सरकार अकर्मण्य नबनोस्

0
1265

सम्पादकीय

कोभिड–१९ ले आतंक सृजना गरेको पाँच महिना पुग्नै लाग्यो । शुरुको तीन महिना देश सम्पूर्णरुपमा बन्दाबन्दीमा गयो । त्यसपछिको एक महिना केही खुकुलियो । त्यही खुकुलिएको समय कोभिडको संक्रमण व्यापक हुँदै जाँदा अहिले समुदाय नै प्रभावमा पर्दै गएको घटनाहरुले देखाउँदैछ । विश्वलाई महामारीको चपेटामा पु¥याएको कोभिड–१९ लाई रोकथाम गर्न, नियन्त्रण र उपचार गर्न राज्यको संयन्त्र असफल भइरहेका बेला हामी र हामी जस्ता विकासमा पछि परेको देशहरुले अनपेक्षित क्षति व्यहोर्नुपर्ने निश्चित छ । हामी कहाँ सरकारले बन्दाबन्दीमार्फत रोकथामको बाटो रोज्यो । तर, व्यवस्थापनका अभावमा विश्वासयोग्य उपाय असफल भयो र स्थिति महामारीको चपेटामा प¥यो । अहिले साढे तीस हजार जना कोभिड–१९ को संक्रमणमा छौं । त्यसमध्ये बाह्र हजार जनाभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दिनहुँ हजार जनाको आसपासमा संक्रमित थपिने क्रम रहेको छ । जसले कोभिड–१९ को महामारीबाट उत्पन्न हुनसक्ने भयावहताको तस्वीर देखाउँछ ।

अहिले विस्तार भइरहेको संक्रमण जटिलतातर्फ उन्मुुख हुन थालेको जनस्वास्थ्यविद् र जानकारहरुले बताउन थालेका छन् । संक्रमणको सूत्र टुटाउन भौतिक दूरी नै कायम गर्नुपर्ने आजसम्मको भरपर्दो मान्यता हो । हुन पनि बन्दाबन्दीको पहिलो चरणमा संक्रमण र मृत्युदर न्यून थियो भने खुकुलिए लगत्तै आवागमन बाक्लिँदा ह्वात्तै बढेको तथ्यांकले नै पुष्टि गरेको छ । बढ्दो संक्रमण र अनिश्चितताबीच स्थानीय सरकारहरुले कतै बन्दाबन्दी, कतै सिल र कतै निषेधाज्ञा नै जारी गरेका छन् भने कतिले सेना परिचालन गरेर संक्रमणको ‘सिक्री’ तोड्ने प्रयास गरेका छन् । तर, परिणाम अपेक्षित आइरहेको छैन । देशलाई बन्द गरेर जनतालाई सुरक्षित राख्ने उपाय अवलम्बन गर्न सरकार असफल भयो । चार महिना बन्द हुँदा पनि सरकारले विकल्प, प्रतिरक्षा र उपचारमा नयाँ कुरा दिन सकेन । जनताको रोजगारी समेत गुमेको अवस्थामा विकल्प दिन नसक्दा सरकार अकर्मण्य बनेको आरोप खप्न बाध्य भयो । आज पनि क्वारेन्टिनमा बसेकाहरु अवधि पूरा गरिसक्दा पनि परीक्षण नभएको दुखेसो गर्दैछन् । सम्पर्क पहिचान, परीक्षण र उपचार सेवा सहज भइरहेको छैन ।

संक्रमित बढेको अनुपातमा आइसोलेसनको क्षमता बढाइएको छैन । परिणाम उपचार नै नपाई संक्रमितको ज्यान जान थालेको छ । लक्षणसहित गम्भीर प्रकृतिका विरामी थपिने क्रमको तुलनामा सघन उपचार कक्ष, भेन्टिलेटर लगायतका सेवाको अभाव देखिन थालेको छ । संक्रमणको यो अवधिमा एकसय सैंतीस जनाको ज्यान गइसकेको सन्दर्भले सबैले असुरक्षित महशुस गर्नुपर्ने अवस्था आएको छ । जनतालाई घरभित्र थुनेर मात्र विद्यमान संकटको अन्त्य हुँदैन । बन्द गर्ने अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरेको केन्द्रीय सरकारले जनस्वास्थ्यको मापदण्डको पालना गराउँदै यसको नियन्त्रण र उपचारमा क्षमता विस्तार गर्नु पर्दछ । यसका लागि आवश्यक सहयोग लिएर जनताको विश्वास जित्ने वातावरण बनाउनु पर्दछ । क्षमतावान, विषयविज्ञहरुको पूर्णसाथ, सहयोग र सक्रियता बढाउने वातावरण बनाएर मात्र कोभिड कहरबाट मुक्ति पाउन सकिएला । यसतर्फ सम्बद्ध पक्षको गम्भीरता देखियोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here