सुरेन्द्र भण्डारी / बिर्तामोड।

गुर्जाे औषधि मध्येकै गुरुजी हो बिर्तामोड नगरपालिका–१ निवासी दुर्गादेवी ढकालले भनिन्– यो गुण नै गुणले भरिपूर्ण बनस्पति भएकाले यसलाई गुरुजी भनिएको रहेछ । पछि यसको अपभ्रंश हुँदै गुर्जाेमा परिणत भएको हो ।
गुर्जाेको मुख्य प्राकट्यस्थल समुन्द्र मन्थन गर्दा अमृत निस्किएको र सोही अमृतको घडा लिएर भागेका राक्षसलाई खेद्दा अमृतको घडा छचल्किएर पोखिएको ठाउँमा गुर्जाे उर्मिएको शास्त्रीय मान्यता छ– ढकालले भनिन्– गुर्जाेमा रोग प्रतिरोधात्मक शक्ति भएकाले अहिले यसको प्रयोग बढ्दो छ ।
जडीबुढी विषयका ज्ञाता बालकृष्णले समेत गुर्जाेले फाइदा पुग्ने बताउनुभएको छ– ढकालले भनिन्– यसको नियमित सेवनले रक्तचाप ठीक गर्दाेरहेछ, न्यून हुनेको पनि ठीक गर्छ, उच्च हुनेलाई पनि फाइदा पुग्दो रहेछ । हामी नियमित दुई तीन वर्षदेखि सेवन गरिरहेका छौं । ‘ब्लड प्रेसर लो’ हुँदा गुर्जाे खानु हुँदैन भन्छन् तर यसले कुनै असर गर्दैन– ढकालले भनिन्– कोरोना भाइरसको समेत औषधि हुने भन्दै यसको सेवन गर्नेको संख्या बढेपछि खोज्न आउनेलाई गुर्जाे बाँडेकी छु ।
लकडाउन शुरु भए यता मात्रै आफूले झण्डै पाँच क्बीन्टल गुर्जाे बितरण गरेको ढकालको भनाइ छ । गुर्जाे दुई प्रकारको हुने र तीतो हुने गुर्जाे चाहिँ बहुउपयोगी हुने ढकालले बताइन् । राधा माधव सेवा समिति बिर्तामोडकी सदस्य समेत रहेकी ढकालले भनिन्– निमको रुखमा लगाएको गुर्जाेको महत्व अझ बढी छ ।
औषधीय गुणले भरिपूर्ण गुर्जाे कोरोना भाइरस कोभिड–१९को संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा मात्र प्रयोग हुने गरेको थियो । त्यो पनि आयुर्वेद विज्ञानमा विश्वास राख्नेले मात्रै यसको प्रयोग गर्दै आएका थिए । तर, अहिले घर गाउँमा पाइने गुर्जाे प्रायःजसो सबैको घरमा पाइन थालेको छ । अझ शहरी क्षेत्रमा त गुर्जाेको सेवन गर्नेको संख्या ह्वात्तै बढेको छ ।
झट्ट हेर्दा पानको पात झैं देखिने गुर्जाे आफैंमा औषधीय गुणले भरिपूर्ण रहेको छ– ढकालले भनिन् – गुर्जाेको सेवनले मानव स्वास्थ्यलाई मात्र होइन पशुलाई समेत फाइदा गर्छ । गुर्जाे एक प्रकारको लहरे वनस्पति हो । समुन्द्री सतहको ३ सय मिटरदेखि १८ सय मिटरसम्मको उचाईमा पाइने गुर्जाे अहिले अधिकांशको घरमा रोपेको पाइन्छ ।
आधुनिक चिकित्साशात्रीहरुले गुर्जाेलाई क्यान्सर हृदयरोग, एलर्जी, पोलेको, कपाल झर्ने, रक्तविकार, खोकी, दुर्वलता, मधुमेह, छाला सम्वन्धी रोग र ज्वरो आउँदा लाभदायक हुने बताउँदै आए पनि पछिल्लो समय गुर्जाेको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्ने र कोरोना भाइरसको संक्रमण रोक्न लाभदायक हुने भन्दै यसको सेवन गर्नेको संख्या दिन प्रतिदिन बढ्दो छ ।
गुर्जाेको नियमित सेवनकर्ता बिर्तामोड निवासी मिलन पोखरेल भन्छन्– म आफैंलाई ब्लड प्रेसर थियो तर, गुर्जाेको नियमित सेवन गर्न थालेपछि प्रेसर ठीक छ, अहिले पनि नियमित दुई वर्षदेखि गुर्जाे खान्छु । गुर्जाे नियमित सेवन गरेको खण्डमा शरीर फूर्तिलो हुँदोरहेछ– उनले भने– गुर्जाेलाई राम देवले समेत औषधीय गुणले भरिपूर्ण भनेका छन् । अझ कोरोनाको संक्रमणबाट बच्न यसले फाइदा पुग्ने रामदेवले नै भनेपछि गुर्जाेको सेवन नियमित नै छ– उनले भने । हरेक मानिसले दिनमा एकपटक गुर्जाे खानु पर्ने सल्लाह दिएका पोखरेलले भने– चियाको सट्टा गुर्जाे खानुहोस्, धेरै रोगबाट बच्न सकिन्छ ।
