लक्ष्मी उप्रेती/ मेचीनगर।
भारतले कहिले वस्तु तथा सेवा कर (जीएसटी), त कहिले अदुवामा हानीकारक विषादिको मात्रा पाइएको भन्ने वहानामा अदुवा निकासीलाई अवरोध गरिरहेको छ । योसँगै नेपाली अदुवा निकासीमा बारम्बार अवरोध हुँदा प्रत्येक बर्ष अदुवाको निकासी घट्दै गएको छ । नेपाल सरकारले पनि अदुवा निर्यातका लागि जिल्ला कृषि कार्यालयको सिफारिस अनिवार्य गरेका कारण पूर्वी नाका हुँदै हुने अदुवाको निकासी हरेक वर्ष ओरालो लाग्ने गरेको छ ।
प्लान्ट क्वारेन्टाइन कार्यालयको त्रिवर्षीय तथ्याङ्कले समेत यसलाई पुष्टि गरेको छ । कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷०७५देखि आर्थिक वर्ष २०७६÷०७७ को तीनवर्षको अवधिमा काँकरभिट्टा नाका भएर भारत निकासी हुने अदुवामा हरेक वर्ष गिरावट आएको छ । कार्यालय प्र्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷०७५मा यो नाका भएर ५६ करोड ८६ लाख २८ हजार रुपैयाँ मूल्य बराबरको २४ हजार २ सय ६८ मेट्रिक टन अदुवा भारत र बंगलादेश निकासी भएको थियो । तर, आर्थिक वर्ष २०७५÷०७६मा निकासी हवात्तै घट्ेको कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५÷०७६मा नेपालले २२ करोड २८ लाख ३५ हजार रुपैयाँँ मूल्य बराबरको ९ हजार ९ सय ४८ मेट्रिक टन अदुवा भारत निकासी गरेको थियो । जुन परिमाण ५० प्रतिशत भन्दा पनि कम हो ।
आर्थिक वर्ष २०७६÷०७७ मा भने अदुवा निकासी घटेर १३ करोड ३० लाख ४ हजार मूल्य बराबरको ५ हजार २ सय १४ मेट्रिक टनमा सीमित हुन पुगेको कार्यालय प्र्रमुख राईले जानाकरी दिए । पूर्वी पहाडी जिल्ला संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा व्यवसायिक अदुवा खेती हुने गरेको छ । झापासहित पूर्वी पहाडी जिल्लाहरुबाट संकलन गरी भारत तथा बंगलादेश निकासी गरिने गरिएको व्यवसायीहरुको भनाइ छ । नेपालमा उत्पादन हुनेमध्ये ८० प्रतिशत अदुवा भारतीय बजारमा खपत हुने गरेको छ ।
त्यसको सबैभन्दा बढी हिस्सा ३१ प्रतिशत पूर्वका जिल्लामा मात्र उत्पादन हुन्छ । वरिष्ठ बाली संरक्षण अधिकृतका अनुसार नेपालको नगदे बालीहरुमध्ये अदुवा अलैचीपछि सर्वाधिक विदेश निर्यात हुने कृषि उत्पादन हो । मेचीका चार जिल्लामा वार्षिक अन्दाजी ७०देखि ८० हजार मेट्रिक टनभन्दा बढी अदुवा उत्पादन हुने गरेको नेपाल अदुवा उत्पादक संघले जनाएको छ ।
भारतीय पक्षका विभिन्न वहाना र अवरोधका कारण नेपाली अदुवा निकासीमा बारम्बार समस्या हुनु तथा नेपाल सरकारले अदुवा निर्यातका लागि जिल्ला कृषि कार्यालयको सिफारिस अनिवार्य गरेका कारण पूर्वी नाका हँुदै भारत निकासी हुने अदुवा हरेक वर्ष ओरालो लाग्ने गरेको व्यवसायीहरुको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य एकरुपता नहुनु तथा नेपालमा हरेक वर्ष अदुवाको उत्पादन घट्नुले पनि निकासी ओरालो लागेको हुन सक्ने बताइएको छ ।
