४० हजार पशुलाई ‘लम्पी स्किन डिजिज’

0
1349

झापा।

‘यो वर्ष मानिस, पशुपन्छी र कृषिमा नयाँ रोग देखियो’– जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. गंगाराम यादवले भने–‘मानिसमा कोरोना, पशुपन्छीमा लम्पी स्किन डिजिज र कृषिमा सलह देखियो, यी तीनै रोगको उपचार पत्ता लागेको छैन ।’

झापाका १५ वटै स्थानीय तहका पशुमा देखिएको अनौठो रोगका बारे सोधिएको जिज्ञासाका क्रममा डा. यादवले यस्तो प्रतिक्रिया दिएका हुन् । यसैवर्षदेखि झापाका पशु (खासगरी गाई) मा देखिएको अनौठो रोगका कारण पशुपालक कृषकहरु चिन्तित छन् । गोठमा पालेका गाईमा अचानक फोका देखिने, उक्त फोका बढ्दै जाने र फुट्ने घाउ हुने र जोर्नी तथा जीउ सुन्निने गरे पनि उक्त रोग के हो भन्ने किसानले भेउ पाउन सकेका छैनन् ।

कोरोनाको औषधि पत्ता नलागेजस्तै लम्पीको पनि औषधि पत्ता लागेको छैन । त्यसैगरी कृषिमा देखिएको सलहको पनि औषधि पाइँदैन । तर, यी तीनै रोग संक्रामक देखिएका छन् । पहिला गाईलाई ज्वरो आउने, ज्वरोसँगसँगै खुट्टाका जोर्नीमा गाँठागुठी देखिने, विस्तारै सुन्निने र गाँठा फुटेपछि जीउनै सुन्निने अनौठो रोगको समस्या देखिन थालेको अर्जुनधारा–९का डिल्लीराम दाहालले बताए ।

पशुले ज्वरो आएपछि खान मन नगर्ने र क्रमशः शिथिल बन्दै जाने दाहालले बताए । अधिकांश स्थानीयबासीको गाईमा यो समस्या देखिएको छ । स्थानीयका अनुसार उक्त रोग बढ्दै जाँदा गाईमा ज्वरो आउने, दूध कम आउन थाल्ने जस्ता लक्षणहरु देखिन्छन् । ‘यस्ता रोग लागेका पशुको दूध खानु हुन्छ कि हुँदैन भन्ने पनि थाह छैन’– अर्जुनधारा–९ कै रेनु बस्नेतले भनिन्– ‘तर दूध र दहीको स्वाद पहिलाको जस्तो छैन ।’

गाईवस्तुमा यस्तो अज्ञात रोग देखिन थालेपछि किसान चिन्तित छन् । घरमा पालिएका तथा व्यावसायिक रुपमा सञ्चालन गरिएका गाई फर्ममा समेत यस्तो रोग देखिएपछि किसान र व्यवसायी चिन्तित बनेका हुन् । ‘पहिला गाईमा मानिसलाई निस्कने पानी फोका जस्तो फोका देखियो, त्यो फोका २४ घण्टा नबित्तै शरीरभरी फैलियो’– कालिकापीठले सञ्चालन गरेको गौशालाका गौसेवक जयन्त चापागाँईले विरामी गाई देखाउँदै भने– ‘त्यसपछि गाईका सबै जोर्नी जोर्नीमा गाँठा देखियो, अहिले गाँठा फुट्न थालेको छ, यो रोगले भेटेपछि गाई एकदमै कमजोर भएका छन् ।’ गौशालाको ११ भन्दाबढी गाई र गोवंशमा यो समस्या देखिएको उनले बताए ।

पशुमा देखा परेको उक्त रोग लम्पी डिजिज नामक एकप्रकारको भाइरल भएको अर्जुनधारा नगरपालिका पशु सेवा इञ्चार्ज पदमबहादुर राईले बताए । झापामा पहिलोपटक यो रोग देखिएको उनले जानकारी दिए ।

पशुमा अनौठो रोग देखा परेपछि पशुपालक किसान त्रसित भएका बेला राईले भने उक्त रोगकै कारण पशु नमर्ने बताए । उनले भने– ‘त्यो मात्रै रोग लागेर मर्ने संभावना एकदमै न्यून हुन्छ, यसको मृत्यु दर १.५ प्रतिशत मात्र हो ।’ तर, अरु रोग थपियो भने भन्न नसकिने उनको भनाइ छ । अर्जुनधाराका कुनै–कुनै पशुमा ज्वरो समेत देखिएकाले एन्टिबायोटिक समेत प्रयोग गरिएको उनले जानकारी दिए । लम्पी डिजिजको खास औषधि नभएको बताइएको छ ।

झापाका १५ वटै स्थानीय तहका पशुमा देखिएको अनौठो रोग ‘लम्पी स्किन डिजिज’ भएको जिल्लास्थित पशुस्वास्थ्य कार्यालयका प्रमुख डा. गंगाराम यादवले बताए । झण्डै १५ वर्ष अगाडि अफ्रिकन देशका पशुमा देखिएको उक्त रोग भारत हुँदै यो वर्ष पहिलोपटक नेपालमा देखा परेको यादवले जानकारी दिए । यादवका अनुसार भारतबाट पशु वारपार गर्दा नेपाल भित्रिएको हुन सक्ने यादवको अनुमान छ ।

गत असारको अन्तिम हप्ताबाट देखा परेको लम्पी स्किन डिजिजबारे कार्यालयले ११ दिनअघि गरेको सर्भेक्षण अनुसार ४० देखि ५० हजारसम्म पशु उक्त रोगको जोखिममा रहेको यादवले जानकारी दिए । उनका अनुसार अहिलेसम्ममा ८ देखि ९ वटा पशुको मृत्यु भएको पाइएको छ । उनका अनुसार व्यवसायिक ठूला पशु फार्म भन्दा साना पशुपालक कृषकका गोठमा उक्त रोग समस्या बन्दै गएको छ ।

लामखुट्टे, झिंगा र डाँठले एकबाट अर्को पशुमा सार्न सक्ने एकप्रकारको भाइरल रोग लागेका पशुलाई अन्य पशुबाट अलग राख्ने, गोठ सरसफाईमा ध्यान दिनुका साथै स्प्रे गर्ने जस्ता सावधानी अपनाउन सके रोग कम भएर जाने उनको सुझाव छ । यादवले भने– ‘लम्पी स्किन डिजिज भएका पशुबाट उत्पादनमा भने ७० देखि ८० प्रतिशतसम्म कमी आउन सक्छ, तर दूध मज्जाले उमालेर खाएमा मानिसलाई केही पनि हुँदैन ।’

यसको ठ्याक्कै औषधि नभएका कारण सरसरफाईमा ध्यान दिनुका साथै ज्वरो आएको भए त्यो कमी गर्न एन्टिवायोटिक र घाउ फुटेमा घाउमा लगाउने एकप्रकारको पोटासियम पर म्याग्नेट) नाम पाउडर पशु चिकित्सक तथा पशु प्राविधिकहरुको सल्लाहमा प्रयोग गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here