सम्पादकीय
झापाकै जनघनत्व बढी भएको क्षेत्र हो बिर्तामोड । यस हिसाबले र अन्यत्रको उदाहरणले पनि बिर्तामोडको वर्तमान जीवन भयग्रस्त छ । तर, आजका दिनसम्म झापाकै अन्य पालिकाको तुलनामा अहिलेको महासंकट कोरोना भाइरसबाट बिर्तामोर्ड सुरक्षित नै छ । बिर्तामोड सुरक्षित रहनुको मूल कारण कपितयले परीक्षण नै नगरिएकाले हो भनेका छन्, तर त्यही मात्र कारण नहुन सक्छ । स्वास्थ्य सचेतना र सावधानीले पनि बिर्तामोडलाई सुरक्षित राखेको हुनसक्छ । हुनसक्छ प्रहरी प्रशासनको सक्रियताले बाध्यतावश नै भए पनि यहाँ लकडाउन लगायतका सावधानीहरु र जनस्वास्थ्यका मापदण्ड अपनाइएका होउन् । अनि पनि बिर्तामोडको मुख्य शहरी क्षेत्र भने जहिल्यै त्रासपूर्ण र जोखिममा छ । जनस्वास्थ्यका मापदण्डहरुको पालना केवल प्रहरीले देख्दा मात्र गर्नुपर्छ भन्ने मानसिकता पठित तथा युवावर्गमा देखिएकाले शहरी क्षेत्र जोखिममा रहेको टिप्पणी भइरहेको पनि हुनसक्छ । यसले बिर्तामोड नगरपालिका क्षेत्र सम्पूर्ण रुपमा सुरक्षित छ र जोखिममुक्त छ भन्ने देखाउँदैन ।

झण्डै चार महिना बन्दाबन्दीपछि खुलेको जीवन सुचार हुनै नभ्याई कोरोना संक्रमण यति व्यापक भयो कि जतासुकै बन्दी, निषोधाज्ञा र सिल गर्न थालियो । खासगरी शहर बजार क्षेत्रमा स्वास्थ्य सावधानीका मापदण्ड व्यापक रुपमा उल्लघंन भयो र परिणाम राज्यको नियन्त्रणबाट बाहिर जान थालेको घटनाहरुले देखाइरहेका छन् । रोगले छटपटिएकाहरु अस्पतालको ढोका पुग्नै नपाई मृत्युवरण गर्न थालेका छन् । सरकार स्वयम् कोरोना कहर त्रासदीमा रुपान्तरण हुन थालेको भन्न थालेको छ । यहीबीच बिर्तामोडमा आइतबार शहरकै मध्यमा रहेको रत्न सुपर मार्केटका दुई व्यावसायीमा संक्रमण पुष्टि भयो । बजारभित्र सुनचाँदी व्यवसायी परिवारका सदस्यमा संक्रमण पुष्टि भएपछि उक्त बजारसहित त्यससँगै जोडिएको प्रसाईं मार्केट सिल गरियो । सम्भावित जोखिम नियन्त्रण र व्यवस्थापनका लागि भन्दै सिल गरिएपछि बिर्तामोडको शहरी क्षेत्र त्रस्त भएको छ ।
देश अहिले कोरोना कहरको उत्कर्षमा छ । हिजो अस्तीको तुलनामा संक्रमण र मृत्युको दर उच्च भइरहेको छ । हिजो लक्षण नदेखिएको अवस्था थियो भने आज लक्षणसहित गम्भीर प्रकृतिका संक्रमित देखिन थालेका छन् । विगतका केही हप्तादेखि परीक्षण बढाइएको छ भने त्यसकै अनुपातमा संक्रमित सँगै मृतकको संख्या पनि बढ्दै जान थालेको छ । रोकथाम र नियन्त्रणको उपाय भनेको स्वास्थ्य सावधानी नै हो भौतिक दूरी कायम गर्नु हो, साबुन–पानीले हात धुनु हो, तर त्यसको पालना भइरहेको छैन । जसका कारण संक्रमण समुदायमा प्रवेश गरिसकेको छ । त्यसैले पनि अब पहिचान र परीक्षणलाई व्यापक गर्नुको विकल्प छैन । उपचार सम्भव नभएको यो महामारीबाट कोही सुरक्षित नहुने निश्चित छ त्यसैले पनि प्रत्येकमा आत्मबोध हुनैपर्छ, सचेतना र सावधानी जाग्रत हुनैपर्छ । संक्रमण छेउमै आइपुगेको छ, राज्यको मात्र आशा गरेर बसियो भने यो अमूूल्य जीवन यत्तिकै समाप्त हुन सक्छ, होश राखौं ।



























