झापामा अझै पनि १० प्रतिशत नागरिक बिद्युत् सेवाबाट बञ्चित

0
505

बिर्तामोड।

झापामा अझै पनि सबै नागरिकको पहुँचमा विद्युत् सेवा पुग्न सकेको छैन । स्थानीय तह र नेपाल विद्युत् प्राधिकरणबीच समन्वयको अभावमा झापाका झण्डै दश प्रतिशत नागरिक बिद्युत् सेवाबाट बञ्चित छन् । केही स्थानीय तहले विद्युत् सेवालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि धेरैले भौतिक निर्माणलाई मात्र प्राथमिकतामा राख्दा विपन्न नागरिक विद्युत् सेवाबाट बञ्चित भएका हुन् ।

नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र अन्तर्गत पर्ने पालिकाका विपन्न नागरिकलाई विद्युत् मिटर निःशुल्क बितरणका लागि आएको रकममध्ये ५० लाख रुपैयाँ बजेट फिर्ता भएको छ । नेपाल विद्युत् प्राधिकरणले मिटर नभएका विपन्न परिवारको निवेदनसहित विवरण पठाइदिन सबै वडा कार्यालयहरुसँग आव्हान गरेको थियो । तर, जिल्लाका अधिकांश वडाध्यक्षहरुले बास्तै नगरेको नेपाल विद्युत् प्राधिकरण अनारमनी शाखाका प्रमुख बीरेन्द्रकुमार झाले बताए । उनले भने– केहीले चासो लिए पनि धेरै पालिकाका वडा कार्यालयले चासो नदिँदा आएको रकम फिर्ता गएको हो । वडा कार्यालयले लथालिङ्ग तरिकाले विवरण पठाउँदा आवेदन दिने विपन्नहरुले समेत निःशुल्क मिटर पाएनन्– केन्द्र प्रमुख झाले भने– नेपाल विद्युत् प्राधिकरण बिर्तामोड शाखाबाट यस वर्ष १३८ जनाले मात्र निःशुल्क मिटर पाएका छन् ।

आर्थिक वर्ष २०७६÷०७७मा विपन्न नागरिकलाई निःशुल्क मिटर वितरणका लागि ५० लाख रुपैयाँ आएको अनारमनी बितरण केन्द्रले जनाएको छ । निःशुल्क मिटर लिने उपभोक्ता नभएपछि धेरै बजेट खर्च हुन सकेन– केन्द्र प्रमुख झाले भने– ५० लाखको बजेटमध्ये करिव २ लाख ७६ हजार रुपैयाँ मात्र खर्च भएको छ । एउटा मिटर बराबर करिव दुई हजार रुपैयाँ खर्च हुने गरेको छ । कार्यालय प्रमुख वीरेन्द्रकुमार झाका अनुसार बिर्तामोड शाखालाई निःशुल्क मिटर वितरणका लागि अहिलेसम्मकै सबैभन्दा बढी बजेट आएको थियो । तर, त्यसलाई खर्च गर्न सकिएन– उनले भने । विद्युत् प्राधिकरण बिर्तामोड शाखाको कार्यक्षेत्रभित्र बिर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका, बाह्रदशी, झापा गाउँपालिका, मेचीनगर नगरपालिकाको ११, १२, १३ र १४ को केही भाग, हल्दिबारीको १, बुद्धशान्तिको ५ , शिवसताक्षीको ७ र १० तथा इलामको रोङ गाउँपालिकाको १ र २ नम्बर वडा पर्दछ । बिर्तामोड नगरपालिका ६, कनकाई नगरपालिका ८ , ९ र बाह्रदशी ७ नं. वडाका विपन्नहरुले मात्र निःशुल्क मिटर पाएको बताइएको छ । सामान्य कागजात समेत मिलाएर पठाउन नसक्दा बाह्रदशी गाउँपालिकाका ५१० विपन्न परिवारले निःशुल्क मिटर पाउन सकेनन् ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नं. ४का २०, ७का २३०, ८का १०७, ९का १३९ र १०का ४६ परिवारले पनि राज्यको सुविधा लिन बञ्चित हुनु प¥यो । त्यस्तै हल्दिबारी–१का १८ परिवारको विवरण पठाउने गाउँपालिका कार्यालयले औपचारिकता मात्र निर्वाह गरेको देखियो । कतिपय वडा कार्यालयले विवरण मात्र पठाएका छन् । मिटर माग गर्ने उपभोक्ताको दस्तखतसहितको आवेदन फारम नभरेको, नागरिकता प्रमाणपत्रको प्रतिलिपि नबुझाएको, भूमिहीनको हकमा धरौटी जम्मा नगर्दा विपन्न परिवारले राज्यले दिएको सुविधा पाउन नसकेको प्राधिकरणको भनाइ छ । बिर्तामोड नगरपालिकाको ८ र ९ नं वडा कार्यालयले आर्थिक वर्ष सकिएर साउन १२ गते प्राधिकरणको कार्यालयमा निवेदन दर्ता गराएका थिए । विपन्न परिवारहरुलाई विद्युत् प्राधिकरणले केही वर्षदेखि निःशुल्क मिटर वितरण गर्दै आएको छ ।

