होटल हिकोला हेरिटेजको वार्षिकोत्सवमा श्रेष्ठले गरे विशेष प्याकेज ल्याउन सरकारसँग माग

0
1145

तुलसीप्रसाद निरौला ,बिर्तामोड ,  विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमका कारण होटलहरु सञ्चालनमा नआउँदा होटल व्यवसायी संकटमा पर्दै गएका छन् ।

लामो लकडाउनका कारण होटल बन्द रहे पनि अहिले लकडाउन खुलेपश्चात संक्रमणको जोखिमका कारण होटलहरु तत्काल सञ्चालनमा आउने स्थितिमा नभएपछि कोरोनाले सिर्जित परिस्थितिका कारण होटल व्यवसायमा ठूलो क्षति पुगेको होटल व्यवसायी देवीभक्त श्रेष्ठ बताउँछन् ।
विर्तामोडमा रहेको होटल हिकोला हेरिटेजका सञ्चालक समेत रहेका श्रेष्ठ यो समय दिनहुँ तालिम, गोष्ठी, आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुने होटल हिकोला हेरिटेज कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बन्द गर्नुपरेको बताउँछन् ।

आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई मध्यनजर गर्दै २०७२ भदौ ४ गते स्थापना गरेको होटल हिकोला हेरिटेज पाँचवर्ष पूरा गरेर छैठौं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित पत्रकार भेटघाटमा सञ्चालक श्रेष्ठले भने –‘कोभिड –१९ का कारण होटल व्यवसाय नराम्ररी धरापमा पर्दै गएको छ । यस अवस्थालाई सामना गर्न न व्यवसायी सक्षम छन् न सरकारले कुनै राहतका प्याकेज ल्याएको छ ।’

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण आन्तरिक तथा बाह्य पर्यटक आउनै छाडेपछि घरबहालदेखि कर्मचारीलाई तलब दिनसमेत नसकिएको उनले बताए ।
विदेशी मात्र नभई स्वदेशी पर्यटकसमेत आउन छाडेकाले होटल व्यवसाय नै चौपट हुने अवस्था आएको बताउँदै उनले भने ‘पर्यटकीय सिजनमा विगतका वर्षहरूमा होटल भरिभराउ हुन्थे तर यस वर्ष पर्यटकीय सिजनमा समेत पर्यटक नआउँदा होटल रित्तैछन् ।’

सरकारले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भिजिट नेपाल २०२० लाई लक्षित गरेर गत माघमा होटल हिकोला हेरिटेजको पहिलो शाखा काँकरभिट्टामा स्थापना गरे पनि कोरोना भाइरसको संक्रमणको जोखिमका कारण पूर्णरुपमा बन्द गर्नुपरेको उनले वताए ।

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण होटल व्यवसाय बन्द हुँदा पनि सरकारले भने कुनै सहुलियत नदिई नियमित कर असुलेको बताउँदै होटल व्यवसायी श्रेष्ठले स्थानीय कर, बिद्युत महसुल, बैंकको ब्याज र किस्ता, मूल्य अभिबृद्धि कर (भ्याट), अन्तःशुल्क, आयकरजस्ता कर अझै पनि तिर्नु परिरहेको बताए ।

सरकारले लकडाउनको अवधिमा पनि बिद्युत् महसुलको जरिवाना लिएर अझै ढाड सेक्ने काम गरेको बताउँदै उनले पर्यटन उद्योगलाई राहत दिने, कर लगायतका विषयमा छुट दिने र पूर्णरुपमा लकडाउन नखुलेसम्म बैंकको ब्याज र अन्य करमा छुट दिने प्रावधान बनाउन सरकारसंग आग्रह गरे ।

सरकारका जिम्मेवार मन्त्रीहरुले समेत यस विषयलाई गम्भिरतापूर्वक नलिएको बताउँदै उनले मुलुुकको आर्थिक उन्नति र प्रगतिको आधार मानिएको होटलसँगै पर्यटन ब्यवसायका लागि विशेष प्याकेज ल्याउन सरकारसँग आग्रह गरे ।
जस्तोसुकै अवस्था भए पनि होटल हिकोला हेरिटेजको पहिचान र सेवालाई कायम राखेर लैजान आफूहरु प्रयत्नशील रहेको सञ्चालक श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here