दिक्तेल रुपाकोट मझुवागढीमा ‘मेरो प्रतिज्ञाःमेरो प्रतिबद्धता’

0
793

खोटाङ,

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘मेरो प्रतिज्ञाः मेरो प्रतिबद्धता’ कार्यक्रम लागू गरेको छ । नगरवासीलाई आफ्नो अधिकारका साथै नगरपालिकाप्रतिको दायित्व बोध गराउन यसै आर्थिक वर्षदेखि लागू हुने गरी सार्वजनिक महत्वको कार्यक्रम लागू गरिएको हो ।

आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममै ‘मेरो प्रतिज्ञाः मेरो प्रतिबद्धता’ कार्यक्रम समेटिएको नगर प्रमुख दीपनारायण रिजालले जानकारी दिनुभयो । “सोह्रबुँदे नागरिक दायित्व पूरा गर्न नगरवासीलाई सहमत गराएर कार्यक्रम अघि बढाउन निर्देशिका तयार गरिएको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाप्रति नागरिकको अपनत्व कायम गर्दै नागरिकको अधिकार मात्रै होइन कर्तव्य पनि हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न सार्वजनिक महत्वको कार्यक्रम ल्याइएको हो ।”

सो कार्यक्रममा ”म खाना खेर फाल्दिन, म कुनै पनि प्रकारको सामाजिक विभेद र हिंसामा संलग्न हुन्न, म मेरो जमीन बाँझो राख्दिन, म सार्वजनिक ठाउँमा धूमपान तथा मद्यपान गर्दिन, म सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने छु, म खोलामा करेन्ट र विषादीको प्रयोग गर्दिन, म रासायनिक मल प्रयोग गर्दिन, म अर्गानिक उत्पादनमा जोड दिन्छु, म सार्वजनिकस्थलमा बनेका घरटहरा भत्काउने छु, नक्शा पास नगरी मापदण्ड विपरीत घरटहरा बनाउने छैन” लगायत बुँदा समावेश गरिएको छ ।

यस्तै म स्रोतबाटै फोहोरको वर्गीकरण गरी कुहिने फोहोरलाई कम्पोष्ट प्लान्टमा पठाउने छु, म अनिवार्य रुपमा साबुनपानीले हात धोएर वा सेनिटाइजर प्रयोग गरेर मात्र सार्वजनिक ठाउँमा प्रवेश गर्ने छु, म सामाजिक दूरी कायम गरेर मात्र दैनिक गतिविधि गर्ने छु, म खुद्रा, खाद्यान्न तथा तरकारी पसलमा अनिवार्य स्थानीय उत्पादनलाई समावेश गर्ने छु, म लागूपदार्थ तथा दुव्र्यसनीमा फस्ने छैन, म शिष्टाचारयुक्त व्यवहार गर्ने छु, नगरपालिकाले बनाएका ऐन, कानून र आचारसंहिताको पूर्णरुपमा परिपालना गर्ने छु, विकासनिर्माणका लागि लगाइएका कर इमान्दारीपूर्वक तिर्नेछु’ भन्ने बुँदाको पालना गर्नुपर्ने उक्त कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिकालाई समृृद्ध, आत्मनिर्भर र सुसंस्कृत बनाउने लक्ष्यानुसार सो कार्यक्रम ल्याइएको नगर प्रमुख रिजालले जानकारी दिनुभयो । “यसका लागि कुनै बजेट चाहिन्न, इच्छाशक्ति भए पुग्छ”, उहाँले भन्नुभयो, “नगरपालिकाले लागू गरेको १६ बँुदे कार्यक्रम कार्यान्वयनमा ल्याउन सकिए समृद्ध नगर बन्ने निश्चित छ ।”

नगरपालिकाले ल्याएको महत्वाकाङ्क्षी कार्यक्रम कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको नगरवासीले बताएका छन् । नगरपालिकाले यसअघि पनि धेरै सार्वजनिक महत्वको कार्यक्रम ल्याएको तर कार्यान्वयन नभएको नगरवासीको ठम्याइ छ ।

यद्यपि जिल्लाका अन्य स्थानीय तहभन्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका हरेक हिसाबले अगाडि देखिएको छ । जिल्लाका प्रमुख व्यापारिक केन्द्र तथा प्रशासनिक कार्यालयसमेत सोही नगरपालिकामा रहेकाले पनि दिक्तेल नगरपालिका अगाडि देखिएको हो ।

पन्ध्र वटा वडा रहेको उक्त नगरपालिकाको केन्द्र अर्थात् कार्यालय रहेको दिक्तेल बजारको मुहार पछिल्लो समय फेरिँदै गएको छ । दिक्तेल बजारको सडक ढलान, खानेपानी, बिजुली तथा टेलिफोन लाइन व्यवस्थापनलगायत काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here