प्रदेश १ मा कोरोनाको जोखिम झन बढ्दो, परीक्षणको दायरा बढेन,मुख्यमन्त्री ‘उद्घाटन’ मै व्यस्त

0
1264

बिर्तामोड।

प्रदेश १मा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । हालसम्म प्रदेश १का १४ जिल्लामा एक हजार ६ सय २६ जना कोरोना भाइरसको संक्रमित छन् ।

कोरोना भाइरस समुदायमा फैलिसकेको स्वयम् प्रदेश १का मुख्यमन्त्री शेरधन राईले बजेट अधिवेशन अन्त्यको सम्वोधनमा बताएका थिए । उनले गत चैत २१ गते विराटनगरमा कोभिड–१९ अस्पतालको उद्घाटन गर्दै प्रदेश १ मा कोरोना भाइरसका कारण विना उपचार कसैले ज्यान गुमाउनु नपर्ने बताएका थिए । तर, प्रदेश १मा कोरोना संक्रमणकै कारण हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् । संघीय सरकारले २५ जना भन्दा बढी भेला नहुन तथा भीडभाड हुने कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न अनुरोध गरे पनि संघीय सरकारको अनुरोधलाई प्रदेशका मुख्यमन्त्रीले नै खिल्ली उडाएका छन् ।

विहीवार झापाको अर्जुनधारामा दलवलसहित आइपुगेका मुख्यमन्त्री राईले कोरोना रोकथामका लागि सन्देश फैलाउन भन्दा ९ वटा कार्यक्रममा सहभागी भएर उद्घाटन र अनावरणमै दिन बिताए ।

प्रदेश १मा बनाइएका कोरोना उपचार केन्द्रमा शैय्या अभावका कारण पत्रकारसहित केही सर्वसाधारण कोरोना संक्रमण भएपछि होम क्वारेन्टाइनमा बस्न बाध्य छन् । संक्रमितलाई छुट्टै अस्पतालमा लगेर उपचार गराउनु राज्यको दायित्व भए पनि मुख्यमन्त्री राईले हाल स्वास्थ्यमा देखिएको संकटमा भन्दा उद्घाटन र भाषणमै ध्यान केन्द्रीत गर्दा प्रदेश १ मा कोरोना संक्रमितले उपयुक्त उपचार पाउँछन् भन्नेमा शंका उब्जिएको स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाइ छ ।

समुदायमा कोरोना फैलिएको भन्दै झापासहित प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहले लकडाउन गरेर भीडभाड कम गर्ने उपाय अपनाइरहेको अवस्थामा मुख्यमन्त्री राई भने भीडभाडमा सहभागी हुँदै भाषण सुनाउन विहीवार व्यस्त देखिए । गृह मन्त्रालयले भीडभाड नगर्न र अनिवार्य मास्क लगाउन निर्देशन दिएपनि कार्यक्रममा सहभागी केही व्यक्तिले भने न मास्क न त भौतिक दूरी नै कायम गरेका थिए । कतिपय त च्युँडोमा मास्क लगाएर असुरक्षित तरिकाले कार्यक्रममा सहभागी देखिन्थे ।
कोरोनाको त्राही–त्राही छ– एक स्थानीयले भने– मुख्यमन्त्री आफैं हुलका हुल मानिस लिएर रिवन काट्न व्यस्त छन्, यसले कोरोना रोकिने होइन समाजमा कोरोना फैलने डर भयो । कोरोना संक्रमण फैलँदै गएपछि अन्य रोगका विरामीलाई समस्या हुन थालेको स्थानीयको भनाइ छ । केही दिन अघि झापाका निजी अस्पतालहरुले उपचार नगर्दा दुई जनाले ज्यान गुमाएका छन् । अस्पतालसँग सहकार्य गरेर विरामीको उपचारमा ध्यान केन्द्रीत गर्नुपर्ने यो वेला प्रदेश सरकार भने उद्घाटन र शिलान्यासमा व्यस्त भएको भन्दै सर्वसाधारणले मुख्यमन्त्री राईको चर्काे आलोचना गरेका छन् ।

अर्जुनधाराका नौ कार्यक्रममा के–के गरे मुख्यमन्त्री राईले

प्रदेश नंं.१का मुख्यमन्त्री शेरधन राई अनुगमन तथा भ्रमणको क्रममा बिहीबार झापाको अर्जुनधारा नगरपालिकामा आयोजना गरिएको विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

कालोपत्रे सडकको उद्घाटनसँगै दूग्ध संकलन तथा चिस्यान केन्द्रको उद्घाटन, भगवान कृष्ण र अर्जुनको प्रतिमा अनावरण, पार्टी कार्यकर्ताहरुसँगै नगरका उद्योगी, व्यापारी र सहकारीकर्मीहरुसँग भेटघाटलगायतका कार्यक्रममा मुख्यमन्त्री राई सहभागी भएका हुन् ।

