११० घरमा खरको हटाएर जस्ताको छाना

0
1261

म्याग्दी, 

बेनी नगरपालिकामा ११० वटा घरमा खरको हटाएर जस्ताको छाना राखिएको छ । बेनी नगरपालिकाको सहयोगमा घरधनीले खरको हटाएर जस्तापाटा राखेका हुन् ।

सबैभन्दा बढी वडा नं ३ मा पर्ने भकिम्लीमा ६१ घरमा जस्ताको छाना राखिएको बेनी नगरपालिकाका प्राविधिक अर्जुन थापाले जानकारी दिनुभयो । सदरमुकाम बेनी बजार अवस्थित ७ र ८ नं बाहेक रत्नेचौर, भकिम्ली, ज्यामरुककोट, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेतमा खरको छाना विस्थापित गर्ने कार्यक्रम सञ्चालन भएको थियो ।

छाना फेर्नका लागि जस्तापाटा खरिद गर्न प्राविधिकले तयार पारेको लगतअनुसार एक जनाले पैतिस हजार रुपैयाँसम्म अनुदान पाएका छन् । वडा कार्यालयले सङ्कलन गरेको आवेदनको आधारमा छनोट गरिएका घरधनीलाई छानो फेरेपछि अनुदान दिइएको थियो ।

खरको छाना विस्थापित गर्ने कार्यक्रमका लागि रु. ७० लाख विनियोजन भएकोमा रु.४१ लाख भुक्तानी भएको प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले जानकारी दिनुभयो । गत वर्ष छुटेकालाई यस वर्षको कार्यक्रमबाट समेटिने नगरपालिकाले जनाएको छ ।

आगलागीबाट हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न खरको छाना विस्थापित गर्न नगरवासीलाई सत प्रतिशत अनुदानमा जस्तापाटा उपलब्ध गराएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । खरको छानाको घरमा आगलागीको उच्च जोखिम हुन्छ । छानामा जस्तापाटा राखेपछि दुर्घटनाको जोखिम घट्नुका साथै वर्षेनि खर, बाँस किनेर छाउनुपर्ने झन्झटबाट नगरवासीले मुक्ति पाएको बेनी नगरपालिका–३ भकिम्लीका रनबिर घर्तीले बताउनुभयो ।

स्थानीयबासीले सुरक्षित महशुस गरेका छन् । आर्थिक अभावमा गुज्रिएका विपन्न समुदाय खरको छाना विस्थापित गर्ने कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका भकिम्लीका वडा अध्यक्ष पदम पुनले बताउनुभयो । खर कुहिएर पानी चुहिने र भित्रै घाम पस्ने समस्या हटेकोमा उनिहरु खुसी भएका छन् । जस्तापाटा पाएपछि कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीको फुर्सदमा आफैँ खर फालेर छाना फेरेका थिए । छाना हटाउने क्रममा जीर्ण बनेका घरहरुको मर्मत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here