प्रचण्डका तीन विकल्प : ओलीको एक विकल्प

२८ श्रावण २०७७, बुधबार मा प्रकाशित

चिन्तामणि दाहाल
थालनी :
एमाले र माओवादी एकीकरण भई नेकपा भएकै बेला अर्थात् २६ महिनाअघि दुई अध्यक्ष राखेर विवादको बिजारोपण गरिएकै थियो । त्यसमाथि भद्र सहमति गरेर विवादको अर्को बीऊ रोपियो भने २०७६ साल मंसीरमा अर्को सहमति गरेर विवादको तेस्रो बीऊ रोपियो । यी तीनवटा द्विदलीय बीऊ मध्ये २६ महिनाअघि रोपिएका दुई बीऊ अहिले झांगिइसकेका छन् भने गत मंसीरमा रोपिएको बीऊ उम्रिएर लहरा पलाउन थालेको छ । त्यसैले नेकपाभित्रको शक्ति संघर्ष अहिले चुलिएकोमा अचम्भ मान्नुपर्ने अवस्था छैन ।

पछिल्लो शक्ति संघर्षको थालनी प्रधानमन्त्री केपी ओलीको असार १४ गते मदन भण्डारी जयन्तीको अवसरमा व्यक्त भएको आक्रोशबाट भएको हो । तर, यसको पृष्ठभूमि बैशाखबाटै शुरु भएको थियो । आम जनता र पार्टी पंक्तिका कार्यकर्ताहरुमा पनि ओलीको कार्यशैली मन नपराएको छनक पाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीविरुद्ध मोर्चाबन्दी शुरु गरेका थिए ।

त्यसबीचमा लिम्पियाधुरा, लिपुलेक र कालापनीलाई नेपालको नक्सामा राख्ने कुरा आएपछि र त्यसमा ओलीको सक्रियता भएपछि मोर्चाबन्दी तपसिलमा गयो । नयाँ नक्सा आमसहमतिबाट जारी भयो । सर्वसम्मतिबाट संविधान संशोधन भयो । यस घटनाले यसअघिको ओलीविरुद्ध तयार हुँदै गएको जनमत मत्थर भयो । त्यो मुद्दाको किनारा लागेपछि ओलीको असार १४ गतेको तिखो अभिव्यक्ति प्रचण्ड पक्ष र भारत लक्षित थियो । यसले निभ्न लागेको आगोमा घिउ र चरु थप्ने काम ग¥यो । त्यही आगो शुरुका दिन दनदन्ती बले पनि अहिले धिपधिप गरेर भए पनि बलिरहेको छ ।

अहिलेको विवादका सूत्रधार र सञ्चालक ओली पक्ष र प्रचण्ड पक्ष भने पनि वास्तविकमा ओली र प्रचण्ड मात्रैको हो । किनभने सहमति गर्न शीर्ष तहकै नेता र अन्य नेताहरुले पनि दुबैलाई एक्ला–एक्लै बसेर सहमति गर, त्यसमा हाम्रो मञ्जुरी छ भनेका छन् । यस अवस्थामा यो विवादको छिनोफानो विभिन्न विकल्पबाट हुन सक्छ । पंक्तिकारलाई लागे अनुसार प्रचण्डका सामु तीन विकल्प छन् भने ओलीसँग एउटै विकल्प छ ।

प्रचण्डका तीन विकल्प :

ओलीलाई जति पटक एक्ला–एक्लै वा समूहगत जतिपटक भेटेर राजिनामा मागे पनि नदिने प्रष्ट भएकाले अब प्रचण्डसामु तीन विकल्प शेष छन् । एक, यदि क्षमता छ भने संसदीय दलबाट ओलीलाई अल्पमतमा पारी आफू संसदीय दलको नेता बन्ने अथवा सिधै प्रतिपक्षीदलहरुको सहयोगमा सिधै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराई हटाउने ।
दुई, हिम्मत छ भने पार्टी विभाजन गर्ने र तीन, पछाडि हट्ने र ओलीसँगकै सहकार्यमा महाधिवेशनबाट पार्टीको अध्यक्ष बन्नतिर लाग्ने ।