भारतले कृषिका लागि आत्मनिर्भर हुने लक्ष्यका साथ दक्षिणी भारतमा व्यवसायिक अदुवा खेती बिस्तार गर्दै गएकाले माग घटेको हुन सक्ने नेपाली कृषकको आशंका छ । कृषि विकास मन्त्रालयले अदुवा निर्यातमा देखिएको समस्या दीर्घकालीन रुपमा समाधान गर्न मन्त्रालयका उपसचिव प्रद्युम्नराज पाण्डेको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो । कृषि विभाग, कृषि उद्यम केन्द्र, बाणिज्य विभागका प्रतिनिधि, व्यवसायीका प्रतिनिधि समितिमा सहभागी थिए । टोलीले झापाको काँकरभिट्टा, बिराटनगर, भैरहवा, नेपालगञ्जलगायतका नाका क्षेत्रमा अध्ययन समेत गरेको सरकारी अधिकारीहरुको भनाइ छ । नेपाल विश्वमा चीन र भारतपछि तेस्रो ठूलो अदुवा उत्पादक मुलुक हो । आन्तरिक खपतपछि लगभग सबै अदुवा भारत तथा बंगलादेश निर्यात हुँदै आएको छ ।
भारतीय भन्सारले नेपाली अदुवामा वस्तु तथा सेवा कर (जीएसटी) लागू गर्न खोजेपछि पूर्वी नाका हुँदै भारत निकासी हुने ठूलो परिमाणको अदुवा एकसातासम्म सीमामा रोकिएको थियो । जीएसटीका कारण अदुवा निकासीमा अवरोध भएपछि करोडौं मूल्यको अदुवा सडेको व्यापारीले बताएका छन् ।
व्यवसायीका अनुसार अदुवाको निर्यात ठप्प भएका कारण मेची भन्सार परिसरमा अदुवा लोड भएका दर्जनौ मालवाहक ट्रक हप्तौंसम्म थन्किएका थिए । यसअघि नेपालवाट निकासी भएको अदुवामा ‘एल्डिकार्ड’ नामक घातक विषादि फेला परेको भन्दै भारतीय भन्सारले करिव तीन साता निकासी अवरुद्ध गरेको थियो । भारतको खाद्य विभागले नेपाली अदुवामा हानीकारक विषादिको मात्रा पाइएको भन्दै भारत निर्यातमा प्रतिबन्ध लगाएको भए पनि परीक्षणका लागि भारत लगिएको नमूनामा कुनै प्रकारको विषादि र मानव स्वास्थ्यमा असर पर्ने वस्तु फेला नपरेपछि भारतीय पक्षले निर्यात खुला गरेको थियो ।
नमूना जाँचका लागि १० क्वीन्टल अदुवा भारत लगिएको थियो, नेपाली अदुवाको नमूना परीक्षणका लागि माग गरेपछि अदुवा पठाइएको थियो । भारतको कोलकातास्थित खाद्य प्रयोगशालाले नेपाली अदुवामा कुनै विषादि नमिसिएको प्रतिवेदन दिएपछि मात्र निकासी खुला भएको थियो । भारतले नेपाली अदुवामा ‘एल्डिकार्ड’ नामक प्रतिबन्धित विषादि फेला परेको भन्दै ‘भारतीय बजारमा प्रवेश नदिन’ आफ्ना सबै भन्सार कार्यालयलाई परिपत्र गरेको थियो । यही परिपत्रका आधारमा करिब दुई सातासम्म कुनै पनि भन्सार नाकाबाट अदुवा भारत छिर्न पाएको थिएन ।
भारतले नेपाली अदुवाको क्वारेन्टाइन परीक्षण कलकता, पटना र लखनउमा गर्दै आएको छ । नेपाली अदुवा राम्रो गुणस्तरको मानिन्छ । कुनै बेला भारतीय कृषिविज्ञ टोली नेपाल आएर यहाँ उत्पादन हुने अदुवालाई ‘उच्च गुणस्तरको’ भनी प्रशंसा गरेको थियो । दक्षिण भारतको कर्नाटकमा अदुवा उत्पादन बढेपछि भने परिस्थिति फेरिएको छ ।
भारतले नेपाली अदुवाको निर्यातमा लगाएको प्रतिबन्धका कारण आर्थिक व्ययभार खेप्न बाध्य नेपाली कृषक र व्यवसायी राज्यले अदुवा निर्यातका लागि जिल्ला कृषि कार्यालयको सिफारिस अनिवार्य गरेका कारण पनि झन् मारमा परेका थिए ।
भारतलाई नेपाली अदुवामा कुनै रोग छैन भन्न र यो नेपालमै उत्पादन भएको अदुवा भन्ने कुराको ग्यारेन्टी गर्न कृषि मन्त्रालयले अदुवा निकासीमा अनिवार्य सिफारिस लागू गरेको अदुवा व्यवसायीहरुको भनाइ छ ।





