गुर्जाेको फाइदा आफूले धेरै देखेपछि नियमित दुई वर्षदेखि सेवन गर्दै आएको र अहिले आफैंले पनि घरमा गुर्जाे रोपेको पोखरेलले बताए । उनले भने– गुर्जाेको लहरा, पात जे खाए पनि हुन्छ । यसले ममा भएका धेरै रोग निर्मुल पारेको छ । नियमित गुर्जाे सेवन गर्ने पोखरेल मात्र होइन अहिले अधिकांश शहर केन्द्रीत मानिसले यसको प्रयोग गर्दै आएका छन् । गाउँमा भन्दा अहिले शहरमा गुर्जाेको सेवन गर्नेको संख्या धेरै भएको पाउन सकिन्छ ।
काठमाडौं निवासी इन्द्र थापाले नियमित गुर्जाे सेवन गरेको पाँच वर्ष भयो । उनी अहिले पनि बिर्तामोडस्थित देवी पञ्चकन्या पल्टिङमा खोलिएको अग्र्यानिक जुस सेन्टरमा नियमित गुर्जाेको जुस सेवनका लागि आउने गरेका छन् । दुई महिना अघिदेखि उनले नेत्रप्रसाद दाहालले सञ्चालनमा ल्याएको अग्र्यानिक जुस सेन्टरमा गुर्जाेको जुस सेवन गर्दै आएका छन् । मेरो प्रेसर थियो– उनले भने– औषधि खाँदिन, यसैले प्रेसरलाई कन्ट्रोल ग¥यो । त्यही भएर अहिले पनि नियमित गुर्जाेको सेवन गर्छु, यहाँ त्यही कारण आएको हुँ– उनले भने ।
उनी जस्तै रामकुमार श्रेष्ठ पनि अहिले नियमित गुर्जाे सेवन गर्दै आएका छन् । उनले पनि गुर्जाे सेवन गरेको दुई वर्षभन्दा बढी भयो । मर्निङवाक आइन्छ, त्यसपछि घर फर्कने बेलामा गुर्जाेको जुस खाएर जाने गरेका छौं– श्रेष्ठले भने– कोरोनाको महामारी शुरु भएपछि त झन् म मात्रै होइन श्रीमती र छोराले पनि नियमित गुर्जाे सेवन गर्दै आएका छन् ।
बिज्ञानले पनि गुर्जाेलाई मान्यता दिएको छ– श्रेष्ठले भने आयुर्वेद पनि एक प्रकारको विज्ञान हो यसले परापूर्वकालमा नै औषधिको मान्यता पाए पनि कसैले वास्ता गरेका थिएनन्, तर कोरोना महामारी शुरु भएपछि सबैले सेवन गर्दै आएका छन् । म यहाँ गुर्जाेसँगै एलोभेरा र अमलाको जुस नियमित सेवन गर्न आउने गरेको छु ।

रोगसंग लड्ने क्षमता बढ्ने भन्दै अधिकांशले गुर्जाेको सेवन गर्न शुरु गरेपछि अहिले झापाका विभिन्न ठाउँमा गुर्जाेको जुस बिक्रीका लागि जुस सेन्टर नै सञ्चालनमा आएका छन् । जहाँ दिनहुँ सयौ सर्वसाधारणले गुर्जाेको रस सेवन गर्ने गरेका छन् । मर्निङवाक सकेर घर फर्कने क्रममा बिर्तामोडस्थित देवी पञ्चकञ्या प्लटिङ नजिकै खोलिएको अग्र्यानिक जुस सेन्टरमा गुर्जाेको जुस सेवन गर्नेको संख्या सयभन्दा बढी छ । जुस बिक्री गरेर नै नेत्रप्रसादले दैनिक दश हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । गाउँघरमा पाइने गुर्जाेको माग भएपछि यसलाई पनि बिक्री गर्न शुरु गरेको हुँ– दाहालले भने– यहाँ गुर्जाे मात्रै होइन अन्य सबै प्रकारको जुस पाइन्छ ।
कहिल्यै नसुक्ने लहरे वनस्पती गुर्जाेलाई अमृत समेत भनिँदै आएको छ । यसलाई मातृविज्ञानका रुपमा चिनिएको आयुर्वेदले समेत अद्भुत औषधीय गुण भएको वनस्पति भनेको छ ।
असन्तुलित खानपान, जीवनशैलीलगायतका कारण दिनप्रति दिन रोगीको संख्या बढ्दै गएका बेला गुर्जाेको उपयोगिता बढ्न थालेको छ । सामान्य रुघाखोकीदेखि मधुमेह, उच्च रक्तचाप, मुटु रोगीलगायतका रोगीका लागि गुर्जो सञ्जीवनी बुटी मानिने गरिएता पनि कोभिड–१९को संक्रमणबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढ्ने भन्दै यसको प्रयोग बढेको पाउन सकिन्छ । छोटकरीमा भन्दा तपाइँले भाइरसलाई बाहिरै राखे पनि त्यसको प्रभावलाई भने निमिट्यान्न पार्न सक्नुहुन्न । जसरी होस् कोभिड–१९ले सताएरै छाड्छ ।
यसैबीच बिर्तामोडमा एक वर्षदेखि गुर्जो, एलोभेरा, घोडताप्रे लगायतका जुसको व्यापार गर्दै आएका अच्युत दाहालले अहिले दैनिक ५० जनाभन्दा बढी गुर्जो सेवन गर्न आउने गरेको जानकारी दिए । आयुर्वेदयुक्त जुसको बिक्री वितरण गर्ने उद्देश्यले अभियानकै रुपमा आफूहरुले जुसको विक्री वितरण शुरु गरेको उनले बताए । जुसको सेवन गर्नेले मानिसमा धेरै फाइदा हुने दाहालको भनाइ छ ।































