गिब्सन मैनाली,
हुन त अनुहारमा लागेको चोटलाई क्रिम र फाउन्डेशनले कति समय नै छोप्न सक्छ र अझ मेरो त मनमा लागेको चोट अस्थायीरुपमा नि छोप्न सक्दिनँ । हो म एक नारी जसले अर्की आफू जस्तै नारीको पीडा सहजै बुझ्न सक्छु र उनको पक्षमा दुईचार शब्द बोले या लेखे भनी म नारीवादी हुन्छु । एउटी नारी नारीवादी हुनु कुनै नौलो कुरा होइन, तर किन नारीवादी भई भन्ने कुराले महत्व राख्ला कि !
कहिलेकाहीँ सञ्चारमाध्यमबाट महिला जनप्रतिनिधि या कर्मचारी भएको क्षेत्रमा भ्रष्टाचार कम भएको र विकास निर्माणका कार्य बढी भएको समाचार सार्वजनिक हुँदा धेरै खुशी हुन्छु । आज नेपाली नारीहरुको प्रतिनिधित्व गर्दै देशको राष्ट्रपति हुन सफल विद्यादेवी भण्डारी, बेचिएका चेलीहरूको उद्धार गर्ने अनुराधा कोइराला, नेपालको छवि उच्च बनाउँदै विश्वलाई चिनाउने श्रृंखला खतिवडा, नेपाली राजनीतिमा उदाएकी युवा राजनीतिकर्ता भनी उदाहरण दिन सकिने रञ्जु दर्शना जस्ता नारी देख्दा आफू नारी भएकोमा गर्व लाग्छ ।
त्यही बेला चियाको सर्को तान्दै मेरा काका र एक शिक्षकले कुरा–कुरामा काकीतिर हेर्दै पोथी बासेको काम लाग्दैन भन्दा मन अमिलो भएर आउँछ । मेरी काकी जो काकाभन्दा शिक्षित र धेरै कुरा बुझ्ने हुनुहुन्छ । यदि अपराध गर्ने र अपराध सहने दुबै दोषी ठहरिन्छन् भने मेरी काकी एक दोषी हुन् । जो दिनरात मुटु नै छेड्ने गरी काकाले प्रहार गरेका व्यंग्य र कहिलेकाहीँ उनकै हातको पिटाइ समेत सहेर चुप लागि छोरा–छोरीको अनुहार हेरेर चित्त बुझाउनुहुन्छ । अनि ती शिक्षक जसले सयौं विद्यार्थीलाई नारी, पुरुष समान हुन् भनी पढाउँछन्, तर काकासँगको गफमा हो मा हो मिलाइ काकी कै कुरा काट्छन् । अब सोच्नुहोस् त तिनै शिक्षकले पढाका विद्यार्थीले के नारीलाई पुरुष समान अधिकार देलान् त ? हामी सैद्धान्तिक कुरालाई व्यवहारमा कतिको उतार्दा रहेछौं भन्ने कुरा यसैबाट छर्लङ्ग हुन्छ ।
नारीमाथि सहानुभूति प्रकट गर्नका लागि प्रयोग हुने एउटा वाक्य ‘नारी घरकी गहना हुन्’ । यस्तो सहानुभूति दिने ती महान व्यक्तिलाई प्रश्न गर्न मन लाग्छ आखिर नारी कुन धातुकी गहना सुन, चाँदी या हिरा ? अनि आफ्नै प्रश्न गलत लाग्छ सुन, चाँदी या हिराकी गहना भए त किन आज आफ्नो मूल्य र मान्यताको खोजी गर्नु पथ्र्यो र । बल्ल बुझ्छु म ती महान व्यक्तिको यो हेपाहा सहानुभूति जसले नारीलाई घरकी गहना भनी घरभित्रै बन्धक बनाइ घरेलु हिंसा गर्न पछि पर्दैनन् ।

आजकाल मलाई ठूलाबढा पुरुषले महिलालाई सहानुभूति र आस्वासन दिँदा कुनै डरलाग्दो कुकुर छेउमै भुकी रहेको जस्तो भान हुन्छ । जसले आफ्नै छोरी र श्रीमतीलाई समेत आफ्नो नभनी टोक्न तयार हुन्छ । तर, विचरा ती निर्दोष महिला दिदी–बहिनीहरु तीनै ठूला र जान्ने भनाउँदाको कुरालाई विश्वास गरी ताली पिट्छन् र उही भुँमरीमा फस्छन् । नारी अस्मिता र स्वतन्त्रताको खोक्रो आश्वासन दिनेले अझै पनि नारीलाई महिनावारी हुँदा गोठमा बस्नु पर्दैन भन्न सकेका छैनन् । महिनाभरि उसैले पकाको खानेले महिनावारीमा पनि त्यही महिलाले पकाको खान केले रोकी राखेको छ ? समाज नामक भाइरसले या आफ्नै पुरुषार्थले यो प्रश्न ती आश्वासनकर्ताहरुलाई ।
निर्मला हत्याकाण्ड र मुस्कान माथि भएको एसिड आक्रमण जस्ता खबर सुन्दा मेरो मनमा आगो बल्छ र आँखाबाट आँशुहरु मैन झैं पग्लिएर झर्छन् अनि यो समाजले मलाई कमजोर भन्छ । हुन त कमजोर म नै हो जो आफू माथि घरकै मान्छेले अन्याय गर्दा पनि उनीहरु कै सियारसुसार गरेर मुखमा पानी हाली बस्ने । अरुले अबौंैको भष्ट्राचार गर्दा पनि म देशको कानून र नीति नियमसँग डराई सुशासनको पछि लाग्ने । आफन्त र छिमेकीले के भन्लान् भनी डराई–डराई बाच्ने । दिनदहाडै रक्सी खाएर आफ्ना आमा–बुबालाई पिट्नुको सट्टा उनीहरूको सियारसुसार गर्ने म कति कमजोर !
