तुलसीप्रसाद निरौला ,बिर्तामोड, ।
झापाको विर्तामोड नपा –४ स्थित अन्धुवा खोलामा निर्माण गरिएको फलामे पुलको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

विर्तामोड नपा –४ स्थित मातृभूमि टोल विकास संस्था अन्तर्गत विनायक होटल उत्तर बिर्तामोड नपा – १ र विर्तामोड नपा – ४ जोड्ने अन्धुवा खोलामा फलामे पुल निर्माण गरिएको हो ।
अन्धुवा खोला फलामे पुल निर्माण उपभोक्ता समितिले प्रदेश सरकारको सहयोग र स्थानीयवासीको जनश्रमदानमा फलामे पुल निर्माण सम्पन्न गरेको अन्धुवा खोला फलामे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर वस्नेतले बताए ।
त्यस क्षेत्रमा २०५२ सालमा पक्की पुल निर्माण गरिए पनि उक्त पुल जीर्ण अवस्थामा पुगेकाले सोही स्थानमा फलामे पुल निर्माण गरिएको उनले वताए ।
अन्धुवा खोला फलामे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर वस्नेतको अध्यक्षता तथा प्रदेश साँसद एकराज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश साँसद कार्कीले अन्धुवा खोलामा फलामे पुल निर्माणले यसक्षेत्रका वासिन्दालाई आवतजावतमा सहजता हुने बताउँदै आगामी दिनमा यसक्षेत्रमा हुने विकास निर्माणमा आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा विर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटी , विर्तामोड नपा –४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, विर्तामोड नपा –१ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेलगायतले समयमै पुल निर्माण गरी यसक्षेत्रका वासिन्दालाई आवतजावत गर्न सहज वनाएकोमा अन्धुवा खोला फलामे पुल निर्माण उपभोक्ता समितिको प्रशंसा गरेका थिए ।
अन्धुवा खोलामा फलामे पुल निर्माण गर्न रामबहादुर वस्नेतको अध्यक्षतामा अन्धुवा खोला फलामे पुल निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । समितिको उपाध्यक्ष अर्जुन खरेल, सचिव सुवासचन्द्र अग्रवाल, कोषाध्यक्ष सिर्जना सिटौला रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा केदार ढुंगाना ,मञ्जु खनाल अधिकारी ,निर्मला खरेल, तुलवहादुर लिम्वू, देवीप्रसाद खतिवडा रहेका छन् ।
त्यसैगरी सिद्धार्थ नविन उप्रेतीको संयोजकत्वमा झलक खतिवडा र भगवति मेचे खरेल सदस्य रहेको अनुगमन समिति समेत गठन गरिएको थियो । त्यही समितिको अग्रसरतामा अन्धुवा खोलामा फलामे पुल निर्माण गरिएको जानकारी दिइयो ।
उक्त फलामे पुल निर्माणले बिर्तामोड १ , विर्तामोड ४ र अन्य क्षेत्रवाट आउने वासिन्दा लाभान्वित भएको अन्धुवा खोला फलामे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर वस्नेतले बताए ।
कार्यक्रममा अन्धुवा खोला फलामे पुल निर्माण अनुगमन समितिका संयोजक सिद्धार्थ नविन उप्रेतीले प्रदेश नं. १ सरकारको १५ लाख रुपैयाँ र स्थानीयवासीको जनश्रमदान एक लाख ५९ हजार ६ सय २७ रुपैयाँ गरी १६ लाख ५९ हजार ६ सय २७ रुपैयाँको लागतमा फलामे पुल निर्माण गरिएको जानकारी गराएका थिए ।
कार्यक्रममा विर्तामोड नपा –४ का वडासदस्य राहुल शर्मा, वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेल , नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश सदस्य बलराम कार्कीलगायतको आतिथ्य रहेको थियो ।
सोही कार्यक्रममा अन्धुवा खोलामा निर्माण गरिएको फलामे पुलको बाटो प्रयोग गरी आवतजावत गर्ने यात्रुलाई स्थानीय राजेन्द्र वस्नेतले मास्क वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन मातृभूमि टोल विकास संस्थाकी सचिव इन्दिरा खरेलले गरेकी थिइन् ।































