कसरी हुर्कँदैछन् नयाँ पुस्ता ?

२८ श्रावण २०७७, बुधबार १२:४१ मा प्रकाशित
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

रामचन्द्र उप्रेती,

Advertisement

कोभिड–१९ को कहर जारी छ । अलि–अलि उठ्दै गरेको पेशा, व्यवसाय, उद्योग, पर्यटन, कृषि सबै क्षेत्रमा समस्या थपिएको छ । धेरैले रोजगारी गुमाउँदै गएका छन् । जसको रोजगारी गुमेको छैन उनीहरुको पनि आम्दानी घटेको अवस्था छ । व्यवसायीलाई व्यवसाय टिकाउन हम्मेहम्मे परेको छ । यस्तो बेलामा सबैभन्दा धेरै मारमा अहिलेको युवा पुस्ता परेको छ । कुनै न कुनै पेशा–व्यवसायको लय समातेर जीवनको उर्जाशील समय खर्चिसकेकाहरुले अब बाँकी जीवन सिकेको काम वा गरेको कामबाटै अलि अगाडि बढाउने र नयाँ पुस्तालाई अब तिम्रो पालो आयो हाम्रो पालो सकियो भन्ने र जिम्मा लाउने हो । यसमा धेरै बहसको आवश्यकता नै छैन ।

अहिले पढाई सकेर वा पढाई बिचैमा छाडेर कामको खोजीमा श्रम बजारमा निस्किएको २० देखि ३० वर्ष उमेरको पुस्तालाई कोरोनाको महामारीले कस्तो असर गरेको छ भन्ने बारेमा अलिकति विचार गरौं । यो पुस्ताका धेरै युवाहरुको दिगो पेशा वा व्यवसाय छैन भन्दा हुन्छ । केही भाग्यमानीले परिवारकै व्यवसायमा आपूmलाई लगाए, केही थोरैले नयाँ व्यवसाय शुरु गरेर व्यवसाय टिकाउन संघर्ष गर्दैछन्, धेरैजसो वैदेशिक रोजगारीमा छन्, केही घरायसी काममा (विशेष गरी महिला)मा छन् । केही अस्थायी प्रकृतिको रोजगारीमा सामेल भएर भविष्य बनाउनभन्दा दैनिकी चलाउन संघर्ष गर्दैछन् । केही थोरैले सरकारी र कर्पोरेट स्तरको जागिरमा आपूmलाई सामेल गर्न सफल भएका छन् ।

अस्थायी प्रकृतिको पेशा र रोजगारीमा भएका युवाको समस्या कस्तो छ भने ती कुनै एउटा काममा तनमन लगाएर त्यसैमा भविष्य खोज्ने काम गरिरहेका छैनन् । केही महिना वा केही वर्ष एउटा काम गर्ने, त्यसमा अलि–अलि सिकेको हुन्छ । तर, पूरा ज्ञान र अनुभव हुन नपाउँदै फेरि अर्को काममा लाग्ने, त्यो पनि भएन भनेर फेरि अरु कामको पेशाको खोजी गर्ने युवा धेरै छन् । यस्ता अस्थिर युवा सबैभन्दा धेरै समस्यामा हुन्छन् । अझ उर्जाशील समयको १० वर्ष जति यस्तो अस्थिर प्रकारको काम गरेर जीवन गुजार्नेहरुले भविष्यको स्थाई गोरेटो बनाउन धेरै नै मुस्किल पर्छ ।
कोभिड–१९ को प्रभाव र लकडाउन जारी रहेकै समयमा एनएमसी झापाले सञ्चालनमा ल्याएको र ल्याउने सहकारी पसलका लागि सबै पदमा गरेर करिब २०÷२२ को संख्याका लागि सामाजिक सञ्जालमा विज्ञापन गरिएको थियो ।

संस्थाले यति धेरै आवेदक आउलान भनेर अनुमान नै गरेको थिएन । कारण यसको विज्ञापन संस्थाको फेसबुक पेजमा मात्रै गरिएको थियो । यो समयमा स्थानिय पत्रपत्रिकाको पहुँच नै छैन । त्यो पनि कोरोना काल र मध्य बर्षाको समय (श्रावण) । झण्डै छ सय आवेदन परे । यति धेरै मानिसलाई जम्मा गरेर परीक्षा लिन मुस्किल थियो । सात फरक–फरक स्थानमा एकै दिन एकै समयमा लिखित परीक्षा लिने काम गरियो । प्रहरीको आँखा छलेर । किनकि २५ जनाभन्दा बढीको जमघटलाई सरकारले प्रतिबन्ध लगाएको छ । यी मध्ये करिब एक शय जनाको लिखित परीक्षामा नाम निस्कियो र मौखिक अन्तरवार्ताका लागि छानिए । म पनि यो अन्तरवार्ता लिनेमा सामेल भएर उनीहरुलाई नियाल्ने काममा लागें । केहीलाई छाडेर अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । उनीहरु मध्ये धेरैजना वैदेशिक रोजगारीमा गएर फर्किएका नै छन् । केही कुनै अनुभव नभएका फ्रेस अनुहार थिए र केही फरक–फरक कामको अनुभव भएकाहरु । संस्थाले यिनै मध्येबाट कामका लागि मानिसको छनौट गरेको छ ।

