अवैध निकासीको उपचार खोज

0
1234

सम्पादकीय

इलामको चिया विश्वमा प्रशिद्ध छ । शुरुमा सदरमुकाममा रोपण गरी प्रारम्भ भएको व्यावसायिक चियाखेती कालान्तरमा झापा हुँदै धनकुटामा समेत विस्तार भएको छ । थोरै कारखानाबाट तयारी हुँदै आएको चिया अहिले व्यक्तिगत, सामुहिकरुपमा स्थापित धेरै कारखानाहरुबाट उत्पादन हुँदै आएको छ । नगदेवालीको रुपमा लिइने चियाखेतीमा आकर्षण बढ्न गई साना किसानले समेत खाद्यान्न उत्पादन छाडेर यसकै खेतीमा आफूलाई लगाए । सरकारले पनि चियाखेतीलाई प्राथमिकता र सुविधा दिएका कारण थोरै क्षेत्रफलमा समेत चिया लगाएर हरियोपत्ती कारखानालाई बिक्रीवितरण गर्न थालियो । तर, पछिल्लो समय कतिपय साना चिया किसान देशको परिस्थिति, चिया उद्योगीहरुको असहयोग र मनपरीबाट आजित भएर फेरि खाद्यान्न उत्पादनतर्फ लाग्न थालेका छन् ।

सरकारद्वारा सञ्चालित नेपाल चिया विकास निगम मार्फत सञ्चालित चिया बगानहरुद्वारा उत्पादित चिया भारत लगायत तेस्रो मुलुकसम्म निर्यात हुन्थ्यो । झापादेखि इलामसम्मका बगानहरुमा उत्पादित विभिन्न ब्राण्डका चियाले विश्व बजारमा स्वीकृति र व्यापकता पाएको थियो । तर, सरकारले नै ती बगानहरु ठेक्कामा दिएपछि नेपाली चियाको गुणस्तर, व्यापकता र निर्यातमा कमी आउँदै जाँदा र निजी क्षेत्रबाट सञ्चालित उद्योगहरु नाफामुखी बन्ने यात्रामा जाँदा साना चिया किसानहरु निराश हुँदै गए । किसानले लागतको अनुपातमा मूल्य नपाएको र कतिपय समय सहमति अनुसार मूल्य नदिएको भन्दै सडकमा हरियोपत्ती पोखेर आन्दोलन समेत गरे । कहिले उद्योगीहरुले श्रमशोषण गरेको, सहमति कार्यान्वयन नगरेको भन्दै चिया श्रमिकहरुले समेत आन्दोलन गरे । यस्तो अनिश्चित बन्दै गएको चिया उद्योग र खेती व्यावसायिक नहुनुले अनेकन समस्याहरु उत्पन्न हुने गरेका छन् ।

यही समय इलामको सूर्योदय नगरपालिका क्षेत्रबाट हरियोपत्ती अवैध रुपमा भारततर्फ निकासी भई रहेको समाचार आएको छ । यताका चिया उद्योगले दिनेभन्दा बढी मूल्य पाइने भएपछि किसान उता आकर्षित हुनु स्वाभाविक नै हो । आखिर धनले आकर्षित नगर्ने कोही हुँदैन, शायद त्यही भएर उखानका रुपमा भनिँदै आएको छ– ‘धन देख्दा महादेवका तीन नेत्र’। इलामबाट भारतको दार्जिलिङ जिल्लातर्फ निकासी भइरहेको चियाका पछि यही उखान पनि उदाहरण हुनसक्छ । आखिर सीमा क्षेत्रका बासिन्दालाई भूगोलको सीमारेखाले छेक्दैन । अझ् भाषा, संस्कृति र व्यवहार पनि साझा जस्तै भएकाले उत्पादित वस्तु वारि–पारि गर्न असहज हुने भएन । तर, यसका कारण नेपाली चियाको गुणस्तरमा प्राप्त साख र प्रशिद्धि कम हुने, राजश्व प्रभावित हुने कुरा भने प्रमुख विषय हो । यसबेला सरकारले पनि कोरोना रोकथामका लागि भन्दै सीमामा प्रहरीको उपस्थिति बढाएको छ । उनीहरुको काम नै खुल्ला आवागमन र अवैध आयात–निर्यातलाई नियन्त्रण गर्नु हो । यस्तोमा कसरी हरियो चियापत्ती निकासी भइरहेको छ– सवाल मुख्य हो । यसरी हरियो पत्ती निकासी भइरहे त्यहाँ स्थापित उद्योगहरु धराशायी हुने निश्चित छ । त्यसैले तिनको संरक्षण गर्दै राष्ट्रिय आय र किसानको रक्षा गर्न सम्बद्ध पक्षले ध्यान दिनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here