विपद् व्यवस्थापन प्रत्येक नागरिकको प्राथमिकतामा पर्नुपर्छ

0
964

नेत्रप्रसाद निरौला,

श्रावण २९ गते बिहीबार बिहान बागमति प्रदेशको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– २, लिदीमा ठूलो पहिरो गयो जसमा तीन दर्जनभन्दा बढीले (हराईरहेकाहरु गरी) ज्यान गुमाए भने अरु थुप्रै घाइतेहरु अस्पतालमा उपचाररत् छन् । सम्भवतया यस वर्षको हालसम्मको सबैभन्दा भयंकर जल उत्पन्न विपद् हो यो । यही बर्ष यो भन्दा अगाडि पनि यस्ता जल उत्पन्न थुप्रै विपद्हरुका कारण देशका धेरै नागरिकहरुले ज्यान गुमाईसकेको समाचार प्रसस्त अखबार एवम् विद्युतीय सञ्चारहरुमा आइरहेका छन् । श्रावण १६ गते कैलाली जिल्लाको भजनी नगरपालिकाका दुई सय घरपरिवार बाढीका कारण विस्थापित भए र विभिन्न विद्यालय तथा सार्वजनिक स्थानहरुमा पालमुनि कष्टकर जीवन बिताउनु परिरहेको छ ।

त्यसैगरी असार २४ गते, बाह्रबिसे नपा अन्तरगतका खागदल, जम्बु, बारकुटे आदि ठाउँहरुमा भोटेकोशी नदीको बाढीले दुई दर्जनभन्दा बढी घरहरु बगाउँदा २२ जनाभन्दा बढीले ज्यान गुमाए । त्यसैगरी जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४, सार्कीगाउँमा गएको पहिरोले १९ जनाको ज्यान लियो भने तीन सय घरपरिवार विस्थापित भए । त्यस्तै म्याग्दी जिल्लाको मालिका गाउँपालिकामा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या २७ जना र कास्की जिल्लाको सराङकोट गाउँपालिकाको हेम्जा, मेलबोटे क्षेत्रमा गएको पहिरोमा परी १३ जनाले ज्यान गुमाएको देखिन्छ । साथै दोलखा जिल्लाको गौरीशंकर नपाको सुरी खोलाको बाढीले १२ घर डुबवानमा पर्दा दुईजनाले ज्यान गुमाउनु प¥यो । सारांशमा भन्नुपर्दा मनसुन शुरु भएयता देशका विभिन्न ठाउँमा बाढी–पहिरो, डुवान जस्ता पानीबाट सिर्जित विपद्, जसलाई जल उत्पन्न प्रकोप भनिन्छ–बाढीका कारणले झण्डै दुई सय ५० देशका नागरिकले ज्यान गुमाईसकेका छन् । थुप्रै व्यक्तिहरु घाइते भएका छन्, सयौं घरपरिवार विस्थापित भएर यो प्रतिकूल मौसममा कष्टकर जीवन बिताइरहेका छन् । यस्ता बाढी–पहिरो, डुबान जस्ता जल उत्पन्न विपद् देशका अन्य विभिन्न क्षेत्रमा सयौंको संख्यामा भइरहेका छन् । कतिपय क्षेत्रमा जोखिमपूर्ण अवस्थामा जीवन बिताउन बाध्य छन् नागरिक । (यहाँ प्रस्तुत गरिएको तथ्याङ्क दैनिक पत्र पत्रिकाबाट लिइएको हुनाले र हालसम्म सम्पूर्ण तथ्याङ्क पूर्णरुपले नआइसकेको परीपेक्षमा यहाँ उल्लेखित तथ्याङ्क फरक पर्न सक्ने प्रति म सजग छु, र मेरो यो लेखको उद्देश्य तथ्याङ्क नभई विपद् व्यवस्थापन भएको आदरणीय पाठक वर्गमा अनुरोध गर्दछु ।)