यति धेरै मानिसबाट छानिएका, अब्बल ठानिएका, कामका लागि तयार भएका यी युवा कस्ता छन् ? यिनले कसरी र कस्तो काम गर्छन् ? यो सवाल महवपूर्ण छ । यो पुस्ता जुन परिवेशमा हुर्के र जे सिके त्यसको आधारमा भन्दा यी काम गर्न योग्य भई सकेका छैनन् । यी मध्ये जो वैदेशिक रोजगारीमा गएर फर्किए तिनमा काम नगरी धर पाइँदैन भन्ने परेको छ । तर, जोसँग कतै काम गरेको अनुभव छैन तिनले कामलाई हल्कारुपमा लिएका हुन्छन् । वास्तवमा ती काम गर्न होइन जागिर खान चाहन्छन् । यिनमा प्रमाणपत्रको घमण्ड चाहिनेभन्दा अलि बढ्तै हुन्छ । जागिर अर्थात् यस्तो काम जहाँ गयो लाए अह्राएको काम ग¥यो, हल्लियो, ज्यान जोगायो, तलब पकायो । हेर्दा यस्तो लाग्छ कतिपय मानिसलाई कामको एकदमै आवश्यकता छ । परिवार धान्न काम नगरी हुँदै भएको छैन । यस्ता मानिस अलि–अलि साह्रो–गाह्रो सहेर पनि काम गर्छन् । काममा बानी परेपछि टिक्छन् । तर, घरको अवस्था ठीकै भएका, कामको बानी नपरेका, सुकिलो जागिरको कल्पना गरेका मानिसलाई काम गर्न र गराउन दुबै निकै गाह्रो हुन्छ । यस्ता मानिसको कारण संस्थाभित्र काम गर्ने संस्कार बसाउन समस्या हुन्छ । काम गर्नेहरु पनि उसले नगरे पनि वा थोरै गरे पनि भएको छ । मैले मात्रै किन धेरै काम गर्ने भन्ने मनमा पर्छ । यो प्रवृत्तिलाई बेलैमा नियन्त्रण नगर्दा काम गर्नेहरु पनि अल्छि बन्ने गर्छन् ।

किन गाह्रो हुन्छ काम गर्न र गराउन ?

समाजले विशेष गरी प्लस टु को जेनेरेसन कसरी हुर्कायो, कसरी हुर्किए, के सिके, के सिकाइयो ? कस्तो परिवेश थियो ? भन्ने कुराले अर्थ राखेको छ भन्ने मेरो बुझाई छ ।

शहरिया र अर्ध शहरिया परिवेशमा हुर्केका किशोर–किशोरीले शरीरिक परिश्रम गर्नै परेन, गर्दै गरेनन्, गर्न लगाइएन । गाउँबाट आएकाहरुले पनि आठापाँजा अलि–अलि काम गरे पनि अभिभावकले खासै काम लगाएनन् । कामको बोझ सबै आपैmले लिए र पढ है, ठूलो मानिस बन्नुपर्छ भनेर बारम्बार सुनाए । हामीले बिर्सिएको अथवा वास्ता नगरेको विषय भनेको पढेपछि पनि काम गर्नुपर्छ, काम गर्नका लागि पढ्दै छौं, पढाउँदै छौं भन्ने ख्यालै भएन । नर्स, डाक्टर, वकिल, इञ्जिनियर, ओभरसियर, सिए, एकाउण्टटेण्ट, व्यवस्थापक, पाइलट, शिक्षक, कर्मचारी, प्रहरी, व्यपारी, सञ्चारकर्मी, कलाकार, गलाकार, खेलाडी, कृषक आदि आदि । जे भए पनि काम गर्न हुने हो । काम गर्न अल्छि गर्नेले यी मध्ये कुनै जिम्मेवारी प्राप्त गरे पनि जीनममा खासै अर्थ राख्दैन । काम नगर्नेहरु यी जिम्मेवारी पाए पनि मूल्यवान ठहरिँदैनन् ।

काम नगर्ने मानिसले जीवनमा सफलता पाउँदैनन् । पढाई भनेको सिकाई हो । सिकाई व्यवहारबाट, अभ्यासबाट विकसित र परिस्किृत हुँदै जान्छ । तर, हाम्रो नयाँ पुस्ताले पढाईलाई सिकाईका लागि भन्दा सर्टिफिकेट प्राप्त गर्नका लागि भन्ने बुझाई भयो । जसरी पनि पास गर्नुपर्छ, उच्च अङ्क प्राप्त गर्नुपर्छ भन्ने बोध गराइयो । रिजल्ट हेरेर मेरो छोराछोरीले यति नम्बर ल्याए, यो डिभिजन ल्याए भनेर अभिभावक मख्ख प¥यौं । हामीले कहिल्यै यो विचार गरेनौं कि हाम्रा सन्तानले के–के सिके र त्यो जीवन उपयोगी छ कि छैन भनेर हेरेनौं ।

