भद्रपुर,

झापामा कोरोना भाइरस ९कोभिड–१९० को पिसिआर परीक्षण बन्द भएको छ। भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा साउन २६ गतेदेखि सञ्चालनमा आएको पिसिआर परीक्षण सेवा बुधबारदेखि बन्द भएको हो।
पिसिआर प्रयोगशालामा चाहिने पिसिआर प्लेट कभर सकिएपछि सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलले जानकारी दिए। ‘प्रयोगशालामा चाहिने आरएनए एक्स्ट्राक्सन र पिसिआर किट स्टकमा छ, तर प्लेट कभर नहुँदा समस्या भएको हो, सूचना अधिकारी पोखरेलले भने।’
‘पिसिआर परीक्षण सेवा बन्द भएपछि आज जिल्लामा सङ्कलन गरिएको कुनै पनि स्वाब लिएका छैनौँ,’ उनले भने, ‘स्विस सरकारले उपलब्ध गराएको अत्याधुनिक पिसिआर मेसिन भएकोले प्लेट कभर अनिवार्य चाहिन्छ।’ प्लेट कभर सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयसँग माग गरिसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।
पीताम्बर ठाकुरले बताए। यसका लागि प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको बताउँदै उनले भने, ‘स्वास्थ्य मन्त्रालयले प्रदेश सरकारलाई पठाउँछ, अनि मात्र अस्पताललाई उपलब्ध हुन्छ , यसका लागि केही दिन समय लाग्न सक्छ।’
अहिलेसम्म मेची अस्पतालमा २ हजार ५ सय ८ जनाको कोरोना परीक्षण भइसकेको छ। त्यसमध्ये १४ जनाको रिपोर्ट कोरोना पोजेटिभ र बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
पिसिआर परीक्षण नहुँदा कैदीबन्दीलाई समस्या
मेची अस्पतालमा पिसिआर परीक्षण सेवा बन्द भएपछि कैद भुक्तानका लागि झापा कारागार पठाउने कैदीलाई समस्या भएको छ। बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त झापा साबिक राजगढ गाविस ६ हाल बाह्रदशी गाउँपालिका ३ बस्ने नरप्रसाद पनेरुलाई पक्राउ गरी प्रहरीले पिसिआर परीक्षणका लागि बुधबार मेची अस्पताल लगेका थिए।
तर, अस्पतालमा पिसिआर परीक्षण सेवा बन्द भएको भन्दै उनलाई बिनापरीक्षण बेरुजु कैद भुक्तानका लागि झापा कारागार पठाइएको छ। कोरोना जाँचबिनै उनलाई कारागार पठाएपछि कारागार प्रशासनलाई स्वास्थ्य सुरक्षा चुनौती थपिएको छ।
बेरुजु कैदी भुक्तानका लागि आएका पनेरुलाई कारागारभित्र अन्य कैदी बन्दीसँग नराखेर कैदीले आफन्त भेट्ने सेलमा राखिएको झापा कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए।
‘प्रहरीले कुनै पनि नयाँ व्यक्तिलाई कैद भुक्तानका लागि ल्याएको खण्डमा उनको अनिवार्य पिसिआर गरी रिपोर्ट नेगेटिभ आएमा मात्र कारागार भित्र प्रवेश गर्न दिइन्छ, उनले भने।’ यता पिसिआर परीक्षण गरी पठाएको व्यक्तिबाट कारागारमा कोरोना फैलिन सक्ने खतरा समेत बढेको कैदीबन्दीहरु बताउँछन्।





