वर्षैपिच्छे मनसुनी समयको बेला देशका पहाडी क्षेत्रमा पहिरो र तल्ला होचो तराई र भित्रि मधेश तथा तटीय क्षेत्रमा बाढी र डुबानले सताउने गर्छ र यो क्रम बढ्दो छ, सायद जलवायु परिवर्तनको असरले पनि नेपाललाई छुन थालिसकेको छ । विश्वमा नेपाल विपद्को दृष्टिकोणले संवेदनशील क्षेत्रभित्र पर्दछ । बाढी–पहिरा,े डुवान, आगलागी, शीतलहर जस्ता विपद्का कारणले वर्षेनि ठूलो संख्यामा मानिसहरुको हताहत हुनु सामान्य भइसकेको छ । विभिन्न विपद् व्यवस्थापनमा संलग्न संघ–सस्थाको एक तथ्याङ्क अनुसार नेपालमा बर्षैपिच्छे विभिन्न विपद्का कारण एक हजारभन्दा बढी मानिसको ज्यान जाने गर्दछ । (यस तथ्याङ्कमा भूकम्प तथा तत्काल देखिने सरुवा रोगहरुको संख्या जोडिएको छैन, भूकम्पले धेरै ठूलो क्षति पु¥याउन सक्छ ।) यस्तै राज्यले वर्षेनि विपद्का कारण २० अर्बभन्दा बढीको क्षति व्यहोर्ने गर्दछ । तथापि हाम्रो देशमा विपद् व्यवस्थापनलाई प्राथमिकताका साथ हेरिने गरिँदैन ।

तथ्याङ्कलाई हेर्ने हो भने विश्वको एक सय ९८ देशमा गरिएको अध्यन अनुसन्धान अनुसार नेपाल वातावरणीय परिवर्तनको असरको दृष्टिकोणले छैटौं (कुनै अध्यनले त अझ चौथो स्थानमा पनि देखाएको पाइन्छ ।), भूकम्पीय जोखिमको दृष्टिकोणले दशौं, जल उत्पन्न विपद्का दृष्टिकोणले ३०औं र समग्र विपद्को दृष्टिकोणबाट १३औं स्थानमा रहेको पाइन्छ ।
विश्व मानचित्रमा नेपाल भौगोलिक रुपले एउटा सानो राष्ट्र भए पनि भौगोलिक विविधताका दृष्टिकोणले हेर्ने हो भने नेपाल एउटा सिंगो विश्व हो । नेपाल समुन्द्र सतहको ६० मिटरको उचाइबाट शुरु हुन्छ र दुई सय किलोमीटर सिधा उत्तर जाने हो भने विश्वको सबैभन्दा उच्च भू–भाग आठ हजार आठ सय ४८ मिटर उचाइको भू–भाग यही राष्ट्रमा पर्दछ । यही भौगालिक विविधताका कारणले यसको हावापानी र वनस्पतिमा पनि ठूलो विविधता पाइन्छ । यो त भयो नेपालको भौगोलिक ९न्भयनचबउजष्अब०ि बनावट, त्यस्तै नेपालको भौगर्भिक ९न्भययिनष्अब०ि बनावट पनि केही विशेष प्रकारको भएको पाइन्छ वैज्ञानिकहरुका अनुसार नेपाल भौगर्भिक ९न्भययिनष्अब०ि रुपले पृथ्वीको सबैभन्दा पछि उत्पत्ति भएको क्षेत्रमा पर्दछ । पृथ्वी उत्पत्ति भएको झण्डै चार सय ५० करोड वर्ष (साढे चार अर्ब) मानिन्छ । तर, नेपालको अस्तित्व एक करोड वर्ष अगाडि मात्र भएको मानिन्छ ।

