शैक्षणिक सुधारमा कार्यमूलक अनुसन्धानको महत्व

0
3187

तीर्थराज खरेल,

कक्षाकोठामा शिक्षण गराउँदा शिक्षकले सामना गर्नुपरेका अप्ठ्यारा, कठिनाई, चुनौति र राम्रा अभ्यासहरू मध्यनजर राखी विद्यालयको कुशल व्यवस्थापन र शिक्षण सिकाइको प्रभावकारिताका लागि कार्यमूलक अनुसन्धानले महत्वपूर्ण भूमिका खेल्दछ । विद्यालय शिक्षामा प्राप्त भएका उल्लेख्य शैक्षिक उपलब्धिहरूको विस्तार र विद्यालयमा देखापरेका विविध किसिमका समस्याहरूको समाधानका लागि कार्यमूलक अनुसन्धानलाई शिक्षणमा प्रयोग गर्न सकिन्छ । कार्यमूलक अनुसन्धान भनेको व्यावहारिक कठिनाई एवम् समस्या समाधान गर्ने अभिप्रायले सञ्चालन गरिने शोध कार्य हो ।

शैक्षणिक क्रियाकलापका क्रममा देखापरेका समस्यालाई पहिचान गर्दै तत्काल समाधान गर्न गरिने उद्देश्यले गरिने अनुसन्धान नै कार्यमूलक अनुसन्धान हो । यो शिक्षाको निश्चित क्षेत्रमा देखा पर्ने व्यावहारिक समस्याको वैज्ञानिक अध्ययनसँग सम्बन्धित छ । कक्षा शिक्षणमा शिक्षकले आफूले अध्यापन गराउने विषयमा आइपर्ने समस्याको पहिचान गरी तिनको समाधान तथा सुधारको उपाय पत्ता लगाउन गरिने खोजमूलक कार्य नै कार्यमूलक अनुसन्धान हो । यसमा समस्याको समाधान तत्काल खोजिन्छ । शिक्षकले आफ्नो शिक्षणमा, प्रधानाध्यापकले आफ्नो विद्यालय सञ्चालन र व्यवस्थापनमा, निरीक्षकले आफ्नो सुपरीवेक्षण लगायत प्रशासनिक कार्यमा सुधार गर्नु कार्यमूलक अनुसन्धानभित्र पर्दछ ।

अर्को शब्दमा भन्ने हो भने अध्यापन गराउँदा आउने समस्याको पहिचान, समस्या समाधान तथा सुधारका उपायहरू पत्ता लगाउन गरिने खोजमूलक कार्यलाई कार्यमूलक अनुसन्धान भनिन्छ । तसर्थ, कक्षाकोठा शिक्षणका क्रममा शिक्षकले सामना गर्नुपरेका अप्ठ्यारा, कठिनाई, चुनौति र राम्रा अभ्यासहरूलाई मध्यनजर राखी विद्यालयको कुशल व्यवस्थापन र शिक्षण सिकाइमा प्रभावकारिता ल्याउनका लागि कार्यमूलक अनुसन्धानको उपादेयता तथा महत्व रहन्छ । विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले सामना गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्ष मानिन्छ । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक र शैक्षणिक क्रियाकलाप समस्यामुक्त बनाउने काम नै कार्यमूलक अनुसन्धानको अभिष्ट हो ।

वास्तवमा यो गरेर सिक्ने विधि हो । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्षक–विद्यार्थी दुबै पक्ष लाभान्वित गरिने क्रियाकलाप कार्यमूलक अनुसन्धान हो । यो नामैले अर्थ र काम स्वयम् बोलिरहेको छ । सारमा यो अनुसन्धान कार्यमूलक विज्ञान नै हो । भनिन्छ– शिक्षक आफैंमा एक अनुसन्धानकर्ता हो । अनि वास्तविक कक्षाकोठाहरु नै प्रयोगशाला हुन् र ती शिक्षकबाटै निर्देशित हुन्छन्, न कि बाह्य अनुसन्धानकर्ताहरुबाट । शिक्षक मात्र त्यस्ता व्यक्ति हुन्, जसले विद्यालयलाई बुझेर परिवर्तन गर्न सक्छन् । यस प्रकारको अनुसन्धान शिक्षकको पेसागत कामसँग प्रत्यक्ष जोडिएको छ ।

समयको बदलिँदो परिस्थितिसँगै भित्रिएको आधुनिकताले विज्ञान र प्रविधिको क्षेत्रमा तीव्र विकास भएको छ र शिक्षामा पनि यसको प्रभाव परिरहेको छ । नयाँ–नयाँ ज्ञान र प्रविधिको विस्तारसँगै शैक्षिक विधि र प्रविधिहरु पनि थपिँदै गएका छन् । विकसित समयको माग अनुसार शिक्षकहरु पनि समायोजित तथा सबल बन्दै जानुपर्ने शिक्षामा थपिएका नयाँ–नयाँ विषयवस्तु तथा परिवर्तित एवम् विकसित पाठ्यक्रम तथा पाठ्यपुस्तक अनुसार शिक्षण गर्नुपर्ने परम्परागत रुपमा शिक्षण गरिरहने हामी शिक्षकले शिक्षण क्रममा भोगेका विविध समस्याहरुप्रति सचेत भई समस्या समाधानको लागि आवश्यक सल्लाह, सुझाव एवम् परामर्श लिइरहनुपर्छ ।