यी मध्ये संसदीय दलमा ओलीलाई प्रचण्डले अल्पमतमा लान सक्ने अवस्था छैन, देखिएको छैन र अहिले नै देखिनेवाला पनि छैन । जहाँसम्म प्रतिपक्षहरुसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गराई ओलीलाई राजीनामा दिन बाध्य पार्ने कुरा छ त्यसमा अहिलेको अवस्थामा कांग्रेसले प्रचण्डलाई साथ दिँदैन । दुई अध्यक्षबीच विवाद बढ्न थालेपछि कांग्रेस सभापति चुकिहाल्छन् कि भन्ने आशंका भएपछि कांग्रेसका अरु नेताहरुले देउवलाई खै गरिसकेका छन् । त्यसमाथि कांग्रेस आफैं महाधिवेशनको तयारीमा लागेकोले अहिले सत्ताको उलटपुलटमा फँस्नेवाला छैन ।

दोश्रो विकल्पमा प्रचण्ड अहिले नै जान सक्ने अवस्थामा छैनन् । किनकि उनलाई साथ दिने माधव नेपाल र झलनाथ खनाल पार्टी फुटाउने पक्षमा छैनन् भने माओवादी पक्षका पनि पार्टी फुटाउने कुरामा प्रचण्डलाई साथ दिने पक्षमा छैनन् भन्ने देखिएको छ । त्यसमाथि माओवादीकै कतिपय प्रभावशाली नेता यात अहिलेलाई ओलीको विकल्प खोज्ने बेला नभएको बताइरहेका छन् भने पार्टी एकता बरकरार राख्ने पक्षमै छन् । उनीहरु र प्रचण्ड स्वयम्ले पनि देखेको कुरा के हो भने आफूलाई मोहन बैद्य, सिपी मैनाली, नेत्रविक्रम चन्द वा बाबुराम भट्टराई बनाउनु छैन ।

तेश्रो विकल्प भनेको ओलीसँगकै सहकार्यमा महाधिवेशनबाट पार्टीको अध्यक्ष बन्नतिर लाग्ने । यो विकल्प अहिलेको अवस्थामा प्रचण्डक लागि उत्तम विकल्प हो । माओवादीकै पनि अधिकांश नेताहरुले अलग्गै भेटघाटमा प्रचण्डलाई यही सल्लाह दिएका छन् । स्वयम् प्रचण्ड पनि एमालेसँग मिलेर पार्टी एकीकरण गर्ने र ठूलो पार्टीको अध्यक्ष बन्ने भनेरै नेकपा बनाउन लागेको त्यसबेलाको परिघटनाले देखाएको छ ।

ओलीको एक विकल्प :

प्रचण्डले क्रान्तिकारी ध्वाँश दिएर ओलीलाई दुबै पदबाट राजीनामा दिन जतिसुकै दबाब, धम्की, आग्रह, अनुरोध आदि गरे पनि ओलीले राजीनामा दिँदैनन् । उनले राजीनामा दिनुपर्ने अहिले कारण र अवस्था पनि देखिँदैन । त्यसैले उनका लागि राजीनामा नदिनु नै एकमात्र उत्तम विकल्प हो ।

यस विकल्पलाई बनाई र बचाई राख्न ओलीले प्रचण्ड पक्षका विरुद्ध आफ्ना अरिंगालहरुलाई बेलाबखत उफार्दै लाने र संसदमा आफ्नो पक्ष कमजोर हुन नदिन निगरानी राखी राख्ने हो । जुन काम उनले गर्दै आएका छन् । अहिले संसदीय दलमा पूर्व एमालेका मात्र होइन पूर्व माओवादीकै सांसद पनि ओलीको विकल्प खोज्ने पक्षमा छैनन् ।

र, अन्त्यमा :

प्रचण्डलाई पछि हट्दा लुर नभएको नेता भन्छन् कि भन्ने डर छ । तर, त्यसलाई निस्तेज पार्ने काम उनीहरुले शुरु गरिसकेका छन् । अस्ती एउटा भेला गरेर करिब सय जति पत्रकारलाई बोलाएर हाम्रो ओली पक्षसँगको लडाई विधि र पद्धतिको लागि हो, पदका लागि होइन भनेर स्पष्टिकरण दिएर देखाएका छन् । त्यसलाई भाषा र शैली मिलाएर प्रबक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक पनि गरेका छन् ।

त्यसैले अब प्रचण्डले दायाँबायाँ नगरी महाधिवेशनतिर ध्यान केन्द्रित गर्नतिर लाग्नुपर्छ भने ओलीले पनि प्रचण्डको लाज बचाइदिन आत्मालोचना गर्दै पार्टीलाई पद्धति र विधिबाटै चलाएकै छु र अब पनि चलाउने नै हो भनेर सहमतिको एक बुँदा भनेर सार्वजनिक गरी अहिलेको विवादको पटाक्षेप गरी देशको समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here