स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउन सभामुखको अनुरोध

0
566

काठमाडौँ,

सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका साथ तीज पर्व मनाउन दिदीबहिनीलगायत सबैमा अनुरोध गर्नुभएको छ ।

हरितालिका तीज २०७७ का अवसरमा शुभकामना दिँदै उहाँले नोभल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विगतमा जसरी यो पर्व मनाउने अवस्था नरहेको बताउनुभएको छ ।

कोरोनाका कारण उत्पन्न महामारी दिनप्रतिदिन विस्तारित र जोखिमपूर्ण भइरहेको उल्लेख गर्दै उहाँले उच्च सतर्कता अपनाउँदै पर्व मनाउन आह्वान गर्नुभएको छ ।

हरितालिका तीज पर्वको माध्यमबाट सामाजिक सद्भाव र पारिवारिक एकतामा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उहाँले तीज पर्व सम्पूर्ण दिदीबहिनीको स्वतन्त्र, सुरक्षित र सम्मानपूर्ण जीवन यापन गर्नसक्ने वातावरण बनाउने बहसको अवसर पनि बनोस् भनी कामना गर्नुभएको छ ।

यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि तीजका अवसरमा शुभकामना दिँदै उच्च सतर्कताका साथ पर्व मनाउन सबैमा अनुरोध गर्नुभएको छ ।

“चाडपर्वहरू मनाउँदा मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ,” उहाँद्वारा जारी सन्देशमा उल्लेख छ, “पारिवारिक मिलन र सामाजिक सद्भावपूर्ण यस पर्वमा समेत जमघट गर्न अहिलेको समय प्रतिकुल भएकाले सम्पूर्णमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै मनाउनुहुन हार्दिक अनुरोध गर्दछु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here