सुरेन्द्र भण्डारी / नरेन्द्र ढकाल
शिक्षा क्षेत्रमा अनवरत सेवा गर्ने मध्येका एक हुन्– गुरुभक्त न्यौपाने । बिर्तामोड नगरपालिका– ४ मा स्थायी बसोबास गर्ने न्यौपाने विगत तीन दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा सेवा गरिरहेका छन् । दुर्गा माध्यमिक विद्यालय गरामनीबाट शिक्षण पेशा शुरु गरेका न्यौपानेले एक दशकभन्दा बढी समय सामुदायिक विद्यालयमा सेवा गरे ।
२०६५ सालबाट कञ्चनजंघा अंग्रेजी माध्यमिक विद्यालय शुरु गरेका न्यौपाने अहिले पनि सोही विद्यालयका संस्थापक प्रिन्सिपलका रुपमा कार्यरत छन् । यसअघि उनले विराटज्योति माध्यमिक विद्यालय सञ्चालन गरेका थिए । शिक्षा क्षेत्रका केही अगुवाको सहयोगमा सञ्चालित सो विद्यालयपछि उनले कञ्चनजंघा अंग्रेजी माध्यमिक विद्यालय बिर्तामोड– ४ स्थित हर्कलाल मार्गमा सञ्चालनमा ल्याएका हुन् । अहिले सोही विद्यालय कञ्चनजंघा कलेजका रुपमा समेत सञ्चालित छ । त्यस क्षेत्रका अभिभावकको सल्लाहमा सञ्चालनमा ल्याइएको सो विद्यालय बिर्तामोड क्षेत्रकै गहनाका रुपमा हेरिएको छ । शैक्षिक गतिविधि समेत अब्बल भएका कारण विद्यार्थी र अभिभावकको रोजाइमा रहेकाले छोटो समयमै सो शिक्षण संस्थाले उल्लेख्य प्रगति गरेको देख्न सकिन्छ ।
झापाको कनकाई नगरपालिकास्थित लक्ष्मीपुरबाट स्थानान्तरण गर्दै २०६५ सालमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनको अनुमति प्राप्त गरेको सो विद्यालयमा ल्याएको पहिलो वर्ष मै पाँच सय १४ जना विद्यार्थी भर्ना भएका थिए । यहींबाट अहिलेसम्ममा हजारौं विद्यार्थीलाई असल र संस्कारयुक्त शिक्षा प्रदान गरेको संस्थापक प्रिन्सिपल न्यौपानेको भनाइ छ । २०६८ सालसम्म विद्यार्थीको सख्या एक हजार पुगेको र कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीको सख्या ६७ रहेको थियो– न्यौपानेले भने– अभिभावककै माग बमोजिम २०६८ सालबाट कक्षा ११÷१२ सञ्चालन गरेको हो । विज्ञान र व्यवस्थापन समूहमा उच्च माध्यमिक शिक्षा परिषद्बाट अनुमति लिएर ११÷१२ का कक्षा सञ्चालन गरेको विद्यालयले २०७६÷०७७ मा आइपुग्दा १५ सय विद्यार्थी कक्षा नर्सरीदेखि कक्षा १० सम्ममा अध्ययन गरेका छन् । साढे सात सय विद्यार्थीले कक्षा ११÷१२ अध्ययन गरेको न्यौपानेको भनाइ छ । बीबीएसका कक्षा समेत सञ्चालन गरेको संस्थाले चार वर्षे बीबीएसको पहिलो ब्याच पूरा गरेको छ । दोस्रो ब्याच पनि चौथो वर्षमा पुगेको छ । यो सँगै कञ्चनजंघामा विद्यार्थीको संख्या बिहानी सत्रमा साढे आठ सय र दिवा सत्रमा एक हजार पाँच सय पुगको छ । विद्यालयले एक सय ३५ जनालाई रोजगारी समेत दिएको छ । पूर्वमै लोकप्रिय यो विद्यालयले स्थापनाको १२ वर्षे दौरानमा धेरैलाई पछि पार्दै नयाँ उचाइ लिएको चर्चा चौतर्फी हुने गरेको छ । विद्यालयले न्यून शुल्कमा गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गरेकै कारण विद्यालयले नयाँ उचाइ पाएको हो ।
