सुस्तमनस्थिति सरोकार समाज नेपालको बालआवास गृह निर्माणमा आर्थिक अभाव

२९ श्रावण २०७७, बिहीबार मा प्रकाशित

तुलसीप्रसाद निरौला / विर्तामोड ।

झापाको कनकाई –१ जमुनवारीस्थित सुस्त मनस्थिति सरोकार समाज नेपालको बालआवास गृह निर्माणमा आर्थिक अभाव भएको छ ।

स्थानीय शिक्षासेवी तथा समाजसेवी मातृकाप्रसाद सिटौलाले निःशुल्क उपलब्ध गराएको एक कठ्ठा जमिनमा गत फागुन १४ गतेदेखि निर्माण शुरु गरिएको बालआवास गृहको निर्माणमा आर्थिक अभाव भएपछि निर्माण कार्य समेत रोकिएको छ ।

७५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको बालआवास गृहको दुई तले पक्की भवनका लागि १ नंं. प्रदेश सरकारवाट २० लाख रुपैंयाँ उपलव्ध भएको र त्यही रकमले हालसम्म भवनको केही प्रतिशत मात्र निर्माण गरिएको सुस्त मनस्थिति सरोकार समाज नेपालकी अध्यक्ष भागिरथा चापागाईँ पोखरेलले वताइन् ।

उनले कोरोना भाइरसको संक्रमणबाट वच्न सरकारले जारी गरेको लकडाउनका कारण रकम संकलन हुन नसक्दा भवन निर्माणमा आर्थिक अभाव भएको वताइन् । लकडाउनका कारण विभिन्न निकायमा प्रस्ताव समेत पेश गर्न नसकेकोले रकम संकलन हुन नसकेपछि आर्थिक अभावमा भवन निर्माण कार्य रोकिएको उनले जानकारी दिइन् ।

कतिपय स्थानीय निकायमा रकम लिन वोलाएपनि लकडाउनले गर्दा जान नसकेकोले आर्थिक समस्या भएको उनले वताइन् । २०७१ सालदेखि कनकाई नगरपालिकाको कार्यालय नजिकै घर भाडामा लिएर बौद्धिक अपाङ्गता भएका १६ जना वालवालिकाको संरक्षण गर्दै आएको वताउँदै उनले बौद्धिक अपाङ्गता भएका वालवालिकालाई आफ्नै घरमा वसेको अनुभूत दिलाउन र उनीहरुलाई अभिभावकत्वसहित स्थायीत्व दिन बालआवास गृह निर्माण गरिएको उनले वताइन् ।

उनले सुस्त मनस्थिति सरोकार समाज नेपालको बालआवास गृहमा रहेका बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुको उमेर पनि वढ्दै गएको र सुरक्षाको दृष्टिकोणले पनि उनीहरुलाई एकैठाउँमा राख्न नसकिने भएकाले भवन निर्माण गर्नुपरेको वताइन् ।

लकडाउनका कारण आर्थिक अभाव भएर बालआवास गृह निर्माण रोकिएपनि सहज वातावरण भएपछि बालआवास गृह निर्माण सुचारु गरिने उनले वताइन् । अत्यन्तै न्यून आय भएका वा अभिभावक नै नभएर वेवारिसे अवस्थाका बौद्धिक अपाङ्गता भएका १६ जना वालवालिकाको सुस्त मनस्थिति सरोकार समाज नेपालले २०७१ सालदेखि संरक्षण गर्दै आएको अध्यक्ष पोखरेलले बताइन् । उनले बौद्धिक अपाङ्गता भएका वालवालिकाको स्याहारसुसारका लागि पवित्रा ओझालाई र बौद्धिक अपाङ्गता भएका वालवालिकालाई पढाउन वन्दना निरौलालाई जिम्मेवारी दिइएको बताइन् ।

