ताप्लेजुङ, 
ओलाङ्चुङ्गोला भन्ने बित्तिकै एउटा विकट गाउँको चित्र मानसपटलमा छाउँछ । नभन्दै विकट ठाउँमा अवस्थित एक सुन्दर गाउँ हो– ओलाङ्चुङ्गोला ।
ओलाङ्चुङ्गोला ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाको ३२ सय मिटरमा अवस्थित अन्तिम गाउँ हो । यस गाउँमा ५३ घरधुरी र याङ्मामा १० घरधुरी परिवार बसोबास गर्दै आएका छन् ।
यहाँबाट मानवबस्तीबिहीन करिव ३५ किलोमिटर दूरी पार गरेपछि नेपाल–तिब्बत सीमा नाका तिप्ता ला भञ्ज्याङ (उचाइ ५१०० मिटर) पुगिन्छ । यो गाउँ आर्थिक र सांस्कृतिक रूपमा तिब्बतसँग निकै निकट सम्पर्कमा रहेको छ । सडक सञ्जालबाट जोडिने क्रममा रहेको गोला गाउँ पुग्न अहिलेसम्म त कठिन पदयात्रा नै गर्नुपर्छ ।
यस गाउँमा नेपाल दूरसञ्चारबाट सञ्चालित भिस्याटबाट टेलिफोन सञ्चालन हुँदै आएको थियो । तर, एक महिनादेखि भिस्याटमा समस्या आएपछि सञ्चारको पहुँचबाट बञ्चित हुन पुगेको समृद्ध पहाड परियोजनाका परियोजना सहायक जीतेन चेम्जोङले बताए ।
ओलाङ्चुङ्गोलामा भौगोलिक कारणले रेडियो सुन्न नसकिने र डिस होम नेटवर्कको साहयताले टीभी हेर्न सकिने भए पनि अहिले लघु जलविद्यतु्को मेसिनमा आएको समस्याका कारणले बिजुली उत्पादन घटेपछि टीभीबाट पनि सूचना लिन समस्या परेको परियोजना सहायक चेम्जोङले जानकारी दिए ।
एक गाउँबाट अर्को गाउँ पुग्न एक दिन लाग्ने भएकोले आपद्विपद् हुँदा आफन्तसंग सञ्चार गर्न समस्या भएको स्थानीय नुप सेर्पाले बताए । मोवाइल सेवाको लागि टावर स्थापना गर्न नेपाल दूरसञ्चारसँग समन्वय भइरहेको फक्ताङ्लुङ गाउँपालिकाको प्रवक्ता छेतेन वालुङले जानकारी दिए ।





