मुख्यमन्त्री राईले मुख्यमन्त्री ग्रामीण सडक योजना अन्तर्गत अर्जुनधारा–९स्थित माता मन्दिर–कृष्ण प्रणामी मन्दिर हुँदै छिमेकी पालिका बुद्धशान्ति–२ जयपुर जोडिने कालोपत्रे सडकको उद्घाटन गरेका थिए । गत आर्थिक वर्षमा प्रदेश सरकारको ७३ लाखसहित जम्मा ८४ लाख १८ हजार सात सय ६७ रुपैयाँको लागतमा निर्मित उक्त सडकको लम्बाइ १५ सय मिटर र चौडाइ छ मिटर रहेको स्थानीय योगेन्द्र पौड्यालले जानकारी दिए ।

त्यसैगरी अर्जुनधारा–८स्थित शनिश्चरे बजारमा पर्यटकको आकर्षणको लागि राखिएको महाभारतकालीन झल्को दिने भगवान कृष्ण र अर्जुनको प्रतिमाको मुख्यमन्त्री राईले अनावरण गरेका थिए । त्यस्तै अर्जुनधारा–२स्थित बेलटारमा नगर पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाको २० लाख र स्थानीय सञ्चालक खुदुनाबारी कृषक समूहको पाँच लाख गरी जम्मा २५ लाखको लगानीमा निर्माण भएको खुदुनाबारी दूग्ध संकलन तथा चिस्यान केन्द्रको उनले उद्घाटन गरेका थिए ।

यता अर्जुनधारा–१स्थित सिस्नेमा नगरपालिकाको आठ लाख, वडा समिति १को दुई लाख, हेफर इन्टरनेशनल–अभियान नेपालको तीन लाख ५० हजार र सञ्चालक हाम्रो स्वावलम्वी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको पाँच लाख गरी जम्मा १८ लाख ५० हजारमा निर्माण भएको दूग्ध संकलन तथा चिस्यान केन्द्रको प्रदेश सरकार कृषि राज्यमन्त्री राम रानाले उद्घाटन गरेका थिए । दुवै चिस्यान केन्द्रको क्षमता एक हजार लिटर रहेको नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राईले जानकारी दिए ।

त्यसक्रममा अर्जुनधारा–३स्थित तराई मधेश सम्वृद्धि आवास कार्यक्रम अन्तर्गत निर्माण भएको सामुहिक आवासमा सञ्चालन हुने क्वारेन्टाइन स्थल र अर्जुनधारा–२स्थित प्रस्तावित अर्जुनधारा औद्योगिक ग्राम क्षेत्रको पनि अनुगमन तथा निरीक्षण गरिएको थियो ।

अनुगमन तथा भ्रमण टोलीमा मुख्यमन्त्री राई र कृषि राज्यमन्त्री रानासँगै संघीय सांसद् एवम् अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेल, संविधानसभा सदस्य प्रेमबहादुर गिरी, प्रदेश सांसद् वृख प्रधान, नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठक, नगर इञ्चार्ज नारद तामाङ, वडाध्यक्ष बलदेवसिंह गोम्देनलगायतको सहभागिता रहेको थियो । नगर प्रमुखका सचिवालय अनुसार सोही दिन नगर पार्टीको कार्यालयमा कार्यकर्ता र नगरपालिकाको सभाहलमा स्थानीय उद्योगी, व्यापारी र सहकारीकर्मीहरुसँग मुख्यमन्त्री राईले भेटघाट गरेका थिए ।

पत्रकारमाझ मुख्यमन्त्री राई

साझा दुश्मनकोरुपमा देखापरेको कोरोनासँग लड्न सबै जुट्नुपर्ने प्रदेश नं.१का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
अनुगमन तथा भ्रमण गर्न अघि नगरपालिकाको बैठक कक्षमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले सो कुरा बताएका हुन् । संघ, प्रदेश, स्थानीय तहको समन्वयमा सबैको साझा प्रयासबाट मात्र कोरोनालाई परास्त गर्न सकिन्छ– उनले भने ।

उनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रदेश सरकारले चरणबद्ध रुपमा कार्ययोजना निर्माण गरी कार्य गरिरहेको, होल्डिङ सेन्टरको निर्माण गरेको, सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको, हालसम्म ५० हजार बढीको पीसीआर परीक्षण गरेको जानकारी दिए ।

त्यस्तै लकडाउनको अन्त्यसँगै समुदायस्तरमा कोरोनाको जोखिम बढेको हुँदा आवश्यक ल्याबको संख्यामा वृद्धि गर्ने, थप आइसोलेसन केन्द्र निर्माण गर्ने, आवश्यकता अनुसार निजी अस्पताललाई पनि आइसोलेसन सञ्चालन गर्न दिने नीति प्रदेश सरकारले लिएको उनले बताए ।

यता अर्को प्रसङ्गमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा हाल देखिएको विवाद समाधान गर्न पार्टीका नेताहरु गम्भीर भई लागेको उनले बताए । मुलुकले चाहेको स्थिरता, शान्ति, सुशासन, विकास र समृद्धिको लागि दुई कम्युनिष्ट पार्टीको गठबन्धनबाट बनेको नेकपाको एकता चाँडै हुने महाधिवेशनबाट एकताको प्रक्रियामा जाने तर नफुट्ने उनले दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here