थोरै इतिहासलाई ढल्किदा राणाकालीन शासन व्यवस्थाको १०४ बर्षे लामो समयमा महिला माथि कति अन्याय र अत्याचार भयो भन्ने त शब्दमा वर्णन गर्न सकिँदैन । तर, त्यही समयमा नारी हितको लागि एउटा सर्वोत्कृष्ट काम ‘सति प्रथाको अन्त्य’लाई भने मुक्तकण्ठले प्रशंसा गर्न मन लाग्छ । चन्द्र शम्सेरले वि.सं. १९७७ मा गरेको यो शरणीय कामले गर्दा मैले मेरा हजुरबुवा ४० बर्षैमा बिते पनि हजुरआमा ८७ बर्षकी हुँदासम्म देख्न पाएँ ।
आज पनि तराई मधेसमा केही समुदायका महिलाले दाइँजो कम ल्याएको निहुँमा कुटाइ खाएर ज्यान समेत गुमाउनु परेको समाचार प्रसस्त सुनिन्छन् । पश्चिमका केही जिल्लामा छाउगोठ भत्काए पनि केही बाँकी नै छन् । विशेषतः ब्राह्मण समुदायमा महिनावारी हुँदा चार दिनसम्म महिलाले भान्सामा पस्न नपाउने र उसले पकाको नखाने चलन जताततै देखिन्छ । दाइँजो, छाउपडी जस्ता प्रथाको अन्त्य गर्न थुप्रै कार्य भए पनि अझै प्रभावकारी बन्न नसकिरहेको बेला सतीप्रथा झैं जरैबाट उखेल्ने जिम्मा हामी माझ आएको छ । ता कि भोलिका सन्ततीले यस्ता अन्याय सहनु नपरोस् ।
केही आश थियो वर्तमान पुस्ताप्रति नवीन सोच र जाँगरका साथ यस्ता परिवर्तनमा ध्यान पु¥याई आफ्ना बा, हजुरबालाई के सही के गलत भन्ने कुरा बुझाउँछन् कि भन्ने । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड प्रहार गर्छु भनी धम्की दिनेदेखि लिएर आक्रमण नै गरी सो नारीलाई जिन्दगीभरका लागि कुरूप बनाउने । आफ्नो बहादुरी देखाउँदै पाँच वर्षकी नाबालिकालाई समेत बलात्कार गर्न नछोड्ने जस्ता क्रुरताबाट पछि नहटेर त्यही संसारमा रुमल्लिएको देख्दा उनीहरुप्रति को मेरो आश क्रमशः घटिरहेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा दिनको छ र महिनामा एक सय ८५ बलात्कारका घटनाहरु दर्ता हुने गरेका छन् । जुन संख्या बढ्दो क्रममा छ । यसरी दिनहुँ हिंसा र बलात्कारका घटनाहरु सार्वजनिक भएको देख्दा र सुन्दा यो सुन्दर संसार हेर्न बनिएका मेरा आँखा र कसैको मीठो आवाज सुन्न बनिएका कान पनि बन्द गर्न पाए हुन्थ्यो झैं लाग्छ । कहिले एकान्तमा घन्टौं टोलाएर सोच्ने गर्छु कमसेकम मेरी हजुरआमाका पालामा सञ्चारमाध्यमको अभावले गर्दा दिनहुँ यस्ता घटना सुन्न त पर्दैन थियो । अनि आफ्नो मन केही समयका लागि शान्त पार्न प्रविधिको विकासलाई दोष दिन्छु ।
मैले धेरै देखेकी छु विवाहित पीडित महिला र उनीहरुका आँशु सायद ती आँशुका थोपाहरु जम्मा गर्न मिल्थ्यो भने आज रारा जस्तै अर्को ठूलो आँशु ताल बन्थ्यो होला । आफ्ना हजारौं सपनाहरु लत्याएर हारेको शरीरमा हार लगाइ महिलाले कति विवशतामा बाँच्नु पर्छ । विविध सपना र आफ्नालाई छोडी पराईको घर सम्हाल्न पुग्दा दुलहीले दाइजोमा के–के ल्याइ भनी आँखा डुलाउनेका आँखाले दुलहीले ल्याएको डर र संकोचलाई कहिल्यै देखेनन् । छोरी हुँदा केही नयाँ काम गर्न १० पटक सोच्नुपर्ने यो समाजमा बुहारी हुँदा सय पटक सोच्नुपर्ने रहेछ ।
पढेलेखेका सक्क्षम महिला पनि कुनै निजामति कर्मचारीको सट्टा निजी–मति रखवाली भई घरकै सियारसुसारमा आफ्नो समय खर्चिएको देख्दा मनमा एउटै प्रश्न बारम्बार दोहोरिन्छ आखिर यही हो महिलाको क्षमता पहिचान हुन सकेको ? आफ्नो खुट्टामा आफै उभिन सक्ने हुँदा पनि कसैको रोकटोकका कारण मोबाइलमा रिचार्ज गर्ने पैसासम्म अरूसँग आश गर्नु पर्दा उसको मनमा कस्तो लाग्दो हो सोच्नुहोस् त ! माइतीघरमा हुने सहजता, स्वतन्त्रता र आफ्नो क्षमता समेत एक चिम्टी सिन्दुर र एउटा त्यान्द्रो पोतेमा साटिने मेरो जीवन कति सस्तो ? चारैतिरबाट अपारदर्शीरूपमा छुरा प्रहार भइरहँदा पनि सानो आवाजमा अइयासम्म भन्न नसक्ने म नारी कति कायर ?
























