झापा विद्रोहका योद्धा स्व.डिगेन्द्रको परिवारलाई खाद्यान्न तथा नगद

0
1072

तुलसीप्रसाद निरौला /बिर्तामोड ।

तत्कालिन एमालेका पुराना नेता एवम् झापाली कम्युनिष्ट आन्दोलनलाई शिखरमा पुयाउने झापा विद्रोहका योद्वा स्व. डिगेन्द्र राजवंशीेको परिवारलाई राहतका लागि सामाजिक अभियानले खाद्यान्न तथा नगद प्रदान गरेको छ ।

मेचीनगर नपा –१३ उत्तरगङ्गा टोल निवासी स्व. डिगेन्द्र राजवंशीेकी श्रीमती प्रमिला राजवंशीलाई राहतका लागि सामाजिक अभियानकोतर्फबाट एक सय ५० केजी चामल , पाँच लिटर खानेतेल , पाँच केजी दाल , चार केजी नुन र फलफूलका लागि नगद एक हजार पाँच सय प्रदान गरिएको अभियन्ता गायक गणेश ढुङ्गानाले बताए ।

राहतका लागि सामाजिक अभियानका अध्यक्ष जगतबहादुर रानामगरको अध्यक्षता तथा मेचीनगर नपा –१३ का वडाध्यक्ष कृष्णराज सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा समाजसेवी तथा निर्माण व्यवसायी शेरबहादुर थापा , भ्रष्टाचार विरोधी अभियन्ता महेन्द्र प्रसाईं, गायक मातृकाप्रसाद सग्रौला, मोसेस खड्का, दिपक श्रेष्ठ, गङ्गा उप्रेती, सुनिता धिमाल र सुवर्ण भण्डारीले स्व. डिगेन्द्र राजवंशीेकी श्रीमती प्रमिला राजवंशी र छोरा ऋषि राजबंशीलाई निवासमै गएर खाद्यान्न तथा नगद प्रदान गरेका थिए ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको महामारीको समयमा गरीव तथा विपन्न अवस्थामा रहेका झापा विद्रोहका योद्वा स्व. डिगेन्द्र राजवंशीेको परिवारलाई सहयोग पुगोस् भनेर खाद्यान्न तथा नगद प्रदान गरेको समाजसेवी तथा निर्माण व्यवसायी शेरबहादुर थापाले बताए ।

मुलुकको परिवर्तनका लागि योगदान पुर्याएका स्व. डिगेन्द्र जस्ता योद्धाहरुलाई राजनीतिक आस्थाका आधारमा कसैले पनि उपेक्षा गर्न नमिल्ने बताउँदै थापाले स्व.राजवंशीको परिवारलाई सहयोग गर्न माग गरे ।

२०२८ सालमा नेकपा मालेबाट राजनीतिमा होमिएका स्व. डिगेन्द्र २०३३ सालमा झापा आन्दोलन हुँदा केपी शर्मा ओली, राधाकृष्ण मैनाली, वीरेन राजवंशी, सीपी मैनाली, मोहनचन्द्र अधिकारीहरुका समकक्षी थिए । उनी तत्कालीन मालेका नेताहरूलाई सेल्टर दिएर सघाएको आरोपमा राज्यविरुद्धको अभियोगमा गरामनीको कोल्हाटोलीबाट गिरफ्तार भएपछि १० वर्ष लगातार जेल बसेका थिए।

चन्द्रगढी, वीरगन्ज हुँदै नख्खु जेल पुगेका उनी २०३६ माघ ३० गते सर्वाेच्च अदालतको आदेशपछि उनी जेलमुक्त भएका थिए। २०२९ साल माघ ९ मा पार्टी सदस्यता लिएका उनी आजीवन नेकपा एमालेमा सक्रिय रहे । २०४६ र २०६२÷०६३ सालको जनआन्दोलनमा समेत सक्रिय उनलाई २०६३ वैशाख ६ गते चन्द्रगढीमा भएको प्रदर्शनका क्रममा खुट्टामा गोली लागेको थियो । उनी आफ्नो पार्टी सरकारमा भएको बेला कान्छो छोरा शम्भूलाई जागिरमा लगाउन २०६६ फागुन ४ गते काठमाडौं हिँडेका थिए ।

काठमाडौमा उनले प्रधानमन्त्री, गृहमन्त्री, पार्टी अध्यक्ष र सबैजसो केन्द्रीय नेताहरुलाई भेटेर कान्छो छोरा शम्भूलाई जागिरको व्यवस्था गरिदिन आग्रह गरेका थिए । एमालेको मुख्य कार्यालय बल्खुमा धाएर नेतालाई आग्रह गर्दा पनि छोराको जागिर पक्का गर्न नसकेपछि जागिर लगाउन नसकेको भन्दै चिन्तित डिगेन्द्रले एमालेको मुख्य कार्यालय बल्खु काठमाडौंमा २०६७ वैशाख ३ गते झुन्डिएर आत्मदाह गरेको बताइएको छ । उनका छोरा शम्भूले स्व. डिगेन्द्रले आत्महत्या गरेको चार महिनापछि तत्कालिन दुवागढी– ५ स्थित आफ्नै घर नजिकै आत्महत्या गरेको बताइएको छ ।

कार्यक्रममा स्व. डिगेन्द्र राजवंशीेका छोरा ऋषि राजबंशीले आफ्नो वुवा डिगेन्द्रले पार्टी र नेताका लागि ज्यानको वाजी लगाएर काम गरेपनि नेताहरुको व्यवहार र शैलीका कारण मृत्युवरण गर्नुपरेको बताए । नेताका लागि जनता संधै भोटवैंक मात्र हुनुपरेको वताउँदै उनले अफ्ठ्यारो परेको वेला नेताहरुबाट कहिल्यै सहयोग प्राप्त नहुने वताए । आफूहरुलाई समस्या परेको वेलामा राहतका लागि सामाजिक अभियानले गरेको सहयोग प्रति धन्यवाद दिएका थिए । गायक मातृकाप्रसाद संग्रौला र गणेश ढुंगानाले कोरोना सचेतना सम्बन्धी गीत गाएको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी रञ्जित परियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here