सम्पादकीय
भाद्रकृष्ण औंशीका दिनमा मनाइने कुशेऔंशी पर्व आज हिन्दूहरुले आ–आफ्ना घरमा नयाँ कुश भित्र्याएर मनाउँदैछन् । वैदिक परम्परामा हिन्दू धर्मावलम्वीहरुले घरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजैका दिन घरमा राखेर पूजा गरिन्छ । ब्राह्मणहरुले शास्त्रोक्त विधिअनुसार कुशको पूजा गरी छेदन गरेर जजमानकहाँ पु¥याउने परम्परा रहेको छ । कुश घरमा राख्नाले परिवारकै कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दूमार्गीहरु कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको स्वरुप मानी पूजाआजा गर्ने गर्छन्, त्यसैले पनि आजको दिनको विशेष महत्व छ ।
कुशेऔंशीका दिन उखेलिएको कुश बाह्रवर्षसम्म प्रयोग गर्न मिल्ने मान्यता रहेको छ । आजकै दिन दिवंगत पितालाई तर्पण, सिदादान र श्राद्ध गर्ने परम्परा छ । जीवित पिताप्रति सम्मानपूर्वक मीठो खाना, वस्त्र अर्पण गरिन्छ । त्यसैले यो दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । पिता नहुनेहरुले आज काठमाडौंको उत्तरपूर्वी भेगस्थित बाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गएर पिताका नाममा तर्पण दिने, श्राद्ध र दान गर्ने प्रचलन छ । यसो गर्नाले पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको छ ।

हिन्दू परम्परामा चार जीवित देवता रहने मान्यता छ । यस अनुसार पहिलो देवताका रुपमा मातालाई मानिन्छ । त्यसपछि पिता, गुरु र अतिथिलाई जीवित देवता मानिएको छ । वैदिक संस्कृतिले यी चारै देवताको महत्वलाई सम्मान गर्दै मानव जातिलाई संस्कारित हुन निर्देश गरेको छ । यही निर्देशभित्र पितृ देवो भवः रहेको छ र जसको निर्देश, संरक्षण र अभिभावकत्वमा हामी व्यवहारकुशल, योग्य र गरिखान सक्ने हुन्छांै । तर, अहिले हाम्रो सांस्कृतिक, धार्मिक एवम् मानवीय मूल्य विचलन हुँदैछ । यस्तो बेला देखासिकी गर्ने मानसिकताले जित्दै लगेको छ र चाडपर्वका नाममा प्रदर्शन गर्ने, अरुको नक्कल गर्ने चरित्रले मौलिकता संकटमा पर्दैछ । प्रत्येक पर्वहरुलाई शास्त्रोक्त विधि र मान्यताका आधारमा मनाउने नगरिँदासम्म तिनको मौलिक पहिचान जोगाएर पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न सकिँदैन ।
आजकै दिन राष्ट्रिय विभूति मोतीराम भट्टको पनि विशेष स्मरण र सम्मान गर्ने दिन हो । वि.सं. १९२३ को भदौ कृष्णऔंशीका दिन जन्मिएका मोतीरामको ३० वर्षकै अल्पायुमा देहान्त भयो । यति छोटो उमेर बाचेर दीर्घता प्राप्त गरेका उनले नेपाली भाषा र साहित्यको श्री गणेश गरेका थिए । अर्थात् उनले भानुभक्त आचार्यको रामायण प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गराएर, श्रृंगार रसका कृतिहरु रचना गरेर भक्तिधाराबाट प्रारम्भ भएको नेपाली साहित्यको नवीन धारालाई डो¥याउन प्रेरणा दिए । कुश, पिता र कवि पर्वको समष्टिरुप आजको दिनले खासगरी नवपुस्तालाई सांस्कृतिक मोह जगाउन सक्यो भने हाम्रो संस्कृतिको गरिमा अझै उचालिने निश्चित छ ।

