मासिक तीन हजार रुपैयाँभन्दा कम शुल्कमै यो विद्यालयमा विद्यार्थीले कक्षा १० सम्मको अध्ययन गर्न पाउँछन् । यो शुल्क निजी विद्यलयका लागि अत्यन्त थोरै हो– विद्यालयका संस्थापक प्रिन्सिपल न्यौपानेले भने । समयसापेक्षा दिइने शिक्षाका कारण यो विद्यालयमा दुर्गमका नानीहरु पनि अध्ययन गर्ने गरेको संस्थापक प्रिन्सिपल न्यौपानेको भनाइ छ । विद्यालयमा अध्ययनरत् विद्यार्थीले हरेक वर्ष ल्याउने नतिजाकै कारण विद्यालयको उचाइ यो अवस्थामा पुगेको संस्थापक प्रिन्सिपल न्यौपानेको दाबी छ । विद्यालयमा काम गर्ने शिक्षक समेत मेहनती भएका कारण विद्यार्थीले चाहे अनुरुपको शिक्षा आर्जन गर्न सकेका हुन् । दुर्गा माध्यमिक विद्यालय गरामनीको प्रधानाध्यापकको जिम्मेवारी छाडेर उनले निजी विद्यालयको अवधारणलाई अघि सारेका थिए । न्यौपानेले गुणस्तरीय शिक्षा अबको आवश्यकता भएको महशुस गर्दै छँदाखाँदाको जागिर त्यो पनि प्रधानाध्यापक पद २०५३ सालमै छाडेका थिए । निजी विद्यालय सञ्चालन गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन जुर्मुराएका न्यौपानेले अन्ततः बिर्तामोडलाई शैक्षिक हब बनाउनका लागि इँटा थप्ने काम गरे ।
(श्रब्य-दृष्य)
पाँच जना साथीहरुसँगको साझेदारीमा सञ्चालनमा ल्याइएको विराटज्योति विद्यालयमा आफूले भने जस्तो गुणस्तर अभिवृद्धि गर्न नसकेपछि उनी समूहबाट बाहिरिएका थिए । फलस्वरुप उनले कञ्चनजंघा अग्रेजी विद्यालय जन्माए । जुन विद्यालयमा उनले आफ्नो प्रतिभा र क्षमतालाई प्रस्फुटन गर्दै विगतको अनुभवलाई प्रयोग गरेर नयाँ उचाइमा पु¥याउन सफल भए । लामो समयसम्म शिक्षा क्षेत्रमा क्रियाशील न्यौपानेले आफ्नै क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा दिन सञ्चालन गरेको कञ्चनजंघा अग्रेजी विद्यालयले अहिले झापामा छुट्टै पहिचान बनाएको छ । विद्यालयको भीडमा अस्वस्थ प्रतिस्पर्धा नगरी स्वस्थ प्रतिस्पर्धाबाटै आफू यो उचाइमा पुगेको र आफूले लिएको लक्ष्यमा शतप्रतिशत सफल भएको न्यौपाने अहिले दाबी गर्छन् । प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका उनी हाल प्याब्सन झापाका सल्लाहकार तथा बिर्तामोड नगर शिक्षा समिति सदस्य समेत छन् । हालै एसईईको नतिजा सार्वजनिक भएको छ ।
विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई सामाजिक सञ्जालमा भएको टिकाटिप्पणीप्रति उनले दुःख व्यक्त गरेका छन् । गलत मनसायले गरिएको टिप्पणी प्रति मेरो भन्नु केही छैन–उनले भनेका छन्– विद्यार्थीलाई अहिलेको यो समयमा प्रोत्साहन गर्नुपर्ने बेला हो, तर विद्यार्थीलाई निरुत्साहित गर्दा दुःख भने लागेको छ । कोरोना कहरकै बीचमा कक्षा ११ को भर्ना लिने अवस्था अहिले निजी विद्यालय सञ्चालक नरहेको बताउँदै प्रवेशका नाममा विद्यार्थी भेला गरेर परीक्षा लिने कुरा गर्न नसकिने उनले बताए, यो गर्नु पनि हुँदैन– उनले भने । विद्यार्थी भर्नाको यो समयमा विद्यार्थीले इच्छाएको विद्यालयमा भौतिक दूरी कायम गरेर सामान्य हिसाबले जान सक्ने न्यौपानेको भनाई छ ।
