बिर्तामोड।

जिल्ला प्रहरी कार्यालय झापाले एक महिनामा लाखौं मूल्यको अबैध रुपमा नेपाल भित्रिएको सामग्री बरामद गर्दै भन्सार बुझाएको छ ।
कोरोना भाइरसका कारण नेपाल भारत सीमा नाका बन्द भए पनि अबैध रुपमा हुने चोरी तस्करी बढेसँगै प्रहरीले सक्रियता बढाउँदा ती सामान बरामद गरिएका हुन् ।
यसैक्रममा साउन महिनामा मात्रै ५३ लाख ९ हजार ५ सय ३० रुपैयाँ मूल्य बराबरका अबैध सामग्री बरामद गरेर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानबाट १० लाख ९१ हजार आठ सय ७० रुपैयाँ मूल्य बराबरको लत्ताकपडा, २३ हजार २ सय ६० रुपैयाँ मूल्य बराबरको किराना सामग्री, दुई लाख ९ हजार ५ सय रुपैयाँ मूल्य बराबरको विद्युतीय सामग्री, एक लाख ६३ हजार रुपैयाँ मूल्य बराबरको सवारी पार्टपुर्जा बरामद गरी भन्सार कार्यालय बुझाएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।
प्रहरीले ३८ लाख २१ हजार ९ सय रुपैयाँ मूल्य वरावरका चोरी तस्करी तथा अबैध छलीका विभिन्न सामानहरु बरामद गरेर भन्सार बुझाएको छ । सीमावर्ती क्षेत्रबाट चोरी तस्करी बढेको जनगुनासो आएसँगै प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको र एक महिनामा नै ५३ लाखभन्दा बढीको अबैध सामग्री पक्राउ गरेर भन्सार बुझाउन सफल भएको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।
चार्डपर्व नजिकिएसँगै लत्ताकपडा तथा विद्युतीय सामग्रीको चोरी तस्करी बढेको सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको बताइएको छ । प्रहरीले साउन महिनामा मात्रै ४० हजार रुपैयाँ बरावरको पशु चौपाया नियन्त्रणमा लिएर भन्सार बुझाएको छ ।




