त्यसैगरी हाम्रो देशको ८५ प्रतिशत भू–भाग हिमाली तथा पहाडी क्षेत्रले ओगटेको छ । माथि उल्लेख गरिए झैं यी भू–भाग पूर्णरुपले कस्सिएर बसिसकेका छैनन्, कलिलै छन् । समयको परिवर्तनसँगै जनसंख्याको पनि बृद्धि हँुदै जाँदा विकास निर्माणको काम स्वाभाविक रुपले बढ्दै जाँदैछ, पहाडि भिरालो भू–भागमा पनि बाटो तथा अन्य निर्माणका काम भइरहेका छन् । यस्ता निर्माणका कामले पनि भूस्खलन तथा पहिरो बढ्न मद्दत गरिरहेको छ भने अर्कोतिर विश्व उष्णिकरण ९न्यिदब िध्बचmष्लन०ले पनि हामीलाई सताउन थालिसकेको आभाष हुँदैछ । एकै ठाउँमा छोटो समयावधिमा ठूलो वर्षा हुने, खण्ड वर्षा हुने, अना वृष्टि हुनेक्रम बृद्धि भइरहेको पाइन्छ । जसले गर्दा देशमा बाढी–पहिरो पहिलेभन्दा बढेको हो भन्ने प्रारम्भिक अनुसन्धानले देखाउन थालेको छ । अझ आउने दिनहरुमा यो अवस्था बृद्धि हुने संकेत हाम्रा देशमा हुन शुरु गरेका बेमौसमी बाढी–पहिरोले संकेत गरिराखेका छन् । साच्चै अब हामीले गाउँ, शहर, तराई, पहाड एकजुट भएर यस्तो प्रतिकूल परिस्थितिसँग लड्नुपर्ने दिन आइसकेको छ । नत्र भने सबै पहाडका ग्रामीण इलाका सखाप भए भने तराई र शहरी क्षेत्रमा बसोबास गर्नेहरुलाई पनि असर पर्दैन भनेर भन्न सकिँदैन । अरुको घर लड्दैमा आफ्नो घर बलियो छ भनी ठान्नु मूर्खता बाहेक अरु केही हँुदैन ।

यसको समाधानका लागि के गर्न सकिन्छ त ? हरेक सचेत नागरिकका मनमा प्रश्न उठ्नु स्वभाविक हो । हो, हामी धेरै गर्न सक्छौं । सर्वप्रथमतः देशका सम्पूर्ण नागरिकहरुले विपद् व्यवस्थापनका बारेमा सचेत हुनैपर्छ र विपद् व्यवस्थापनलाई पहिले प्राथमिकतामा राख्नु जरुरी छ । हामीले विकासका नाममा हुने विनास रोक्न सक्नुपर्छ, सचेत हुनैपर्छ । विशेष गरेर पहाडि क्षेत्रमा हुने भौतिक विकासको मूलधारमा विपद् व्यवस्थापनलाई पनि समाहित गर्नुपर्छ । अब हामीले हाम्रा विभिन्न श्रोतबाट पहिलो पूर्वाधारको रुपमा सोच्ने बाटो खन्ने काम मात्र सोच्नु हुँदैन, बाटो खन्ने काम सोच्ने बित्तिकै अब यसले भविष्यमा पु¥याउन सक्ने असर पनि हाम्रो दिमागमा आउने अवस्थाको सिर्जना हुनुपर्छ । क्षणिक लाभका लागि प्राकृतिक श्रोतको दोहन गरेर समाजमा वर्चश्व राख्न खोज्ने प्रवृत्तिको सदाको लागि अन्त्य गर्न राज्य संयन्त्रसँग सम्बद्ध निकाय, व्यक्तिहरुले देखावटी मात्र नभई तन, मनले निरुत्साहित पार्नुपर्छ अन्यथा भाषण, बोली एकथरी र भित्रीरुपले हुने साँठगाँठले कालान्तरमा देशको भौतिकस्वरुप नै नरहने खत्रा बढिरहेको देखिन्छ । विपद्बाट बच्ने मुख्य उपाय भनेको सचेतना र पूर्व तयारी नै हो । हामी सबैले विपद् व्यवस्थापन चक्रकाबारेमा बुझ्न जरुरी छ । घर परिवार, छर–छिमेक, टोल, गाउँ सम्पूर्ण एक भएर विपद् व्यवस्थापनका बारेमा छलफल र अभ्यास गर्न अब अपरिहार्य छ ।
साच्चै भन्ने हो भने यस्ता प्राकृतिक विपद्ले बढी पीडित हुने भनेका ग्रामीण इलाकामा बस्ने गरीब जनता नै बढी देखिन्छन् । उनीहरु नीति–निर्माण तहसम्म आफ्ना दुःख पु¥याउन सक्षम भइसकेको छैनन् । तर, अब सबै ग्रामीण क्षेत्रमा बस्ने गरीब, किसानहरुले यस्ता विषयमा ध्यान दिनुपर्ने देखिन्छ र राज्यले इमान्दारपूर्वक सघाउनुपर्ने जरुरी छ । प्रत्येक गाउँपालिका तथा नगपालिकाहरुमा विपद् व्यवस्थापन योजना निर्माण गर्न जरुरी छ । अझ भविष्यमा प्रत्येक वडास्तरको योजना निर्माण हुनुपर्दछ । यहाँनेर सम्झनायोग्य कुरा के छ भने हाल धेरै जिल्लाहरुमा जिल्लास्तरीय विपद् व्यवस्थापन तथा प्रतिकार्य योजना निर्माण भएका छन् । तर, यो एउटा गर्नैपर्ने कागजी प्रक्रियाभन्दा माथि उठ्न सकेको छैन । यसले विपद् घटाउन उति सहयोग गरेको छैन भने अर्कोतर्फ एकपटक निर्माण भएका यस्ता योजना लामो समयसम्म थन्किएर बस्नु बाहेक कार्यान्वयनमा आएको पाइँदैन । तर, साच्चै योजना निर्माण गर्ने र यसलाई कार्यान्वयनमा ल्याउने हो भने विपद्बाट धेरै हदसम्म क्षति कम गर्न मद्दत मिल्छ । जस्तो कि विपद् व्यवस्थापन योजना निर्माण गर्दा केही कुरामा ध्यान दिन जरुरी छ ।