कक्षा ११ को नयाँ कोर्ष आएको बताउँदै न्यौपानेले भने– अब कक्षा ११ को पढाइ कुन विधिबाट गर्ने हो सरकारले नभने पनि दूर शिक्षाबाट गर्ने सोचमा हामी निजी विद्यालय सञ्चालक पुगेका छौं कञ्चनजंघाले पनि त्यही गर्छ । अहिले ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी मारमा परेका छन् –न्यौपानेले भने– कक्षा ११ को परीक्षा भएको छैन, ११ का विद्यार्थीले कक्षा १२ पढ्नुपर्ने अवस्था छ । शिक्षकले समयमा कोर्ष सकिदिनुपर्ने अवस्था छ । १२ ले पनि आफूले परीक्षा दिइसकेर खुड्किलो चढ्नु छ । उनीहरुले स्नातक तहमा चढ्नुपर्ने बेला हो, तर अहिले सबैभन्दा ठूलो अन्यौल बनाइएको छ । त्यो काम सरकारले गरिरहेको छ – न्यौपानेले भने । अहिले सरकारका विरुद्धमा आफूहरु पनि बोल्न सक्ने अवस्थामा छैनौं –न्यौपाने भन्छन्– अहिलेको यो परिवेशमा हिसान बोल्नुपर्छ । प्याव्सन र एन प्याब्सन पनि बोल्नुपर्छ । ११ र १२ का विद्यार्थीको निकास खोजिनुपर्छ अब । अनि हिसान आफूलाई ११÷१२ कै प्रतिनिधित्व गर्ने भन्दै आएको थियो, त्यो संस्था अहिले किन बोलिरहेको छैन –उनले प्रतिप्रश्न गर्दै भने– हिसान विद्यार्थीको पक्षमा बोलोस् । विद्यार्थी संगठन यस विषयमा बोलून् । सरकारले कक्षा ११÷१२ को विषयमा सोचेन यस्तो अवस्थामा अब हामी सबैले सोच्नुपर्ने बेला आएको छ –न्यौपानेले भने– अहिले कक्षा ११ र १२ को लागि निकास चाहिएको छ ।
‘अप्ठ्यारो पर्दा राज्यले हेर्नुपर्छ’

बिर्तामोड, भदौ ४। नोवल कोरोना भाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षण संस्था करिब पाँच महिनादेखि ठप्प छन् । दिनप्रतिदिन नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अबस्थामा विद्यार्थीको भविष्य अन्यौलमा छ नै शैक्षिक संस्थाको गतिविधि पनि ठप्प छन् ।
केही विद्यालयले वैकल्पिक शिक्षा (अनलाइन कक्षा) मार्फत विद्यार्थीलाई पठनपाठन गराए पनि त्यो प्रभावकरी हुन सकेको छैन । सबै विद्यार्थी अनलाइनको पहुँचमा नहुने हुँदा वैकल्पिक शिक्षा समेत प्रभावकारी हुन नसकेको सरोकारवालाले बताउँदै आएका छन् । अझ सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी वैकल्पिक शिक्षा लिन नसक्ने अवस्थामा रहेको बिर्तामोड नगर शिक्षा समिति सदस्य गुरुभक्त न्यौपानेले बताए ।
निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये केही विद्यार्थीले चाहेर पनि अनलाइन कक्षाबाट पठनपाठन गर्न सक्दैनन् –न्यौपानेले भने– यस्तो परिस्थितिमा कसरी सामुदायिक विद्यालयका सबै विद्यार्थीले वैकल्पिक शिक्षा पढ्न सक्छन्, यसतर्फ सरकारले सोच्ने बेला आएको छ । शिक्षा क्षेत्रमा राज्यले अबको बाटो के हुनसक्छ भन्ने दूरदृष्टि राख्न नसक्दा नेपालको शैक्षिक क्षेत्र कुहिराको काग झैं रुमलिएको र विद्यार्थीको भविष्य अन्यौलमा परेको न्यौपानेको भनाइ छ । शिक्षामन्त्रीले यो बेला शिक्षा क्षेत्रको विकासका लागि ‘भिजन’ ल्याउन सक्नुपर्ने थियो, त्यो सक्नुभएन जसका कारण शैक्षिक क्षेत्र तहसनहस भएको छ – न्यौपानेले भने । के सामुदायिक के संस्थागत यो बेला यो र त्यो भन्ने समय होइन –न्यौपाने भन्छन्– अहिले सानो कक्षाका मात्र होइन कक्षा ११, १२ पढ्ने विद्यार्थीको भविष्य पनि अन्धकारमय बनेको छ । कक्षा ११÷१२ को परीक्षा नै हुन सकेको छैन ।
































