सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल
अर्जुनधारा।

झापाको अर्जुनधारा नगरपालिकामा कछुवालाई पनि क्वारेन्टिनमा राखिएको छ । झट्ट सुन्दा अचम्म लागे पनि अर्जुनधारा नगरपालिकास्थित सुखानी शहीद स्मृति प्रतिष्ठानको ‘कछुवा उद्धार तथा संरक्षण केन्द्र’ मा रहेका कछुवामध्ये बिरामी र बच्चा कछुवालाई क्वारेन्टिनमा राखिएको हो ।
केन्द्रमा अहिले विभिन्न आठ प्रजातिका कछुवाहरु संरक्षण गरेर राखिएको छ । विश्वमा नै अति संकटापन्न अवस्थामा रहेको कछुवालाई विगत आठ बर्ष अघिदेखि उद्धार गर्न शुरु गरिएको थियो । ‘कछुवा उद्धार तथा संरक्षण केन्द्र’ले उद्धार गर्न ल्याइएका कछुवालाई शुरुमा केही दिन क्वारेन्टिनमा राख्ने गरेको र त्यसपछि मात्रै छाड्ने गरेको टीआरसीसी टटल्स क्लवका कार्यक्रम निर्देशक सविन अधिकारीले बताए । उनले भने– सन् २०१२ बाट जर्मनी संस्था आर्काे नेपालको सहयोगमा प्रतिष्ठानले कछुवा संरक्षण केन्द्र सञ्चालन गरेको हो । यहाँ संरक्षणका लागि ल्याइएका कछुवाहरुलाई शुरुमा क्वारेन्टिनमा नै राख्ने गरिएको छ ।
वाहिरबाट उद्धार गरेर ल्याएका कछुवा बिरामी हुन सक्छन्– अधिकारीले भने– उद्धार गरेर ल्याइएका कछुवालाई उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ भनेर यकिन नगरी छाडिँदैन । यदि बिरामी भएको खण्डमा उपचारपछि पूर्ण रुपमा निको भएर मात्रै खुल्ला रुपमा छाड्ने गरिएको छ । केन्द्रमा अहिले ४० भन्दाबढी कछुवा छन् । बन्दाबन्दीको समयमा कछुवाको प्रजनन्् भएसँगै चारवटा कछुवाका बच्चा उत्पादन भएका छन् । उत्पादन भएका चारबटै बच्चालाई अहिले क्वारेन्टिनमा राखिएको छ ।
कछुवा जमिन र पानी दुवै ठाउँमा बस्न सक्ने उभयचर जीव हो । पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ । पानीमा बस्ने कछुवाका लागि केन्द्रले छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको टीआरसीसी टटल्स क्लवका कार्यक्रम निर्देशक अधिकारीले बताए । कछुवासंग सम्बन्धित ‘भेटनरी’ नभएका कारण कछुवाको भित्री इन्ज्यूरी पत्ता लगाउन चाहिँ हामीलाई गाह्रो हुन्छ– अधिकारीले भने– हामीले कछुवाको वाहिरी अबस्था हेर्ने, खाने÷नखाने छुट्याउने, उसको दिनचर्या कस्तो छ, त्यो विचार गरेर मात्रै निरोगी कछुवासँग छाड्ने गरेका छौं । कछुवाको विषयमा अध्ययन अनुसन्धान गर्ने धेरै भए पनि रोगसंग सम्बन्धित व्यक्ति भने नेपालमा नभएको अधिकारीको भनाइ छ ।
समुदायमा आधारित भएर सञ्चालनमा ल्याइएको कछुवा संरक्षण केन्द्र सुखानी शहीद स्मृति प्रतिष्ठानको तीन विगाह क्षेत्रफलमा फैलिएको छ । यहाँ विश्वमै दुर्लभ मानिएका कछुवा समेत संरक्षण गरेर राखिएको टीआरसीसी टटल्स क्लवका कार्यक्रम निर्देशक अधिकारीले बताए । कछुवा उद्धार तथा संरक्षण केन्द्रमा संरक्षण गरेर राखिएका कछुवामध्ये झापाको टाङटिङ, बिरीङ खोलामा मात्र पाइने लोपोन्मुख ध्वाँसे–कडे–पाते कछुवासहित अहिले आठ प्रजातिका कछुवा संरक्षण गरिएको छ । जहाँ चार प्रजातिका अतिसंकटापन्न कछुवालाई संरक्षण गरिएको छ ।
त्यस्तै विदेशमा मात्रै पाइने रातो काने कछुवा पनि संरक्षण गरेर राखिएको अधिकारीले बताए । संरक्षण केन्द्रमा अहिले ठोटरी अर्थात् विश्वमा नै अतिसंकटापन्न अवस्थामा रहेको कछुवा राखिएको छ । यो विशेषगरी सालसंग सम्बन्धित जंगलमा मात्रै बस्न रुचाउने कछुुवा हो । यो कछुवा मध्यपहाड र तराईमा पाइने गरेको अधिकारीले बताए । यो कछुवालाई मानिसले मासुका लागि घरमा पाल्ने समेत गरेका छन् । जसका कारण यसको संख्या घटेर गएको अधिकारीले बताए ।
