प्रदेश–१ मा संक्रमित र मृत्तक बढेको–बढ्यै, बीपीका डेढ दर्जन डाक्टर ओपिडी बन्द गरेर हिंडे काठमाडौं

२८ श्रावण २०७७, बुधबार मा प्रकाशित

काठमाडौं ।

प्रदेश–१ मा समुदायस्तरमै कोरोना फैलिएका कारण संक्रमित र मृत्यु दर बढिरहेको छ । प्रदेश–१ मा पछिल्लो समय दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित थपिंदैछन् । बुधबार मात्र प्रदेश–१ मा ४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित संख्या थपिने क्रम जारी रहँदा मृतकको संख्या पनि प्रदेशमा बढिरहेको छ । बुधबार मोरङको बुढीगंगा–२ का कोरोना संक्रमित पुरुषको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृत्यु हुनेहरु सबै मोरङका हुन् । यस्तै प्रदेश बाहिरका दुई जनाको बीपी प्रतिष्ठानमा मृत्यु भइसकेको छ ।

झापा मेचीनगरको आम्दा अस्पतालमै कार्यरत चिकित्सकमा संक्रमण पुष्टि भएपछि अस्पताल नै शिल गरिएको छ । मेचीनगरले एक साता लकडाउन गर्ने निर्णय भएको छ । यसअघि नै विराटनगर, इटहरी, धरान लगायत प्रदेशका मुख्य शहरमा लकडाउन भइसकेको छ ।

बुधबार थप भएकासहित प्रदेश–१ मा कोरोना संक्रमितको संख्या एक हजार ६११ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा मोरङमा २४, सुनसरीमा १४, झापामा ९ र प्रदेश बाहिर ठेगाना भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशमा अहिलेसम्म कोरोनामुक्त भएर एक हजार ११८ जना डिस्चार्ज भएका छन् ।

‘ओपीडी’ बन्द गरेर डेढ दर्जन चिकित्सकरु हिडे काठमाडौं

प्रदेश–१ मा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेका बेला प्रदेशकै सबैभन्दा ठूलो अस्पताल धरानस्थित विपी कोइराला स्वाथ्इ विज्ञान प्रतिष्ठानका डेढ दर्जन विशेषज्ञ चिकित्सकहरु काठमाडौं हिंडेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ‘ओपीडी’ सेवा बन्द गरेर चिकित्सकहरु काठमाडौं हिंकेपछि हजारौं बिरामी उपचार गराउनबाट वञ्चित भएका छन् ।

सरकारले सभा, सम्मेलन र भिडभाड हुने गरी कुनै पनि कार्यक्रम गर्न प्रतिबन्ध लगाएको भए पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले साउन ३० गते सिनेट बैठक बोलाएको छ । सिनेट बैठकमा भाग लिनका लागि भन्दै प्रतिष्ठानको ओपीडी सेवा बन्द गरेर प्रतिष्ठानका डेढ दर्जन चिकित्सकहरु काठमाडौं गएका हुन् ।

प्रतिष्ठानका पदाधिकारीहरु उपकुलपति डा। ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा। गुरु खनाल, रजिष्ट्रार डा। मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहलगायतका डेढ दर्जन चिकित्सक काठमाडौं गएका हुन् ।

चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेर काठमाडौं हिंडेपछि प्रतिष्ठान आउने हजारौं सर्वसाधारणको उपचार सेवा प्रभावित भएको छ । प्रतिष्ठानका पदाधिकारीसहित दर्जनौं चिकित्सकहरुले कोरोना संक्रमित र अन्य बिरामीको उपचार गर्न छाडेर जानु गैरजिम्मेवारीपन देखाएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् ।

सिनेट बैठक बोलाएपछि कोरोनाको महामारी जारी रहेकाले तत्काल स्थगित गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई लिखित आग्रह गरे पनि अटेर गरिएको मेयर राई बताउँछन् । हाल बीपी प्रतिष्ठानमा १०० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकहरु छन् ।

अस्पतालले आकस्मिक सेवा भने दिइरहेको छ । प्रतिष्ठानले कोरोना संक्रमितलाई भर्ना नगरेका कारण धरानका १८ संक्रमितहरु घरमै छन् । यसले समुदायमा अझ संक्रमण फैलाउने त्रास बढेको छ ।-नयाँपेजबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here