कार्यमूलक अनुसन्धानले शिक्षकको पेशागत दक्षताको अभिवृद्धि गर्न, शिक्षणको सिलसिलामा देखिएका समस्या समाधानका लागि शैक्षिक सामग्रीको प्रयोग गर्न, व्यक्तिगत भिन्नताको पहिचान, खोजविधिमा शिक्षकलाई अग्रसर बनाउन, भाषिक सीप शिक्षणका क्रममा देखिएका समस्या र परिवर्तित सन्दर्भ अनुसार शिक्षण गर्दा देखिएका समस्याको समाधान गर्न, आफ्नो कार्यशैलीमा सुधारसहितको परिवर्तन ल्याउन सहयोग पु¥याउँछ । कार्यमूलक अनुसन्धान शिक्षणको एक महत्वपूर्ण प्रयोगात्मक पक्ष हो । जसले शिक्षण सिकाइको कुनै पनि अवस्थालाई सुधारात्मकरुपमा अघि बढाउँछ । सामान्यतया कक्षा शिक्षण सिकाइ क्रियाकलापको क्रममा कक्षा कोठामा देखिएका शिक्षण सिकाइ सम्बन्धी तत्कालीन समस्याहरुको समाधान गर्ने उद्देश्यले यसको प्रयोग गरिन्छ । कार्यमूलक अनुसन्धानले शिक्षक तथा विद्यार्थीको शिक्षण सिकाइमा ठोस परिवर्तन ल्याउँछ । शैक्षिक समस्याको पहिचान, सुधार र समाधानमा यस अनुसन्धानको विशेष महत्त्व हुन्छ । शिक्षणको सिलसिलामा थुप्रै समस्याहरु र बाधा अड्चनहरु देखापर्ने गर्दछन् । कार्यमूलक अनुसन्धान कार्य सम्पन्न गर्नका लागि अवलोकन, छलफल, खोज, प्रयोगात्मक विधिहरु छनौट गरिन्छ साथै प्रश्नावली तयार गरी विद्यार्थीहरुको उत्तरपुस्तिका परीक्षण लगायतका विधि अवलम्बन गरिन्छ ।

यसरी जटिल ज्ञान र सीपलाई सरल बनाउने, शिक्षकको शिक्षण कला र सीपमा सुधार ल्याउने, सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गराउने, शिक्षणका क्रममा देखिएका समस्याको पहिचान गरी समाधानको उपाय सुझाउने, शिक्षकको शिक्षण क्षमतामा वृद्धि गराउनुको साथै शिक्षकलाई सिर्जनशील र क्रियाशील बनाउने, विद्यार्थी, विद्यालय र शिक्षकलाई अवस्था अनुसार बद्लिन सक्ने योग्यता प्रदान गर्ने, अध्ययन र परिणामलाई व्यक्तिगत बनाउने, शैक्षिक गुणस्तरमा सुधार ल्याउने, निरन्तररूपमा पृष्ठपोषण प्रदान गर्ने, सिकाइ तथा अनुभवको आदान प्रदान गर्ने वातावरण सिर्जना गर्ने, शिक्षकमा प्रबद्र्धनात्मक कार्यप्रति जागरण पैदा गर्ने लगायतका काम गर्दछ ।

निजी वा संस्थागत विद्यालयमा सामान्यतया कार्यमूलक अनुसन्धान गर्ने काम गरिन्न । राज्यको लगानीबाट सञ्चालित सामुदायिक विद्यालयप्रति अभिभावक र सरकारको बढी दृष्टि पर्ने गरेको छ । ‘सामुदायिक विद्यालयको शिक्षा काम लागेन । तालिम प्राप्त शिक्षक भए पनि सिकाइ प्रभावकारी भएन । उनीहरूले पाएको तालीम कक्षाकोठामा पुगेन । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोग देखिँदैन । शिक्षकहरू प्रतिबद्ध भएनन् । शिक्षकहरूमा जागिरे प्रवृत्ति हाबी भयो ।’ देशको शैक्षिक अवस्थाका प्रसङ्गमा यस्तै आशयका कुरा बारम्बार सुनिन्छन् । यस्ता गुनासा असत्य होइनन् । तर, धेरै शिक्षक, प्रधानाध्यापक तथा शिक्षा प्रशासकहरू कक्षाकोठाको सिकाइ वातावरणप्रति चिन्तित र क्रियाशील नभएका पनि होइनन् । शिक्षकहरू विद्यार्थीको सिकाई स्तर, अभिभावकको चेतना तथा न्यून लगानीका कारण सिकाइ उपलब्धि बढाउन नसकिएको ठान्छन् ।

