तीजमा फ्रन्टलाइनमा रहेर काम गर्ने महिलालाई इनरह्वीलको सम्मान

0
437

तुलसीप्रसाद निरौला ,बिर्तामोड, नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने गरिन्छ । द्वितीयाको दिन राती दर खाने, तृतियाको दिन भगवान शिवको व्रत बसेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरी तीज पर्व मनाइन्छ ।

teej

विवाहित महिलाले पतिको दिर्घायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै तीजको ब्रत बस्ने गर्दछन् ।
माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यसवर्ष विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन गरेपछि धेरै महिला कर्मघरमै दर खाएर तीज मनाउँदै छन् ।

विशेषगरी माइती एवम् दाजुभाईले छोरी, चेली एवम् दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् ।
कोरोना कहरले आफ्नो माइती घर जान नपाएपछि इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका महिला पदाधिकारीले कोरोना संक्रमणको जोखिम बढ्दै गएको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने विभिन्न क्षेत्रमा छ जना महिलालाई श्रृंगारका सामग्री प्रदान गरेर सम्मान गरी दर खुवाएर तीज मनाएका छन् ।

कोरोना महामारीको समयमा पनि परिवार पाल्नका लागि दिनरात नभनी फ्रन्टलाइनमा रहेर काम गर्ने नर्स ,क्लिनर, घरेलु कामदार, व्यापारी महिलालाई सम्मान गरेको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशलले बताइन् ।
पछिल्ला वर्षमा तीजका नाममा एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेकाले तीजलाई उच्छृङ्खलता र तडकभडकरहीत तरिकाले मनाउनु पर्छ भन्ने सन्देश दिने उद्धेश्यले कोरोना संक्रमणको जोखिम बढ्दै गएको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने विभिन्न क्षेत्रमा छ जना महिलालाई प्रोत्साहन गर्न श्रृंगारका सामग्री प्रदान गरेर सम्मान गरी दर खुवाएर तीज मनाएको उनले वताइन् ।

कुनैपनि काम सानो नहुने र कामलाई सवैले पूजा गर्नुपर्छ भन्ने सन्देश दिनपनि उनीहरुलाई सम्मान गरेको प्रेसिडेन्ट वंशलले बताइन् । तीज पर्वलाई तडकभडकरहीत तरिकाले मनाउन र कोरोना महामारीको समयमा घरमै रहेर रमाइलो गरी तीज मनाउन उनले सवैलाई आग्रह गरिन् ।

बिर्तामोड नपा –१ मा रहेको नर्वदेश्वर शिवालय मन्दिरमा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल आइएसओ मोनिका अग्रवाल , वोर्ड मेम्वर रुची शिवाकोटी , कमला पौडेल, रेखा अग्रवाल र रेनु गोयलले सिनियर एएनएम टंकमाया संग्रौला , सेक्युरिटी गार्ड सुनिता अधिकारी , तरकारी व्यापारी फूलकुमारी राजवंशी , फलफूल व्यापारी थोपु चौधरी , क्लिनर तारा राजवंशी र घरेलु कामदार ममता शाहलाई साडी , चुरा , पोते प्रदान गरी सामुहिक दर खुवाएका थिए । त्यस्तै कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न उनीहरलाई मास्कसमेत वितरण गरेका थिए ।

कोरोना महामारीको समयमा पनि परिवार पाल्नका लागि दिनरात नभनी फ्रन्टलाइनमा रहेर काम गर्दै आएपनि सवैले छि ः छि ः दूर ः दूर ः गर्ने गरेकोमा तीज पर्वको अवसरमा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले सम्मानसहित सामुहिक दर खुवाउँदा आफूहरुलाई वास्तविक तीज आएको अनुभूति भएको उनीहरुले बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here