भुवन तामाङ,
पुर्खाहरुले युगौं लगाएर सिर्जना गरेर छाडेर गएका प्राचीन सम्पदाहरु विकासका नाममा क्षणभरमै निर्मम विनाश गरिएका छन् । जुन अब कुनै प्रयास र मूल्यमा वापस आउनेवाला छैनन् । ती यस्तै थिए होलान् भनेर कल्पना मात्र गर्न सकिने छन् । हो, यस्तै किसिमले विकासको नाममा अरु प्राचीन धरोहरुहरु पनि विनाश गरिँदैछन् ।
पाकिस्तानको ‘दियामर–भाशा जलविद्युत आयोजना’ पूरा भएपछि जलविद्युत् बाँधमा पानी भरिँदा डुबान हुने पहाडी क्षेत्रमा रहेका प्राचीन बौद्ध र हिन्दू सम्पदाहरु डुब्नेछन् । पाकिस्तानका लागि अहिलेसम्मै सबभन्दा ठूलो जलविद्युत परियोजना हुनेछ र यसले त्यही मात्रामा प्राचीन सम्पदाहरु डुबाइदिने छ । चार हजार आठ सय मेगावाट बिजुली उत्पादन भई विश्व जलविद्युत मानचित्रमा पाकिस्तान स्पष्ट देखिने यस परियोजनाको उद्घाटन यही १५ जुलाईमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरिसकेका छन् ।
चीन, यस जलविद्युत् परियोजनाको एकल लगानी कर्ता रहेको छ । यो परियोजना पाकिस्तान प्रशासित कश्मीरको गिलगित–बल्तिस्तानमा बनाइँदैछ । भारतले यस परियोजनाको विरोध गरिरहेको छ, तर प्राचीन बौद्ध तथा हिन्दू धरोहर जोगाउन नभई पाकिस्तान प्रशासित कश्मिरमाथी दावेदारी प्रकट गर्न भारतले बिरोध गरेको बताइन्छ ।
इसापूर्व सात हजार सालदेखि लिएर १६औँ शताब्दीसम्मको विभिन्न कालखण्डसँग सम्बन्ध राख्ने पाँचहजार भन्दा धेरै अत्यधिक महत्वपूर्ण ऐतिहासिक शिलालेखतथा कलाकृतिहरु यस जलविद्युत् परियोजना बाँधका कारण डुबेर नष्ट हुने खतरा बढेको इतिहासकारहरुले जनाएका छन् ।
धेरै वर्षसम्म पाकिस्तानको इतिहास अध्ययन गर्ने डाक्टर जेसन नील्सको भनाई यस्तो छ, जबदेखि काराकोरम तथा हिमालयको पहाडतिर जाने बाटो काराकोरमपास खुल्यो त्यसबेलादेखि अहिलेसम्म पाकिस्तान तथा यूरोपका विशेषज्ञहरुले यी इलाकामा ३० हजारदेखि ५० हजारसम्मका शिलालेख तथा करिब पाँच हजार विभिन्न अभिलेखहरु भेटाएका दाबी गरेका छन् ।
डाक्टर नील्स भन्छन्– शिलालेखमा आधारित प्राचीन कालको सांस्कृतिक सम्पदा, सिन्धु नदीको आसपास गिलगित बल्तिस्तान तथा खैबर पखुतुख्वान प्रान्तमा मौजुद रहेका छन् । यी शिलालेख तथा अभिलेख हामीलाई यी कुरा बताउँछन् कि, प्राचीन कालमा मानिसहरु कसरी हिन्दूकुश, हिमालय तथा काराकोरमको पहाडी विभिन्न बाटोमा यात्रा गर्दथे । यी शिलालेख तथा अभिलेखहरुले उत्तरी पाकिस्तानको ती इलाकामा बस्ने प्राचीन मानिसका धार्मिक विश्वास तथा उनीहरुको सभ्यता तथा संस्कृति हेर्न र महशुस गर्नुको अलावा धर्तीको अन्य ठाउँबाट यहाँ आउने मानिसहरुका बारेमा पनि बताउँदछन् ।