आफ्नै जग्गा हुनेलाई बिना धरौटी र जग्गा नहुने भूमिहीनलाई एक हजार रुपैयाँ धरौटी राख्नुपर्ने नियम रहेको छ ।
झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाले बजेट नै छुट्याएर विपन्न नागरिकलाई निःशुल्क विद्युत् सेवा उपलब्ध गराउने पहल थालेपनि धेरै नागरिक मिटर लिनबाट बञ्चित भएका छन् । बाह्रदशी गाउँपालिकाले उज्यालो बाह्रदशी शीर्षकमा एक करोडभन्दा बढी बजेट विनियोजन गर्दै आफ्नो पालिकालाई उज्यालो बनाउने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए ।

बर्षौसम्म आधा जनसंख्या अँध्यारोमा रहेको दक्षिणी सीमावर्ती झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाका सबै वडामा विद्युत् सेवा पु¥याएर सबै नागरिकलाई विद्युत्को पहँचमा ल्याउने काम थालिएको छ । ८ हजार २ सय घरधुरी रहेको सिंगो बाह्रदशी गाउँपालिका केही समयभित्रै उज्यालो गाउँपालिका घोषणा गरिँदैछ ।

उता झापा गाउँपालिकाका ९५ प्रतिशत घरधुरीमा बिजुली पुगिसकेको छ । बाँकी ५ प्रतिशतका लागि पनि तीब्र रुपमा बिद्युतीकरण भइरहेको गाउँपालिकाले जनाएको छ । ‘पोल सबै गाढी सकियो तार तान्न मात्र बाँकी छ’ गाउँपालिका अध्यक्ष जयनारायण साहले भने– झापालाई छिट्टै उज्यालो गाउँपालिका घोषणा गर्छाैं । गाउँपालिकालाई उज्यालो बनाउन झापा गाउँपालिकाले साढे ३ करोड र बिद्युत् प्राधिकरणले साढे तीन करोड बजेट छुट्याएको छ । तर, अन्य पालिकामा भने विद्युत् विस्तारका लागि सोचे अनुरुप काम गर्न नसक्दा आएको बजेट फ्रिज भएको हो ।

झापामा १० प्रतिशत नागरिक अझैं विद्युत् सेवाबाट बञ्चित रहेको भन्दै नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले सबै पालिकाहरुलाई प्राधिकरणसंग समन्वय गर्दै आम नागरिकमा विद्युत् सेवा पु¥याउने काममा जुट्न आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् विस्तारका लागि स्थानीय तहसंग साझेदारी गर्न तयार रहेको केन्द्र प्रमुख झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here