड जम्मा ग¥यो । सुरक्षाकर्मीलाई आवश्यक सामग्री बिनै भीडभाडपूर्ण ठाउँमा खटायो । यसले अहिले सुरक्षाकर्मी नै संक्रमित भइ आइसोलेसनमा पुगेका छन् । बैंकका कर्मचारीहरुमा पनि संक्रमण थपिने क्रममा छ । संक्रमण रोक्न बन्दाबन्दी घोषणा गरेको सरकारले झण्डै चार महिनापछि खुकुलो त ग¥यो तर चाहिने सजगता, सतर्कता र सेवा विस्तार गर्न सकेन । सर्वसाधारणले घरबाहिर निस्कनु पर्दा मास्क लगाउने, निर्मलीकरण गर्ने, दूरी कायम गर्ने जस्ता नियमको पालना गरिरहेका छैनन् । फेरि सरकारले सेवाग्राहीको भीडभाड हुने कार्यालयहरु खुल्ला गरेर ‘भन्ने र गर्ने’ व्यवहारमा फरक देखायो । सावधानी अपनाएर मात्र भाइरसबाट जोगिन सकिन्छ, उपचार कतै छैन भन्ने जान्दाजान्दै पनि व्यवहार त्यस अनुसार नगर्दा यो जटिलता आएको हुन सक्छ ।

भाइरसका कारण उत्पन्न जटिलतालाई न्यूनीकरण गर्न विज्ञहरुले पीसीआर परीक्षणको दर बढाउन दिएको सुझाव सरकारले अझै मानेको छैन । त्यसो नगरिए महामारीबाट व्यापक मानवीय क्षति व्यहोर्नुपर्ने विज्ञहरुले चेतावनी नै दिएका छन् । यस्तै अवस्था देखिएको छ देशभरका कोरोना विशेष अस्पतालहरुको । अस्पतालका शैय्याहरु भरिएका छन् । संक्रमण पुष्टि भएकाहरुलाई राख्ने ठाउँ नभएर स्वास्थ्य चौकी र केन्द्रमा राख्नुपर्ने अवस्था आइसकेको छ । खासगरी भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा संक्रमण व्यापक भइरहेको छ । पूर्वी नेपालको झापास्थित मेची अस्पताल कोरोना संक्रमितहरुलाई राख्न थालेको चार दिनमै भरियो । अझ एउटै अस्पतालमा कोरोना र अन्य विरामीको उपचार गरिने कारणले मेचीको ठूलो सरकारी अस्पतालको सेवा असुरक्षित बन्दै गएको छ । त्यहाँ कार्यरत चिकित्सकहरुले सबै विरामीको परीक्षण गर्ने जोखिमको एउटा कारण हो भने अस्पतालको आकस्मिक कक्ष, ओपीडी, प्रसूती सेवा र कोरोना उपचार केन्द्रमा जाने बाटो एउटै हुनु जोखिमको अर्को कारण हो । यसले गर्दा अन्य विरामीहरु सेवा लिन जानै छाडेको बताइन्छ । जिल्ला समन्वय समितिका प्रमुख नै व्यवस्थापन समितिका अध्यक्ष भएको अस्पतालको यो लापरवाहीले संक्रमण अनियन्त्रित नहोस् त्यसतर्फ सम्बद्ध सबैको गम्भीर ध्यानाकर्षण हुनुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here