बिर्तामोड।

प्रदेश १ का तराईका जिल्लामा कोरोना संक्रमणको दर बढ्दो छ । कोरोना संक्रमितको संख्या ठूला शहरहरूमा दिनानुदिन थपिने क्रम तीब्र बनिएको छ ।
पहिले भारत र तेस्रो देशबाट आएकाहरूमा मात्र कोरोनाको संक्रमण देखिए पनि स्रोत पहिचान नभएका संक्रमित समेत थपिन थालेपछि प्रदेश र स्थानीय सरकारको टाउको दुखाइ समेत बढ्न थालेको छ ।
प्रदेश सरकारले कोरोना संक्रमण र फैलावटको ‘ट्रेन्ड’लाई आधार बनाइ प्रदेश १मा जोखिमका दृष्टिले सबैभन्दा खतरामा रहेका जिल्ला र स्थानीय तहको सूची तयार गरी टुंगो लगाएको थियो । तर, स्वास्थ्य परीक्षणलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन नसक्दा प्रदेश–१का झापासहितका विभिन्न जिल्लामा समुदायमै कोरोना फैलिईसकेको छ ।
यसैबीच मास्क नलगाई हिँड्नेलाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार जनही १०० रुपैयाँ जरिवाना गर्ने गृहमन्त्रालयले चेतावनी दिएर कारबाही समेत अघि बढाएको थियो । प्रशासनको तर्फबाट अनुगमनमा गएको टोलीले मास्क लगाउन नजान्नेलाई लगाउने तरिका समेत सिकाएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जोखिमबाट बच्न नागरिकलाई पटक–पटक आग्रह गर्दै मास्क समेत वितरण गरेका थिए ।
१८ घण्टाभन्दा बढी समय आफैं फिल्डमा खटिने गरेका डीएसपी रिजालले सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्न सचेतनामूलक सन्देशहरु प्रवाह गरे । डीएसपी रिजालले भने–आफूहरु जोखिम मोलेरै भए पनि जनताको सुरक्षामा खटिने गरेको तर, नागरिकले भने प्रहरीका लागि मात्रै मास्क लगाइदिनुपर्छ भन्ने सोचेकाले अहिले बिर्तामोडसहितका स्थानमा समुदायमा संक्रमण फैलने जोखिम बढेको हो ।

यतिबेला बजारमा मास्कको प्रयोग गर्ने तरिका सिक्नुभन्दा पनि एन ९५ जस्ता मास्क लगाएपछि कोरोना आफैं भाग्छ भन्ने मान्यता बोकेर हिँडेका धेरै जना बजारमा देख्न सकिन्छ । महंगो मास्क लगाएपछि भौतिक दूरीको समेत आवश्यकता पर्दैन भन्ने मानसिकता झापाबासीमा देख्न सकिन्छ । तर, मास्कको प्रयोगले मात्रै कोरोना नरोकिने चिकित्सकहरुको भनाइ छ ।
नेपालमा सर्जिकल मास्क, कटनसिफन मास्क, एन ९५ र कपडाको मास्क प्रयोग गर्ने गरिन्छ । यसको सुरक्षा कति प्रतिशत भनेर वैज्ञानिक हिसाबले गर्नेभन्दा पनि सबै मास्कलाई राम्रोसँग लगाएर भौतिक दूरी कायम गर्ने हो भने यसबाट सुरक्षित रहन सकिने चिकित्सकहरुले बताएका छन् । मास्क लगाउँदा राम्रोसँग मुख, नाक र चिउँडो छोपिने गरी लगाउनुपर्ने र ‘मास्कसँगै शारीरिक दूरीको कुरामा मुख्य ध्यान दिनुपर्ने चिकित्सकको भनाइ छ ।
विश्वभरि कोरोना भाइरसको फैलावटसँगै बढी प्रचलनमा आएका शब्दहरू सामाजिक वा भौतिक दूरी, मास्कको प्रयोग, क्वारेन्टिन, आइसोलेसन, साबुन पानीले नियमित हात धुनु र सेनिटाइज गर्नु हो तर, झापाका अधिकांश मानिसले अहिले न भौतिक दूरीको ख्याल गरेका छन्, न त साबुनपानीले नै हात धुने गरेका छन् ।
यसैबीच मास्क लगाउन नजान्दा अझै पनि शहरी भेगमा जोखिम कम हुन नसकेको जानकारहरूले बताएका छन् । फोहोर र फाटेको मास्क लगाउन नहुने भनिए पनि फोहोर हुँदासम्म पनि लगाउने र चिउँडोमुनि मास्क लगाउने प्रवृत्तिले आफ्नो सुरक्षाका लागि भन्दा पनि राज्यले कारबाही गर्ने डरले मात्रै धेरैले मास्क लगाउने गरेको पाइएको छ ।
पूर्वकै व्यस्त शहरको रुपमा रहेको बिर्तामोडका मार्केटहरुसमा समेत कोरोना देखा पर्न थालेपछि त्रासित हुनुभन्दा सुरक्षित भएर मात्रै हिँड्न प्रहरीले आग्रह गरेको छ । अनावश्यक रुपमा बाहिर नहिँड्न आग्रह गर्दै बिर्तामोडका डीएसपी रिजालले भने– तपाई सुरक्षित हुनुभयो भने परिवार सुरक्षित हुन्छ, परिवार सुरक्षित रह्यो भने समाज सुरक्षित हुन्छ, समाज सुरक्षित रहे देश नै सुरक्षित बनाउन सकिन्छ ।





