जलविद्युत् बाँधले गिलगित बल्तिस्तानको चिलासस्थित थलपन गाउँ डुबाइदिनेछ । त्यसैले इतिहासकारहरु यहाँका ऐतिहासिक शिलालेख तथा अभिलेखहरुको थप खोज अनुसन्धान गरिरहेका छन् । डाक्टर नील्स भन्छन्– यो इलाकामा मौजुद पत्थरहरुमा जनावर, मानिस तथा थुप्रै निशानाहरुका प्रागऐतिहासिक खाका रहेका पाइएका छन् । यिनीहरुमा धेरैजसो शिलालेख, पहाडी बाख्रा, अरुखालका जनावरका छन् । शिकारी र घोडसवारहरुका चित्रहरु खोपिएका निशाना र अरु किसिमका धेरै शिलालेख पाइएका छन् । जसका सम्बन्ध ऐतिहासिक कालदेखिका रहेका छन् । चिलास पहाडमा पाइने केही अभिलेखहरुका सम्बन्ध प्राचीन कालका कैयन व्यक्तिहरुसँग छन् । चिलासमा शिलालेख, अभिलेख, तस्वीर तथा दोस्रो चिन्हका अलावा दक्षिण एशिया, इरान तथा मध्य एशियाका पुराना भाषामा लेखिएका अभिलेखहरु मौजुद रहेका छन् । शुरुका लेखोट गन्धार भाषामा छन् र खरोस्ती लिपीमा लेखिएका छन् । यस इलाकामा हजारदेखि एक हजार सात सय साल पहिलाका शिलालेख तथा अभिलेखहरु रहेका छन् ।
बालदेव, वासुदेव तथा राहुलका नामका चित्रहरुका साथ खरोस्ती लिपीमा निशाना खोपिएका पाइएका छन् । एक अर्को शिलालेखको हवाला दिँदै नील्स भन्छन्– बौद्ध धर्मसँग सम्बन्धित यी रेखाचित्रमा सम्पदाहरु गन्धार जुबानमा लेखिएका छन् । त्यहाँस्थित स्तूपमा बौद्ध भिक्षुहरु पूजा गर्दछन् । यी शिलालेख तक्षीला, स्वात तथा गन्धारमा मौजुद प्राचीन शिलालेखहरुसँग मिल्दाजुल्दा पाइएका छन् ।
डाक्टर नील्सका अनुसार सिन्धु नदीको आसपास स्तूपहरुको अरु पनि शिलालेख मौजुद रहेका छन् र ती ब्राह्मी लिपीमा लेखिएका छन् । जुन लिपी संस्कृत भाषाका लागि उपयोग गरिन्छ । यिनीहरु एक हजार पाँच सय साल पुरानो तथा सम्भवतः गन्धार जुबानपछिको कालका हुन् । त्यहाँ मौजुद शिलाखेलमा गौतम बुद्ध तथा उनका पाँच शिष्यका प्रतिरुप बनाइएका छन् । गौतम बुद्धले आफ्नो पहिलो सन्देश बनारस छेउका शहर सारनाथमा हरिणहरुका बाटिकामा दिएका थिए भन्ने मान्यता अनुसार यी शिलालेखहरुमा हरिणहरु पनि अंकित भएका पाइएका छन् ।
एक अर्र्को शिलालेखमा शिकारीहरु, विभिन्न प्रकारका उपकरण, चिन्ह तथा पहाडी बाख्राहरुका तस्वीरहरु खोपिएका पाइएका छन् । यी तस्वीरहरु बौद्ध धर्मको आगमनपछिका हुन् । जसमा धार्मिक विश्वास, सभ्यता तथा संस्कृति बदलिएको महशुस हुन्छ । यस बारेमा दुईमत छैन कि, दियामर भाशा जलविद्युत् बाँध निर्माणको नाममा यी प्राचीन सम्पदाहरु अहिले जुन अवस्थामा छन् त्यही हालतमा रहने छैनन् । पानीमा डुब्नेछन् ।