आफ्नो क्षेत्रमा भएका वस्तुस्थिति, विगतमा विपद्ले पारेका असरका बारेमा मात्र अध्ययन गर्ने हो भने भविष्यमा आइपर्न सक्ने विपद्का बारेमा थोरै भए पनि अड्कल गर्न सकिन्छ । तर, यसलाई साच्चै मन लगाएर गर्न भने जरुरी छ । किनभने आफू बसोबास गर्दै गरेको क्षेत्रका बारेमा सबै भेला भएर छलफल गर्दा त विगतमा यहाँ यसरी बाढी अथवा पहिरो गएको थियो । अथवा यहाँ यस्तो भएको थियो भन्ने कुराहरु बाहिर आउन सक्छन् । र, यसको कारण पनि थाहा लाग्न सजिलो हुन्छ । जब समस्या पत्ता लाग्छ, समाधान पनि निस्कन सक्छ । साच्चै कुनै जमिन कमजोर नै रहेछ, समस्या ग्रस्त नै छ भन्ने पत्ता लाग्यो भने विभिन्न तर्क–वितर्क गर्नुभन्दा सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्नु नै श्रेयस्कर हो, जसलाई राज्यले पनि सहयोग गर्नुपर्छ । विगतदेखि नै समयको अन्तरालमा कुनै दुर्घटना दोहोरिरहेको छ भने अथवा भविष्यमा हुन सक्ने संकटको आभाष छ भने बेलैमा सतर्कता अपनाउन सकिन्छ । योजना भनेको यही हो । राम्रा कागचमा लेखिएका राम्रा पुस्तक मात्र योजना हुन्छ भन्ने भ्रम त्याग्न जरुरी छ । यदि यस्ता योजना हरेक टोलमा निर्माण हुन सके भने नीति–नियम निर्माण हुने निकायसम्म आवाजविहीनहरुको आवाज बुलन्द हुन सहयोग पुग्नेछ ।

(लेखक न्यूटन्स एजुकेशन एकेडेमि, विनपा–५ का शिक्षक हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here