केन्द्रमा नरम खवटे कछुवा समेत राखिएको छ । यो कछुवा वर्षायाममा धेरै देखिन्छ । यसलाई टिक्टिके पनि भन्ने गरिन्छ । यो प्रजातिको कछुवा पानीमा बस्न रुचाउँछ । त्यस्तै पोखरीमा राखिएको अर्काे कछुवा हो पहेंलो धुरे । योसंगै भारतीय धुरे कछुवा समेत संरक्षण गरेर राखिएको अधिकारीले बताए ।
कछुवा संरक्षणका लागि प्रतिष्ठानले सानाठूला पोखरी, खुला ठाउँ, सुरक्षित घेराबारा, बोटबिरुवा रोपण गरेको छ । जहाँ झापाका विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका कछुवालाई छाडिएको छ । कछुवा संरक्षण तथा प्रजनन केन्द्र सञ्चालनमा आएदेखि जिल्लाको मेची बहुमुखी क्याम्पस, विराटनगर, चितवन, काठमाडौं, धनगढीलगायत स्थानबाट बिद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । अहिले पनि दुई जना बिद्यार्थीले कछुवाकै विषयमा थेसिस लेखिरहेका छन्– अधिकारीले भने– बिराटनगर पोस्ट ग्राजुएट क्याम्पस, सेन्टर डिपार्टमेन्टल इन्भारोमेन्टका विद्यार्थी यहाँ थेसिस गरिरहेका छन् ।
जिल्लामै पहिलोपटक सञ्चालनमा आएको कछुवा संरक्षण केन्द्रमा राखिएका कछुवाको प्रजनन् भएसंगै कछुवाको संरक्षणमा टेवा पुग्ने अधिकारीको विश्वास छ । वन्दाबन्दीको समयमा मानिसको आवागमन कम भएका कारण कछुवाको प्रजनन्मा सहयोग पुगेको हुनसक्छ– अधिकारीले भने– अन्य समयमा मानिसको आवागमन भइरहने हुँदा कछुवा सहज रुपमा रमाएका रहेनछन् ।
पर्यावरण सन्तुलन राख्न समेत कछुवाको महत्वपूर्ण भूमिका रहने भन्दै अर्जुनधारा नगरपालिकाले कछुवा संरक्षित नगर घोषणाको तयारी गरेको छ । जसका लागि नगरले पाँच लाख रुपैयाँ अघिल्लो वर्षमा नै बजेट छुट्याए पनि कोरोना महामारीका कारण कार्यक्रम गर्न नसकिएको नगरप्रमुख हरि रानाले बताए । यो आर्थिक वर्षमा कछुवा संरक्षणका लागि नगरले भूमिका खेल्छ– नगरप्रमुख रानाले भने ।
यता कछुवाको संरक्षणका लागि टटल्सका पदाधिकारीहरुले १२ जिल्लामा ७० जनाले चेतना फैलाउँदै अभियान नै सञ्चालन गरेका छन् । केहीले भने कछुवाका अण्डाहरुलाई कृत्रिम वातावरणमा कोरोल्नका लागि ‘इन्क्युवेटर’ मोडलको घर तयार गरिएको छ । जहाँ अधिकारीसहित सरोज चौहान, बिज्ञान खरेल, रोशन पहरीको अग्रसरता रहेको छ । उनीहरुकै अग्रसरतामा ‘इन्क्युवेटर’मा कछुवाका अण्डा कोरल्न उचित वातावरण तयार गरिएको छ । तर, संरक्षण केन्द्रमा खुल्ला छाडिएका कछुवाले अहिलेसम्म झण्डै एक सयको हाराहारीमा बच्चा कोरलेको हुनसक्ने अनुमान समेत गरिएको छ । खुल्ला छाडिएका कछुवाको चोरी तस्करी हुने भएकाले संरक्षणमा समस्या हुने खतरा बढेसंगै ‘इन्क्युवेटर’मा अण्डा कोरल्ने पद्धतिको विकास गरिएको बताइएको छ ।
प्राणीशास्त्रीहरूले कछुवालाई मुख्यतः तीन भागमा बाँडेर अध्ययन गर्ने गरेका छन । यसमध्ये पहिलोमा समुद्री (टर्टल) कछुवा पर्छ भने दोस्रोमा मीठो पानीमा पाइने कछुवा (टेरापिन) र तेस्रो जमिनमा पाइने कछुवा (टारटायस) पर्दछ । यहाँ अध्ययनका लागि आउने बिद्यार्थीसहितका विज्ञले कछुवाका विषयमा गहिरो अध्ययन अनुसन्धान गर्दै आएको बताइन्छ ।
मानिसको भन्दा झण्डै दोब्बर आयु भएको कछुवाले ४ देखि ९ वटासम्म अण्डा पार्ने गरेको र अण्डा पारेको एकसय ७० दिनको हाराहारीमा आफूहरुले ‘इन्क्युवेटर’मा अण्डा कोरल्ने वातावरण तयार गरेको कार्यक्रम निर्देशक अधिकारी बताउँछन् ।