जुनसुकै पेशा वा व्यवसाय गरे पनि जीवनका पाइला–पाइलामा आवश्यक पर्ने ज्ञान, शीप जस्तैः खाना पकाउने, लुगा धुने, सरसफाई गर्ने, स्रोत र साधनको सदुपयोग गर्ने, आपूmसँग भएका समान मिलाएर राख्ने, स्वास्थ्यका आधारभूत कुरा, परिवार र समाजमा कसरी प्रस्तुत हुने, साथीसंगी र आफन्तसँग कसरी व्यवहार गर्ने, अरुका सुख–दुःखको अनुभूति गर्ने, जीवनमा सधैँ सहज मात्रै हुँदैन असहज र अप्ठ्यारो पर्दा कसरी समाधान गर्ने, पुलिस, अस्पताल, समाज, प्राकृतिक श्रोत आदिको महत्व के छ भनेर जानकारी लिने, दिने जस्ता कुरा आजको पुस्तालाई कसले कुन विद्यालयमा सिकाएको छ ? यी र यस्ता साना मसिना लाग्ने कुरा जीवन चलाउन पाइला–पाइलामा आवश्यक छ ।

आजको समाजले प्रशिक्षित गरेको कुनै किशोर उमेरको छोरो (छोरीले अलि–अलि सिक्न पाएका छन्)घरमा एक्लै एक हप्ता जति बस्नुपर्ने अवस्था आयो भने उसले के गर्ला । सोचेका छौं यस्तो ? उसले या त एक हप्तालाई पुग्ने चाउचाउ किनेर घरमा राख्ने छ या त कुनै साथीको घरमा पुग्ने छ । उसले हप्ताभरिमा एकदिन पनि घर सफा गर्ने छैन, सुतेको ओछ्यान मिलाउने छैन, घर बढार्ने छैन, जुठा भएका भाँडा सफा गर्ने छैन, घरमा जडान भएका बत्ती, पंखा अफ गर्ने छैन, घरमा आउने मानिसलाई शिष्ट भाषामा बोलेर स्वागत गर्ने छैन, साथीसँग बोले जस्तै टर्रो स्वरमा ‘के काम थियो ? किन आउनु भयो ? कसलाई खोजेको ?’ भन्ने छ । भान्साको काम गरी हालेछन् भने नुन, चिनी, चिया जस्ता समान राख्ने बट्टाको बिर्को खोले पनि लगाउने छैनन् । राति १२ बजेसम्म असरल्ल परेको कोठा र ओछ्यानमा पल्टिने छन्, मोबाइलको संसारमा रमाउने छन् र बिहान झण्डै ९ बजेसम्म सुत्ने छन् । हो, यो पुस्तासँग स्कुल कलेजले दिएको राम्रै नम्बर प्राप्त गरेको प्रमाणपत्र भने हुन सक्छ ।

आर्थिकरुपमा अलि कमजोर परिवारबाट आएका र सरकारी विद्यालयमा पढेर पास गरेका किशोर–किशोरी तुलनात्मकरुपमा काम गर्ने संस्कारका हुन्छन् । यिनलाई कामको आवश्यकता पनि हुन्छ । काममा यस्ता मानिस टिकाउ हुने सम्भावना बढी हुन्छ । अलि सुखसयलमा हुर्किएका, मध्यम परिवारका युवा जागिर खाने गरी कतै पुगेछन् भने उनीहरुले जागिरमा लाग्नुभन्दा पहिला गरेको कल्पना र जागिरे जिन्दगीको भोगाईमा निकै फरक हुन्छ । जागिरमा होस् वा निजी व्यवसायमा यो समूहको प्रवेश हुन्छ नै । यिनले त्यहाँ आफ्नो काम अनुसारको चरित्र बनाएर श्रम गर्न सके, धैर्य गरे, शीप सिके, मेहनत गरे भने सफल हुन्छन् नत्र आफ्नो काम अप्ठ्यारो अरुको काम सजिलो देख्ने रोग लाग्छ र छिटो–छिटो काम फेर्ने गर्छन् । यस्ता मानिस झन् बढी जोखिममा हुन्छन् । जागिर जोगाउने गरी अल्छी गर्दै काम गर्ने, आफ्नो व्यवसायमा पनि यस्तै चाला देखाउनेहरुले जसोतसो जीवन चलाए पनि प्रगति गर्दैनन्, गर्न सक्दैनन् ।

मैले यति कुरा किन भनिरहेको छु भने हामीले अहिले हुर्काउँदै गरेको किशोर–किशोरीको पुस्तालाई श्रमबाट अलग गरेर, पढाई नै सबैकुरा हो, प्रमाणपत्र भए पुग्छ भनेर बढ्तै माया गरेर व्यवहारिक सिकाइको अभावमा जसरी हुर्काउँदैछौं यो उनीहरुका लागि पछि गएर समस्या निम्त्याउने कारण बन्दै गएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here