खुशीको कुरो, यी प्राचीन सम्पदाहरुलाई सुरक्षित राखिनु पर्दछ भन्ने विषयमा विश्वका विशेषज्ञबीच चर्चा भइरहेका छन् । यी सांस्कृतिक सम्पदाहरुका केही हिस्सा त विभिन्नरुपमा सुरक्षित छन् तर किताबमा मात्र । पाकिस्तानी इतिहासकार प्रोफेसर अहमद हसन दानीको किताबका अलावा जर्मनको हाइडेलवर्ग युनिभर्सिटीको शोधकर्ताका पाकिस्तानको उत्तरी इलाकाका बारेमा लेखिएका किताबको पाँच भाग छापिइसकेका छन् । यी किताब धेरै नै अनमोल छन् । तर, अझै पनि ऐतिहासिक सांस्कृतिक सम्पदा बचाउनका लागि धेरै थोक गर्न बाँकी नै छ ।
दियामर भाशा बाँध, पाकिस्तानमा जल संशाधन तथा बिजुली आपूर्तिका लागि जिम्मेवार संस्था वाटर एण्ड पावर डेभलपमेन्ट अथोरिटी (वापडा)ले रेखदेख गर्नेछ । परियोजनाका अन्तर्गत बाँध निर्माण कार्यको अलावा वापडाले आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेदारी निभाउँदै परियोजनाको पूरै इलाकामा मौजुदा ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको सुरक्षाका लागि पनि योजना बनाइरहेको छ । बाँध निर्माणका कारण पानीमा डुब्ने शिलालेख तथा अभिलेखहरु सुरक्षित गरिनेछन् र यसै सिलसिलामा चिलास किल्लाको पनि पुनः उद्धार गरिनेछ । एक म्यूजियम पनि स्थापना गरिनेछ । गिलगित बल्तिस्तान खासगरी चिलास तथा आपापास क्षेत्रका गाउँमा सांस्कृतिक पर्यटनको विकास गर्नका लागि कैयन कदम चालिसकिएको छ ।
यी सांस्कृतिक सम्पदा बचाउनका लागि वल्र्ड बैंक, एशीयाई विकास बैंक, यूनेस्को समेत अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त विशेषज्ञहरुले एक म्यानेजमेन्ट प्लान तयार गरेका छन् । यी अन्तर्राष्ट्रिय विशेषज्ञहरुमा हाइडेलवर्ग यूनिभर्सिटीमा शिलालेख तथा अभिलेखका जानकार प्रोफेसर हेराल्ड हाप्टम्यान पनि सामेल थिए ।
वापडाका अनुसार, लगभग पाँच हजार महत्वपूर्ण ऐतिहासिक शिलालेख तथा अभिलेखहरुका थ्री.डी. स्क्यानिङ्ग गरिनेछन् । यिनीहरुको बाकायदा रेकर्ड राखिनेछ । जुन पत्थरहरु तत् स्थानबाट हटाएर सुरक्षित लैजान सम्भव हुनेछन् तिनीहरुलाई सुरक्षित स्थानमा लगिनेछ । जसलाई सार्न सकिँदैन, तिनीहरुको प्रतिरुप तयार गरिनेछ । ऐतिहासिक सम्पदाहरुको सुरक्षाका लागि अन्य भरपर्दा उपायहरु पनि अपनाइने छन् ।
अहम् प्रश्न । प्राचीन तथा ऐतिहासिक सम्पदाहरु तत् स्थानमा नै र सक्कली अवस्थामै रहन दिन किन सकिँदैन ? के त्यहाँ जलविद्युत् बाँध निर्माण गर्नु नै पर्दछ र जसको अभावमा पाकिस्तान सदैव पछि पर्छ ? बरु ती सांस्कृतिक सम्पदाहरुबारेमा पर्यटन उद्योगको विकास गरेर प्रसस्त धन आर्जन गरी पाकिस्तान देशको विकास गर्न सकिँदैन र ? यसरी विकासका नाममा संसारबाट प्राचीन तथा ऐतिहासिक सांस्कृतिक धरोहर कहिलेसम्म नष्ट भइरहने हुन् ? यसको विकल्प खोज्नु पर्छ कि ?
(विभिन्न सामग्री अध्ययनबाट)


























