झापा,
कोरोनाको कहरका बीच झापामा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर देखिएको छ ।
नेपाली कांग्रेस झापाले अहिले दिनहुँ जसो जिल्लाका विभिन्न ठाउँमा पार्टी प्रवेश कार्यक्रमलाई तीब्रता दिएको छ । यो संगै नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर देखिएको हो । एकातिर कोरोनाको महामारी छ, अर्का तिर नेपाली कांग्रसमा प्रवेश गर्नेको लहर छ । जसका कारण समुदायमा संक्रमण फैलने खतरा बढेर गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि अहिलेपनि जिल्लाका विभिन्न स्थानीय तह र वडाहरु पूर्ण रुपमा लकडाउनमा छन् । तर, नेपाली कांग्रेसले भने पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिँदै हुलका हुल मानिसको जमघट गराई रहेको छ ।
सोमवार मात्रै नेपाली कांग्रेसका प्रर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा कार्यकर्ता प्रवेश कार्यक्रम राखेको छ । जहाँ दुई सय भन्दा बढी सर्वसाधारण अन्य पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका पूर्व महामन्त्री सिटौला सहित १ नम्वर प्रदेशका सांसद आम सरावगी, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा लगायतले नव प्रवेशीलाई टिका लगाउँदै पार्टी प्रवेस सदस्यता रसिद थमाएका थिए । पार्टी सदस्यता रसिद लिन मञ्चमा पुगेका अधिकांशले मास्क लगाएका थिएनन् । तर, उनीहरुलाई भीडभाडका पार्टीका नेतृत्व गणले सदस्यता रसिद प्रदान गरेका थिए ।

समुदयस्तरमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा नेपाली कांग्रसले आयोजना गरेको यस खाले कार्यक्रमले झापामा कोरोना संक्रमणको थप जोखिम बढेर जाने भएकाले सावधानी अपनाउन जरुरी देखिन्छ ।





























