सन्तोष अग्रवाल,
कोरोना संक्रमण लकडाउन र निषेधाज्ञाका कारण लकडाउन शुरु भएयता ८० जना सुत्केरीले अकालमै ज्यान गुमाउनु परेको समाचारले हाम्रो नेपालमा कोरोनाका कारण मृत्यु हुनेभन्दा अन्य विभिन्न कारणले मृत्यु हुनेको संख्या दशौं गुणा बढी हुनुमा राज्यको चरम लापरवाही तथा सानालाई ऐन ठूलालाई चैन नै मुख्य कारण रहेको देखिन्छ ।
लकडाउनकै कारण आफ्नो व्यवसाय, जागिर तथा सेवाबाट वञ्चित हुनु परेकै कारण मानसिक विचलन आई सयौंले आत्महत्या समेत गर्नु परेको तथ्यांकले उचित परामर्श तथा व्यवस्थापन गर्न नसके कै कारण यस्तो अवस्था आएको हो । शुरुमा अन्तर्राष्ट्रिय उडान तथा सीमानाका बन्द गरी आन्तरिक रुपमा आवश्यक सावधानी अपनाई पुरै लकडाउन नगरी व्यापारव्यवसाय सुचारु राखेको भए आज यो भयावह अवस्था आउने थिएन ।
आंशिक रुपमा वा आवश्यकता परेको खण्डमा पूरै निषेधाज्ञा समेत लगाउन सकेको भए स्थिति यो भन्दा राम्रो हुने थियो । दीर्घरोगीहरुले उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको समाचार बाक्लै रुपमा सुन्न पाइन्छ । मृगौलाका रोगीले समयमै डाइलोसिस गर्न नपाएकै कारण धेरैले ज्यान गुमाउनु परेको छ । पीसीआर परीक्षण, आईसीयू, भेन्टिलेटर तथा शैयाको संख्या बढाएर समयमै उचित व्यवस्थापन गर्न नसकेका कारण भविष्यमा अझ स्थिति भयावह हुने विज्ञहरुको भनाइ छ ।
स्वास्थ्यकर्मीहरुलाई शुरुदेखि नै आवश्यक सुरक्षा सामग्री (पीपीई किट, फेस शिल्ड, ग्लब्स लगायत) उपलब्ध गराउन नसकेका कारण उपचार गर्ने स्वयम् धेरै स्वास्थ्यकर्मी संक्रमित भई उपचार गर्ने स्थितिमा छैनन् । यस्तै स्थिति रहेमा भविष्यमा अस्पतालमा स्वास्थ्यकर्मीको अभाव झेल्नुपर्नेछ । निजी अस्पताल तथा संस्थाहरुले समयमै पीसीआर परीक्षणका लागि अनुमति माग्दा समेत ढिलाइ गरेका कारण समुदायमा संक्रमण भयावह रुपमा फैलँदैछ ।
वास्तवमा कतिजना कोरोना पीडित छन्, सही तथ्यांक सरकारसँग समेत छैन । राजधानीको बानेश्वर, भरतपुर लगायत देशका अन्य भागमा बस्ने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाले जुन प्रकारको दुव्र्यवहार तथा अपहेलना गरिरहेका छन् । त्यसकारण भविष्यमा उपचारको लागि नै स्वास्थ्यकर्मी अस्पताल जान समेत डराउने अवस्था बनेको छ । यस्ता दुव्र्यवहार गर्ने स्थानीयबासीलाई कारवाही गर्नुको साटो झारा टार्ने शैलीमा एउटा विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्रालय पन्छिएको देखिन्छ ।
पीपीई किट लगाएर उपचार गर्नुपर्दा स्वास्थ्यकर्मीले दिसा–पिसाब समेत डाइपरमा गर्नुपर्ने र विशेषगरी महिलाले महिनावारी भएको बेला सेनिटरी प्याड समेत फेर्न नपाएको अवस्था छ । यस्तो मानसिक तनावमा काम गरिरहेका स्वास्थ्यकर्मी माथि भएको दुव्र्यवहारले पीडा थपिदिएको छ । यस्तै स्थिति रहेमा सर्वसाधारण उपचार नपाई मर्ने दिन नआउला भन्न सकिँदैन । उता सीमा क्षेत्रबाट अहिले पनि अवैधरुपमा घुसपैठ भइरहेकोले कडा रुपमा यसलाई निगरानी गर्न नसके कोरोनाको संक्रमण अझ तीव्ररुपमा फैलने विज्ञहरुको विश्लेषण रहेको छ ।
विज्ञहरुले निषेधाज्ञा मात्र समाधान होइन, संक्रमण नियन्त्रण र बिरामीको उपचार योजना चाहियो भनिरहँदा सरकारमा रहेका नेकपा आन्तरिक कलहमा रुमलिएकोले ध्यान पु¥याएको पाइँदैन । स्वास्थ्य मन्त्रालयले दैनिकरुपमा बुलेटिन मार्फत् तथ्यांक पेश गर्नुबाहेक सिन्को समेत भाँचेको पाइँदैन ।

कोरोना नियन्त्रणका लागि १३ अर्बभन्दा बढी खर्चभएको तथ्यांक सरकारले सुनाइरहँदा के–केमा खर्च भयो, सार्वजनिक गर्न सकेको छैन । अहिलेसम्म एकथान पनि भेन्टिलेटर तथा आवश्यक उपकरण खरिद गर्न सकेको छैन । केही थान भेन्टिलेटर दाताहरुले दिएकै भरमा अहिलेको स्वास्थ्य व्यवस्था जेनतेन चलिरहेको छ । अहिले पनि ढिला भएको छैन, सरकारले तत्कालै द्रूतगतिमा पीसीआर परीक्षण, स्वास्थ्य अवस्था, स्वास्थ्यकर्मीहरुको सुरक्षा व्यवस्था मिलाउन नसकेमा भविष्यमा इटलीमा घर–घरमा शव सडिरहेको समाचार नेपालको पनि नबन्ला भन्न सकिन्न । चेतना भया ।
agrawal_sk817@yahoo.com
























