चियाको समस्या समाधान गर्न ‘सामुहिक सौदाबाजी’

0
1457

झापा।

लामो समयदेखि चिया उद्योगी, व्यवसायी र मजदुरका बीचमा देखिएको समस्या समाधान गर्न झापामा पहल थालिएको छ । जसका लागि ९ सदस्यीय सामुहिक सौदावाजी समिति गठन भएको छ भने वैकल्पिक समितिमा तीन जना चयन भएका छन् ।

कर्मचारी र श्रमिकहरुमा पेशासँग सम्बन्धित विभिन्न विषयहरुमा संस्थाको कार्य वातावरण, कानूनी प्रावधान, सेवा सुविधा, वृत्ति विकास आदिका कारणले उत्पन्न हुने विविध प्रकृतिका गुनासो, बिवाद वा असमझदारीलाई वार्ताको माध्यमबाट रचनात्मक तवरले समाधान गरी रोजगारदाता संस्था र कर्मचारीको समग्र उन्नतिका लागि गरिने प्रयासलाई सामुहिक सौदावाजी भन्ने गरिन्छ ।

श्रम ऐन २०७४मा व्यवस्था भए अनुसारको पारिश्रमिक नपाएको भन्दै चिया क्षेत्रमा कार्यरत मजदुर अहिले आन्दोलनमा छन् । विभिन्न चार सूत्रीय माग अघि सार्दै आन्दोलनरत् चिया श्रमिकका समस्यालाई समाधानका लागि सामुहिक सौदाबाजी समिति गठन भएको हो ।

समितिमा नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सहीकुमार राई, अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष सीता सापकोटासहित उमेश रेग्मी, मिलन राई, नेत्रप्रसाद दाहाल, यज्ञप्रताप अधिकारी, सन्तकुमार राई, भूपाल सापकोटा रहेका छन् । त्यस्तै वैकल्पिक सदस्यमा चम्पा श्रेष्ठ, जीवन खड्का र तिलक दर्जी रहेको बिर्तामोडमा मंगलवार आयोजित पत्रकार सम्मेलन गर्दै जानकारी दिइयो ।

श्रम ऐन २०७४को दफा १०६मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था भएकाले २०७७ साउन १ गतेदेखि लागू हुने गरी चिया श्रमिकको पारिश्रमिक वृद्धि गरिनु पर्ने, पत्ती डवली समय अनुकूल वृद्धि गरिनुपर्ने, २०७५ साउन १ गतेदेखि वृद्धि भएको दैनिक १०७ रुपैयाँ बराबरको रकम एकमुष्ट भुक्तानी गरिनुपर्ने लगायतका मजदुरका माग छन् ।

त्यस्तै चिया श्रमिकलाई सामाजिक सुरक्षा ऐन अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत गरिनुपर्ने र कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको आवश्यक सुरक्षा सामग्रीको उचित व्यवस्था गरिनुपर्ने उनीहरुको माग छ ।

चिया मजदुरका तीन संगठनले तयार पारेको माग पत्र नेपाल चिया उत्पादक संघ झापासहित ९ वटा संस्थालाई बुझाउन लागिएको नेपाल चिया वगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले पत्रकार सम्मेलनमा जानकारी दिए । चिया मजदुरका संगठनसहित सौदावाजी समितिका पदाधिकारीले झापा र इलामका चिया व्यवसायी तथा संघलाई माग पत्र पेश गर्ने बताइएको छ ।

सोही समितिले साना किसान झापाली चिया व्यवसायी संघ, नेपाल चिया विकास निगम लिमिटेड, केन्द्रीय चिया सहकारी संघ इलाम, साना किसान सहकारी चिया प्रशोधन काराखाना पृथ्वीनगर, साना किसान चिया उत्पादक सहकारी सस्था लिमिटेड हल्दिवारी, पाराखोपी, साना किसान चिया सहकारी, शुभ चिया किसान सहकारी संस्था मेचीनगर र हिमालयन अर्थाेडक्स चिया उत्पादक संघ इलामलाई माग पत्र बुझाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here