संकटलाई अनुभूत गरौं

३० श्रावण २०७७, शुक्रबार १४:१४ मा प्रकाशित
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

सम्पादकीय

Advertisement

बुधबार एकै दिन दश जनाको ज्यान गएपछि कोरोना संक्रमणको अवस्था भयावह हुन थालेको प्रष्ट भएको छ । अहिलेको अवस्था अनुसार प्रतिघण्टा चौध जना संक्रमित थपिने क्रम शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बुधबार चार सय चौरासी जनामा संक्रमण पुष्टि भएको छ भने एकसाताको अवधिमा तीन हजार बयालीस जना संक्रमित भएका छन् । यसैबीच कोरोनाको पीसीआर परीक्षण दर पनि बढाइएको छ र परीक्षण बढेसँगै संक्रमित पनि थपिएका छन् । कोरोना भाइरसले उत्पन्न गरेको त्रासको समय पनि सात महिना भइसकेको छ । समृद्ध राष्ट्रहरुलाई समेत भौतिक, आर्थिक र मानवीयरुपमा क्षत–विक्षत बनाएको यो संकटको अन्त्य कहिले हुन्छ कसैले भन्न सक्ने अवस्था छैन ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीबाट जोगिन जनस्वास्थ्यको मापदण्ड बनाएको छ । त्यसको अनुशरणले मात्र यो महामारीबाट जोगिन सकिने विश्वास अनुसार धेरै देशहरुले त्यसलाई अनुशरण गरेका छन् । कोरोनाजन्य महामारीबाट जोगिन मास्कको अनिवार्य र उचित प्रयोग, भौतिक दूरी कार्यक्रम गर्ने, साबुन–पानीले हात धुने, कुनै वस्तु छोए सेनिटाइजर प्रयोग गर्नु, हातले नाक, मुख, आँखा नछुनु जनस्वास्थ्यका मापदण्ड हुन् । यो सँगै आवश्यकता बिना घर बाहिर ननिस्कन अनुरोध गरिएको छ । तर, संक्रमणको धेरैपछि नेपाल प्रवेश गरेको कोरोना भाइरसको आतंकलाई नेपाली जनताले अनुभूत गर्न सकेनन् । अहिले संक्रमणको दर उच्च भइरहँदा पनि आम जनताले लापरवाही गरेको सडकमा देखिएको भीडले बताउँछ ।

साधन सम्पन्न र समृद्ध भनिने देशहरुले पनि कोरोना भाइरसका अघि ‘विचरा’ भई घुँडा टेकेको अवस्था छ । यस्तोमा साधन, स्रोत, स्वास्थ्य सेवा–सुविधा र आर्थिक स्रोतमा कमजोर देशका बासिन्दा हामी अझै सचेत भएनौं, सावधानी अपनाएनौं र जनस्वास्थ्यका मापदण्ड र सरकारको निर्देशनको पालना गरेनौं भने अत्यन्त कष्टकर भविष्य र दुर्दिन भोग्न तयार हुनुपर्छ । अहिले नै आइसोलेसन सेन्टर भरिसके, अस्पतालका शैय्या खाली छैनन्, उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मी मानसिकरुपले कमजोर हुन थालेका छन् । धेरै स्वास्थ्यकर्मी सम्पर्कमा रहँदा संक्रमित भएका छन्, आम जनताको सुरक्षा गर्ने प्रहरी आफैं संक्रमणमा परिसकेका छन् । यस्तो अवस्थामा सरकारका तर्फबाट अपेक्षा गर्नुभन्दा आफ्नो सुरक्षा आफैं गर्नुको विकल्प छैन । न हामीसँग यथेस्ट परीक्षण सामग्री छ न त पुग्ने उपचार स्रोत र साधन । थोपा बटुलेर संकट मोचनमा सहयोगी हुन खोज्नेहरु हतोत्साहित बनाइने नियतिले जनताको पक्षमा बोली दिने नपाइन सक्छ । त्यसैले संयमित, धैर्य, सावधानी र सजगता कै पछि लागौं, नत्र हाम्रो भविष्य असुरक्षित छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here