कनकाईको पीसीआर ल्याव दुईदिनभित्र अनुमतिसहित सञ्चालनमा : मुख्यमन्त्री राई

३० श्रावण २०७७, शुक्रबार मा प्रकाशित

तुलसीप्रसाद निरौला /बिर्तामोड ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा स्थापित पीसीआर ल्याव सञ्चालनका लागि दुई दिनभित्र अनुमति दिलाउने प्रतिवद्धता जनाएका छन् ।

‘एकका लागि एक’ अभियानको अगुवाईमा कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको ल्यावको शुक्रवार निरीक्षण गर्दै मुख्यमन्त्री राईले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘जनस्तरबाट स्थापित यो ल्यावलाई एक दुई दिनभित्रै अनुमति दिएर सञ्चालनको वातावरण बनाउँछु’ मुख्यमन्त्री राईले भने – ‘यो हाम्रो ल्याव हो, यसलाई तत्काल सञ्चालन गरिने छ ।’

अन्य स्थानको ल्याव भन्दा कनकाईको पीसीआर ल्याव निक्कै राम्रो व्यवस्थापनका साथ स्थापित भएको मुख्यमन्त्री राईले बताए । ‘ल्यावको अनुमति कहाँ पुगेको छ ?,पत्र कहाँ अड्किएको छ ? विराटनगर पुग्ने वित्तिकै आजै म सबैभन्दा पहिला त्यसको खोजी गरेर मात्रै आवश्यक काममा लाग्ने छु ’ – मुख्यमन्त्री राईले भने ।

एकका लागि एक अभियानले कोभिड – १९ को संकटमा सरकारलाई सघाउन महत्वपूर्ण काम गरेको भन्दै मुख्यमन्त्री राईले प्रशंसा गरेका थिए । ‘अभियानका संयोजक, सदस्यहरु, सहयोगदाता सबैलाई यस्तो प्रशंसनीय कामका लागि म प्रदेश सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु । ’ – मुख्यमन्त्री राईले भने । विहीवार झापा अर्जुनधाराको विभिन्न कार्यक्रमका लागि आएका मुख्यमन्त्री राई शुक्रवार ल्यावको निरीक्षण र छलफलपछि विराटनगर फर्किएका छन् ।

‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले सरकार – समुदाय–सहकारी –निजी क्षेत्रको साझेदारीमा स्थापित ल्याव सञ्चालनमा भइरहेको ढिलाईप्रति मुख्यमन्त्री राईको ध्यानाकर्षण गराएका थिए । नागरिकले सरकारलाई सहयोग पुर्याउन गरेको योगदानको राज्यले मूल्याङकन गर्नुपर्नेमा जोड दिंदै अभियानका संयोजक गिरीले कोभिड – १९ को वढ्दो संक्रमणको यो समयमा पनि प्रक्रियाका कारण ल्याव सञ्चालन हुन ढिलाइ गरिनु दुःखद् भएको वताए ।

त्यस्तै प्रतिनिधि सभा सदस्य तथा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले ल्याब यथाशिघ्र सञ्चालन हुनुपर्नेमा जोड दिइन् । जिल्ला समन्वय समिति झापाका प्रमुख तथा मेची अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेल विश्वकर्माले सरकारले अनुमति दिन ढिलाई गरेको भन्दै मेची अस्पतालको मातहतमा कनकाईको ल्याब छिट्टै सञ्चालन आउने बताए ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विपन्न नागरिकको समेत रकम सहयोगबाट स्थापित कनकाईको ल्याब जतिसक्दो चाँडो सञ्चालनका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

छलफलमा प्रदेश–१का कृषि तथा सहकारी राज्यमन्त्री राम राना, संविधानसभा सदस्य नरेश खरेल, प्रदेश सभा सदस्य बृख प्रधान, अर्जुनधाराका मेयर हरिकुमार राना, वडाध्यक्ष बलदेव गोम्देन, अभियनका सहसंयोजक विनोद वस्नेत, अभियानका सदस्यहरु लोकराज ढकाल ,कुमार भट्टराई, कुमारमणी पोखरेल ,लिला चिमरिया , शिव कँडेल ,मिजाश पोखरेल , गजेन्द्र पौडेल , सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतकोे सहभागिता रहेको थियो । छलफलको सहजीकरण पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए । छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here