वेवारिसे अवस्थामा रहेका अभिभावकविहीन बौद्धिक अपाङ्गता भएका छ जना वालवालिकाको जन्मदर्ता गरिएको र अभिभावक भेटिएका चार जनालाई अभिभावकलाई जिम्मा लगाएको उनले बताइन् ।

२०६८ सालमा स्थापना गरिएको संस्थामा झापा, इलाम , मोरङ , सुनसरी जिल्लाका १६ जना बौद्धिक अपाङ्गता भएका बालबालिकाको स्याहारसुसार गरिँदै आएको बताउँदै उनले घरभाडा मात्रै मासिक १८ हजार रुपैयाँ, सहयोगी र कर्मचारीका लागि मासिक ८ ÷८ हजार, बालबालिकालाई दुध÷खाद्यान्नका लागि मासिक १२ हजार, लत्ताकपडा (ओड्ने÷ओछ्याउनेसहित)मा १० हजार रुपैयाँ मासिक खर्च रहेको जानकारी दिइन् ।

कनकाई नगरपालिकाले वजेट छुट्याएपनि त्यो रकम पर्याप्त नभएको वताउँदै साथीभाई , दातालगायतबाट खर्च जुटाउँदै आएको उनले वताइन् । वेवारिसे अवस्थामा रहेका , विपन्न , आमावुवाले छाडेर गएका बौद्धिक अपाङ्गता भएका वालवालिकालाई प्रहरी , महिला विकास कार्यालयका प्रतिनिधीलगायतले आफ्नो संस्थामा ल्याउने गरेको उनले बताइन् । ती बौद्धिक अपाङ्गता भएका वालवालिकालाई भरणपोषण गर्न समेत वजेट अभाव भएको उनले वताइन् ।

पछिल्लो समय जन्मदिन , विवाह वर्षगाठलगायतका विभिन्न कार्यहरु समेत सुस्त मनस्थिति सरोकार समाज नेपालमा रहेका बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुसंग मनाएर उनीहरुलाई खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री सहयोग गर्दै आएकाले त्यसले भरथेग सहयोग पुग्दै आएको अध्यक्ष पोखरेलले जानकारी दिइन् । त्यहाँको अवस्था देखेर पछिल्लो पटक विर्तामोडबाट साथीहरु लिएर सहयोग गर्न पुगेकी दुर्गा ढकालले बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुको पीडादायी अवस्था देखेर साथीहरुलाई भनेर सहयोग गर्न आएको वताइन् ।

यसअघि स्वामी श्री हरिदासजीले प्रथम प्रवचन शुरु गरेको दिनको अवसर पारेर राधा माधव समिति नेपाल विर्तामोड शाखाबाट बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई दैनिक उपभोग्य सामग्री प्रदान गर्ने कार्यक्रममा आएकी ढकालले त्यहाँको बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुको अवस्थाले आफूलाई पीडावोध भएकाले साथीहरु लिएर पुनः सहयोग गर्न आएको बताइन् ।

राधा माधव समिति नेपालकी केन्द्रीय सदस्य अर्चना थापा, राधा माधव समिति नेपालकी विर्तामोड शाखाकी सदस्यहरु दुर्गा ढकाल, रत्ना वुढाथोकी दाहालले व्यक्तिगत रुपमा बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई खाद्यान्न , लत्ताकपडा , विस्कुटलगायतका सामग्री प्रदान गरेका थिए । त्यस्तै एलिना ढकाल , मञ्जु प्याकुरेललगायतले पनि खाद्यान्न , लत्ताकपडा , विस्कुटलगायतका सामग्री बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई प्रदान गरेका थिए ।

सुस्त मनस्थिति सरोकार समाज नेपालकी अध्यक्ष भागिरथा चापागाईँ पोखरेलले उनीहरुलाई सहयोगका लागि धन्यवाद दिँदै बालआवास गृह निर्माणमा सहयोगको पहल गरिदिन आग्रह समेत गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here