शिक्षा प्रशासकहरू भने शिक्षकको गैरजिम्मेवारी, कक्षाकोठाको रूखो वातावरण, सन्दर्भ सामग्रीको अभाव, शैक्षिक सामग्रीको न्यून प्रयोग र विद्यार्थीको कमजोर पठन संस्कृति जस्ता कारणले शैक्षिक क्षति बढिरहेको ठान्छन् । वास्तवमा हाम्रा सामुदायिक विद्यालय भौतिक रूपमा पहिलेभन्दा सबल छन् । विद्यालयको विकासभन्दा प्रायः भौतिक विकास नै बुझ्mिन्छ र त्यसैमा जोड दिइन्छ । कतिपय विद्यालय भौतिक, शैक्षिक र व्यवस्थापकीय सबै क्षेत्रमा नमुना विद्यालयको रुपमा विकास भइरहेका पनि छन् । तथापि भवन निर्माण, मर्मत, खेलमैदान लगायतका कुरामा सम्बन्धित सबैको चासो हुन्छ, तर शैक्षिक सामग्री, सन्दर्भ सामग्रीको खरिद, प्रयोग र तिनीहरुको उचित संरक्षणमा कमै अभिरुचि देखिन्छ । किनिहाले पनि प्रयोगमा आउन मुस्किलै पर्छ । सिकाइ उपलब्धि वृद्धि नहुनुको प्रमुख कारण विद्यार्थीको अनुपस्थितिलाई देखाइन्छ, तर यस्तो किन भइरहेको छ भन्नेमा कमैको ध्यान जाने गर्छ ।

विद्यार्थी किन कक्षामा उपस्थित हुँदैनन् त भन्ने प्रश्नले भने विद्यालयको वातावरण रुखो भएको र पढाइप्रति विद्यार्थीको अरुचि भएको पुष्टि गर्छ । कक्षाकोठाको निर्गतिलो वातावरण, शैक्षिक सामग्रीको प्रयोगमा कमी, शिक्षक केन्द्रित विधिको एकोहोरो प्रयोग, शिक्षक र विद्यार्थीबीचको रूखो सम्बन्ध, विद्यालयको निरस वातावरण तथा घरायसी परिस्थिति र प्राथमिकताका कारण विद्यार्थीहरू कक्षामा नियमित उपस्थित हुँदैनन् । यी समस्या निराकरण गरी सुधारका काम गर्न कार्यमूलक अनुसन्धानले सहयोग पु¥याउँछ ।

निचोडमा बुझ्ने हो भने एउटा शिक्षकले आफ्नो शिक्षण कार्यमा प्रतिदिन सामना गर्नु परेका समस्याहरु जुन स्वयम् शिक्षकले अनुसन्धान मार्फत् समाधान गर्न सक्ने प्रकारका हुन्छन्, तिनीहरुलाई हल गर्ने विधि हो । पाठ्यक्रम कार्यान्वयनमा सुधार गर्न, कक्षाकोठाका समस्याहरु समाधान गर्न, स्थानीय समस्या स्थानीय तहमै समाधान गर्न, समस्या समाधान गर्न वैज्ञानिक चिन्तनको विकास गर्न, विद्यालय प्रणालीलाई प्रभावकारी बनाउन, सिकारुहरुको शैक्षिक उपलब्धिस्तर उकास्न, शिक्षण विधि र शैक्षिक सामग्रमा सुधार गर्न, प्रजातान्त्रिक मूल्य–मान्यता र प्रवृत्तिको विकास गर्न कार्यमूलक अनुसन्धानले सहयोग पु¥याउँछ ।

वैज्ञानिक चिन्तनको विकास, अनुसन्धान, पाठ्यक्रम कार्यान्वयन र विषय क्षेत्र सम्बन्धी समस्या समाधान, विद्यार्थी उपलब्धिको स्तर वृद्धि, शिक्षण सिकाइ सम्बन्धी त्रुटिमा सुधार, सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्न सहयोग, शिक्षक–विद्यार्थीबीचमा सामाजिक कारणले आएको भिन्नता न्यूनीकरणमा सहयोग लगायतका महत्त्वपूर्ण कार्य यस प्रकारको अनुसन्धानले गर्दछ । शैक्षणिक व्यवस्थापनले शिक्षण कार्यलाई निर्वाध रूपमा अगाडि बढाउन आवश्यक पर्ने सम्पूर्ण पक्षहरूको समुचित ढङ्गले प्रबन्ध मिलाउने भएकोले उपयुक्त शैक्षणिक व्यवस्थापनको अभावमा पाठ्यक्रमले तोकेको शैक्षिक उपलब्धि हासिल गर्न शिक्षकलाई कार्यमूलक अनुसन्धानले आधार प्रदान गर्दछ । तसर्थ, कार्यमूलक अनुसन्धानलाई विद्यालयको शैक्षणिक र व्यवस्थापकीय सुधारसँग जोडेर लैजान आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here